कोरोना :युएईमा लिभिङ टुगेदर नेपालमा डाइङ टुगेदर

0
1209


अहिले विश्वमा कोरोनाको महामारीको अवस्था छ । पछिल्ला दिनहरुमा नेपालमा संक्रमणको दर तीब्र छ र स्थिति झनै खराब बन्दै गइरहेको छ । नेपालमा प्रत्येक एक घरबाट कोही न कोही आफन्त नाता–गोता वैदेशिक रोजगारीमा गएका छन् । यस्तो महामारीको अवस्थामा मध्य पूर्वका देशहरुमा रहेका नेपालीहरुको रोजगारीको भविष्य कस्तो होला भन्ने जिज्ञासा पलाउनु स्वभाविक छ । यिनीहरुको स्वास्थ्य अवस्थाको बारेमा चासो पलाउनु पनि स्वभाविक छ ।

मध्य पूर्वका छ वटा खाडी मुलुकहरु भन्नाले युएई, कतार, साउदी अरब, बहराईन, कुवेत र ओमानलाई बुझिन्छ । यी खाडी मुलुकहरुमा गैरकानूनी समेत गरेर १२ देखि १५ लाखको हाराहारीमा नेपालीहरु वैदेशिक रोजगारीमा गएका छन् भन्ने अनुमान छ । युएईमा तीन लाख, कतारमा चार लाख, साउदीमा अरबमा तीन लाख, कुवेतमा ७० हजार, बहराइनमा ३० हजार र ओमानमा १८ हजार गरेर यो क्षेत्रमा ११ लाखको हाराहारमा नेपालीहरु वैधानिक रुपमा कार्यरत् रहेका छन् भने केही नेपालीहरु अबैध र भिजिट भिसामा पनि रहेको अनुमान छ । खाडीका अन्य मुलुकहरु इराक, इरान, जोर्डन, इजिप्ट, सिरिया, लिबिया, लेबनान जस्ता मुलुकहरुमा कति नेपाली कार्यरत् होलान् भनेर यकिन गर्न सकिन्न । यी सबै मुलुकहरु गरेर १५ लाखसम्म रहेको अनुमान गर्न सकिन्छ ।

केही दिनयता नेपालमा कोरोना संक्रमण दर अत्यधिक रहेको छ । पछिल्ला दिनहरुमा जम्मा परीक्षण संख्याको २५ प्रतिशत संक्रमित भेटिनुले आगामी दिनहरुमा नेपालको स्थिति अझै भयावह देखिन्छ । दैनिक पन्ध्र÷बीस जनाको संख्यामा मृत्युदर हुनु र गत १० दिनको अवधिमा एक सय ५० को हाराहारीमा मृत्यु हुनुले नेपालको डरलाग्दो अबस्थालाई इंगित गर्छ । विश्व ग्राफमा नेपाल संक्रमित देशहरुको संख्यामा पहिलो दश देशहरुको सूचीमा सूचीकृत भएको छ । यसरी नै संक्रमित संख्या बढ्ने र मृत्यु संख्या पनि बढ्ने हो भने नेपालको स्थिति झनै भयाभव हुने निश्चित छ ।

त्यही मध्यपूर्वको सम्पन्न राष्ट्र युएईमा मार्च र अप्रिल महिनामा संक्रमण तीव्र हुँदै जाँदा हामीले अहिले देखेको नेपालको अवस्था यहाँ देख्ने गरेका थियौं । त्यसबेला नेपालमा फाट्टफुट्ट मात्र संक्रमित भेटिन्थे, युएईमा भने दैनिक पाँच सय । यसरी युएईमा दैनिक सयौंको संख्यामा संक्रमितहरु थपिँदै जाँदा नेपालमा न्यून हुनुले धेरै नेपालीहरु नेपाल फर्कन चाहन्थे ।

यो अवधिमा युएईमा कयौं कम्पनीहरु बन्द भए । हजारौं नेपालीहरु रोजगारविहीन भएर अलपत्र परे । हावाई यातायात बन्द थियो । नेपाली श्रमिकहरुसँग खाना खाने पैसा थिएन । कतिपय कम्पनीहरुमा कार्यरत नेपालीहरुलाई बस्नै समस्या परेको थियो । कम्पनी आफै समस्यामा थिए । कम्पनीले कामदार बस्नेको ठाउँ उपलब्ध गराउने अवस्था पनि थिएन । चिनेजानेका नेपालीहरु पनि भटाभट मर्न थाले । अहिलेसम्म युएईमा ३९ जना नेपालीहरुको कोभिड–१९को कारण मृत्यु भएको छ । उक्त समयमा मनोवैज्ञानिक त्रास व्याप्त थियो । दैनिक पाँच सयको हाराहारीमा मात्र पनि संक्रमण हुँदा युएईमा रहेका नेपालीहरुमा एक किसिमको आतंक नै फैलिएको थियो । तर पनि उनीहरु नेपाल फर्कने अवस्था थिएन ।

