बढ्दो त्रास र उन्मुक्तिको बाटो

0
859

आम नागरिकको लापरवाही र खेलाँचीले कोरोना भाइरसको जोखिम बढ्दै गएको छ । दिनहुँ संक्रमित थपिने क्रम र संख्याले अनुमान गर्न गाह्रो छैन कि प्रायः सबै संक्रमित छौं । त्यही दरमा मृत्यु हुनेको संख्या पनि थपिँदो छ । हिजो अर्थात् मंगलबारसम्ममा देशमा पाँच सय चौवन्न जनाले ज्यान गुमाउनु परेको अवस्थाले हामी कहाँको भयावहताको स्पष्ट चित्र देखाएको पनि छ । औषधि खोज नै नभइसकेको अवस्थामा यस्तो महाआतंकबाट जोगिने पहिलो प्रभावकारी उपाय भनेको सुरक्षाको मापदण्डको पालना नै हो । तर, हामीले अझै पनि सम्भावित जोखिमलाई अनुभूत गर्न सकिरहेका छैनौं । जनस्वास्थ्य विज्ञहरुले स्वास्थ्यका मापदण्डको पालना नभएका कारण जोखिम बढेको भन्दै सावधानी नअपनाए मानवीय क्षतिको श्रृंखला अझै उच्च हुने चेतावनी दिएका छन् । यही अवस्थाका बीच आसन्न दशैंले कोरोना संक्रमण विस्तारको क्रमलाई अरु बढाउने छ । त्यसबेला पश्चाताप बाहेक हामीसँग केही बाँकी रहने छैन ।

संक्रमण हुनेको तुलनामा संक्रमणमुक्त हुनेको संख्या मंगलबार भने केही बढी देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा दिइएको जानकारी अनुसार त्यही एकदिन संक्रमित हुने पन्ध्र सय एकाउन्न जना थिए भने तेइस सय चालीस जनाले संक्रमणलाई जितेका थिए । यसले थोरै आशा सञ्चार गराएको छ, तर गम्भीर प्रकृतिका विरामी थपिने क्रमले आवश्यक उपचार सेवा अपुग हुने निश्चित छ । सुविधा, साधन र स्रोतले सम्पन्न भनिएको राजधानी काठमाडौंमा आजकै दिनमा सघन उपचार कक्षको अभाव भइसकेको छ । त्यसबाहेक जीवन सहायक यन्त्र भेन्टिलेटरको अभावले सम्भावित भयावहताको चित्र देखाएको छ । सरकारले मापदण्डको बखान गरेर दिन कटाउने, पूर्वाधार तयार नगर्ने, स्वास्थ्य उपकरण नथप्ने र स्वास्थ्यकर्मीहरुलाई उत्प्रेरणा प्रदान नगर्ने हो भने नेपालीले झनै खराव दिनका लागि तयार रहनुपर्ने भएको छ ।

यही समय विश्व स्वास्थ्य संगठनले शक्ति राष्ट्र चीनलाई समेत नेपालले उछिनेको जनाएको छ । उसको जनसंख्या र भूगोलको तुलनामा अति सानो देश भए पनि कोरोना विस्तारको क्रममा नेपाल अघि पुगेको तथ्यले नेपालीलाई छुँदैन भने हाम्रो जीवन कोरोना आतंकका कारण अनिश्चित भएकै हो । बन्दाबन्दीबाट कोरोना रोकथाम र नियन्त्रण गर्न कस्सिएको सरकार त्यसबीचमा ‘पानी गफ’नै रमायो । भौतिक पूर्वाधार थप्न आवश्यक ठानिएन, सचेतना शिक्षा प्रभावकारी ढंगले दिइएन, अन्ततः आज यो दिन देख्न पुगियो । अझ विश्व स्वास्थ्य संगठनले हरेक दश जनामध्ये एक जना कोरोना संक्रमित हुन सक्ने भन्दै विश्वमा मानव जातिको ठूलो समूह यसको जोखिममा पुगेको चेतावनी दिएपछि चिन्ता अरु थपिएको छ । हामीसँग न स्रोत छ, न साधन र उपचार सेवा नै । त्यसकारण पनि हाम्रो जीवन पद्धति बदलिनै पर्छ । स्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गरिनै पर्छ । खानपान, आहार–विहार र नियमिततालाई स्वास्थ्य अनुकूल बनाउनै पर्छ । अन्यथा आसन्न जोखिम घरपिच्छै प्रवेश गर्नेछ र हामी सबैले त्यसको दुःखद् परिणाम व्यहोर्न तयार हुनु पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here