सुनसान भारतीय बजार

0
763

बिर्तामोड।

चाडपर्व नजिकिएसँगै नेपाली उपभोक्ताले खचाखच हुने सीमावर्ती भारतीय बजार यस वर्ष सुनसान छ । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण नेपाल–भारत सीमा नाका शिल हुँदा नेपाली ग्राहकले थेगेको पूर्वी नेपालको भारतीय बजार पानीट्याङ्की, नक्सलवाडी, सिलगढी लगायतका बजार सुनसान छन् । अघिल्ला वर्ष यो समय पूर्वी नाका काँकरभिट्टामा भारतीय बजार भर्न जानेको लर्काे लाग्ने गरेको थियो ।

तर, सरकारले कोरोनाको बढ्दो सक्रमण रोक्न गतवर्षको चैत ७ गतेबाट सीमा नाका शिल गरेपछि भारतीय बजार सुनसान छन् । कोरोनाकै कारण भारतीय वजार मात्र होइन पूर्वी नाँका काँकरभिट्टा, धुलावारी लगायतका बजार पनि सुनसान प्रायः छन् ।

नुनदेखि सुनसम्म खरिदका लागि भारतीय बजार पुग्ने नेपाली ग्राहक अहिले नेपाली बजारमा नै किनमेल गर्न पनि निस्किएका छैनन् । कोरोनाकै कारण झापाका मुख्य बजार बिर्तामोड, सुरुङ्गा, दमक, भद्रपुर समेतमा कारोबार घटेको व्यवसायीले बताउँदै आएका छन् ।

दशैं नजिकिएसँगै सस्तोका नाममा नेपाली ग्राहक उपभोग्य सामग्री खरिदका लागि यसअघि भारतीय बजार जाने गरेका थिए । लत्ताकपडादेखि खाद्य सामग्री खरिदका लागि दैनिक हजारौंको संख्यामा नेपाली उपभोक्ता पूर्बी नाका काँकरभिट्टा हुँदै भारतीय बजार जाने गरेका थिए ।

सीमावर्ती भारतीय बजारहरूमा नेपाली मुद्रामा नै कारोबार हुने र नेपाली बजारमा भन्दा सस्तो मूल्यमा सामग्री पाइने भएपछि दैनिक उपभोग्य सामग्री खरिद गर्न नेपाली उपभोक्ता भारतीय बजार पुग्ने गरेका थिए ।

नेपाली उपभोक्ता भारतीय बजार जाँदा वर्षेनि लाखौं रुपैयाँ भारत जाने गरेका थिए । तर, यो वर्ष कोरोनाका कारण नेपाली ग्राहक भारतीय बजारमा नजाँदा मेची भन्सार कार्यालयको राजश्व संकलनमा भने वृद्धि भएको छ ।

यसअघि चोरीपैठारी गर्ने र भन्सार छलेर भारतबाट सामान आयात हुँदा राजश्व संकलनमा समेत प्रभाव पर्ने गरेको मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत ध्रवराज विश्वकर्माले बताए । खुल्ला सीमानाका कारण अहिलेपनि विभिन्न नाकाबाट चोरीतस्करी हुँदै आएका सामग्री प्रहरीले बरामद गर्दै भन्सार कार्यालय बुझाउँदै आएको विश्वकर्माले जानकारी दिए । तर, अघिल्ला वर्षमा जस्तो चोरीपैठारी यो वर्ष भने नभएको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here