तर, युएई सरकारले गर्नुपर्ने स्वास्थ्यसुरक्षाका सम्पूर्ण उपायहरु अवलम्बन ग¥यो । युएईका स्थानीय नागरिक हुन् वा बिदेशी आप्रबासी हुन् सबैले स्वास्थ्यसुरक्षाका आधारभूत नियमहरु पालना गरे । सरकारले ठूला–ठूला प्रदर्शनी केन्द्रलाई फिल्ड अस्पतालमा परिणत गरेर संक्रमितहरुको उपचारको व्यवस्था मिलायो । ठूला–ठूला कम्पनीका भवनहरु र होटलहरुलाई क्वारेन्टिन बनायो । सडकहरुमा औषधि छर्केर निर्मलीकरण ग¥यो । बिस्तारै संक्रमण दर घटेर एक सयको हाराहारीसम्म आयो । जनजीवन सामान्य बन्दै गयो । यसअघि सरकारले बन्द गरेका मल तथा मनोरञ्जनका सबै क्षेत्रहरु खुल्ला ग¥यो । बन्द भएका व्यवसायहरु सञ्चालनमा आए । महँगो नै भाडामा भए पनि हवाइ यातायात खुले । रोजगारी गुमाएकाहरु नेपाल फर्कन पाए । अहिले फेरि बढेरदैनिक एक हजार जना नयाँ संक्रमितको संख्या यथावत छ । तर, यो संख्या भने नेपालको तुलनामा अत्यन्तै न्यून हो । अहिले यतिको संख्यामा संक्रमित बढिरहँदा पनि यहाँ पहिले जस्तो आतंक अहिले छैन । छुट्टीमा गएका नेपालीहरु युएई फर्कन थालेका छन् ।

युएईमा दैनिक एक लाख २० हजार जनाको परीक्षण गर्दा एक हजार जना अर्थात् एक प्रतिशत मात्र संक्रमित भेटिने गरेका छन् । नेपालमा १९ हजार जनामा परीक्षण गर्दा पाँच हजार जना अर्थात् २६ प्रतिशत संक्रमित भेटिएका छन् । अक्टोबर महिनाको पहिलो दश दिनमा युएईमा झण्डै ११ लाख परीक्षण भए । ती मध्ये ११ हजार जना संक्रमित भेटिए भने साढे १२ हजार जना निको पनि भए ।

सोही अवधिमा नेपालमा जम्मा एक लाख ४३ हजार जनाको मात्र परीक्षण भयो भने ती मध्ये २७ हजारभन्दा धेरै संक्रमित भेटिए । अझ मृत्युको संख्या हेर्ने हो भने झनै भयावह छ । सो दश दिनको अवधिमा युएईमा जम्मा २४ जनाको मृत्यु भएको छ भने नेपालमा एक सय ३० जना नेपालीको मृत्यु भएको छ अर्थात् साढे पाँच गुणा बढी । युएईमा भएको विगत १० दिनको मृत्यु दर हेर्ने हो भने जम्मा संक्रमित संख्याको शून्य दशमलब २१ प्रतिशत मात्र छ । नेपालमा ५५ प्रतिशतभन्दा बढी संक्रमित त काठमाडांैमा मात्र भेटिने गरेका छन् । मृत्यु संख्या पनि काठमाडौंमा बढी छ ।
अहिलेसम्म यूएईमा एक्टिभ संक्रमितको संख्या १० हजारको हाराहारीमा छ भने नेपालमा झण्डै ३० हजार पुग्न लाग्यो । नेपालको स्वास्थ्य मन्त्रालयले २५ हजारभन्दा बढी संक्रमित भएमा थेग्न गाह्रो हुने बताइसकेको छ ।

यी तथ्यांकहरुलाई हेर्ने हो भने अब बिस्तारै नेपालभन्दा युएई धेरै सुरक्षित बन्दै गइरहेको देखिन्छ । युएइमा कार्यरत नेपालीहरु अब नेपालमाभन्दा बढी सुरक्षित छन् । नेपालीहरुसहित अन्य देशका नागरिकहरु पनि आफैमा जागरुक र होसियार छन् । प्रायले हात–हातमा सेनिटाइजर बोक्ने गर्छन् । आफू कार्यरत अफिस होस् या व्यापारिक केन्द्रहरु हुन् सबैले सामाजिक दूरी कायम गर्छन् । यहाँ रहेका जनताले सरकारलाई सहयोग गर्छन् । सहयोग नगरे सरकारले कारवाही गर्छ । घर बाहिर निस्किँदा मास्क मात्र पनि नलगाए तीन हजार दिराम (९६ हजार रुपैयाँ) जरिवाना हुन्छ । मास्क नलगाई र सामाजिक दूरी कायम नगरी भोजको आयोजना गरेमा आयोजना गर्नेलाई तीन लाख रुपैयाँ र भोजखान जानेलाई एक लाख ५० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ ।

काठमाडौंका असन, भोटाहिटी र साँझपख देखिने हरेक चोकहरुको भीडभाड र हेलचेक्राइँ हेर्ने हो भने अब नेपालमा कोही पनि नेपालीहरु यसको संक्रमणबाट लुक्न सक्छन् जस्तो लाग्दैन । यसले गर्दा कोरोनाले सबैभन्दा बढी संक्रमित बनाउने रोगी र बृद्धबृद्धाहरुको स्वास्थ्य सुरक्षामा जोखिम बढेको छ । सरकारी कार्यालयतिर हुने गरेका भीडभाडलाई हेर्ने हो भने न त सरकार जिम्मेवार देखिन्छ न त जनता नै । सामाजिक सञ्जालमा जिम्मेवार मान्छेहरु नै कोरोना छैन भन्ने भ्रमपूर्ण अभिव्यक्ति दिने गरेका छन् । विश्वभरका मानिसहरु अब कोरोना सँगसँगै जिएर ‘लिभिङ टुगेदर’मा बाँच्न थालिसके । युएईमा रहेका नेपालीहरुले पनि स्वास्थ्यका नियमहरु पालना गर्दै कोरोनासँगै ‘लिभिङ टुगेदर’मा बाँच्न सिके । तर, यस्तै हेलचेक्र्याइँ गरिरहने हो भने नेपालमा कोरोनासँग लिभिङ टुगेदर होइन अंग्रेजी पप गायक गोल्डएनको ‘डाइङ टुगेदर’ नहोला भन्न सकिन्न ।

(बुधबारे स्थायी घर भएका सापकोटा युएईमा बसेरपत्रकारिता गर्छन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here