हलुवागढ कालिखोला पर्यापर्यटन क्षेत्र सर्वसाधारणका लागि खुला गरियो

0
1097

अर्जुनधारा।

झापाको अर्जुनधारा–१स्थित हलुवागढ कालिखोला पर्यापर्यटन क्षेत्र सर्वसाधारणका लागि खुला गरिएको छ ।

शनिबार एक अनौपचारिक कार्यक्रममा उपस्थित सहभागीहरुमध्ये ज्येष्ठ नागरिक पदमबहादुर आचार्यलाई टिकट प्रदान गर्दै सो क्षेत्र सर्वसाधारणका लागि खुला गरिएको संकेत गरियो ।

स्थानीय हलुवागढ सामुदायिक वन उपभोक्ता समूहले २०७५ साल भदौदेखि निर्माण कार्य सुरु गरेको उक्त क्षेत्रमा प्रवेशका लागि समूहका उपभोक्ताहरुलाई प्रति व्यक्ति १५ रुपैयाँ र अन्य सर्वसाधारणका लागि भने प्रति व्यक्ति ३० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

हाल सो क्षेत्रमा सञ्चालनमा रहेको डुंगा शयर र बाल उद्यानमा पनि समूहको उपभोक्तालाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । अन्य सर्वसाधारणका लागि डुंगा शयर प्रति व्यक्ति ५० रुपैयाँ र बाल उद्यानमा पनि प्रति व्यक्ति ५० रुपैयाँ(प्रवेश शुल्कसहित) निर्धारण गरिएको छ ।

कोभिड–१९ रोगको जोखिमको कारण सांकेतिकरुपमा सञ्चालन सुरु गरिएको उक्त क्षेत्रको समय अनुकुल भएपछि १५ दिने महोत्सवसँगै वृहतरुपमा उद्घाटन कार्यक्रम गरिने समूहका अध्यक्ष चक्रबहादुर तामाङले बताए ।

सम्बन्धित निकाय र सरोकारवालाहरुसँगको सहकार्यमा दिर्घकालिन पर्यावरणीय व्यवसायिक पर्यापर्यटन परियोजना सञ्चालन गरी समुदायको समुन्नती गर्ने उद्धेश्यले समूहको ४.७ हेक्टर क्षेत्रफलमा स्थापना गरिएको सो क्षेत्रमा हालसम्म दुई करोड ५१ लख रुपैयाँ लगानी भइसकेको अध्यक्ष तामाङले जानकारी दिए ।

तीनवटै तहको एक करोड ३१ लाख र समूहको एक करोड २० लाख रुपैयाँको लगानीमा हालसम्म प्रवेशद्वार, कम्पाउण्ड वाल, सुरुङ मार्ग, मन्दिर, वनभोज स्थल, उद्यान, पार्किङ, शौचालयलगायत निर्माण भइसकेको समूहका पूर्व सचिव मदन बरालले जानकारी दिए ।

त्यसैगरी आदिवासी संग्राहलय, जलाशयलगायत निर्माण भइरहेको उक्त परियोजना अन्र्तगत सातकटेरी भिलेज होमस्टे, मदन भण्डारी राजमार्ग हबलगायत सञ्चालन गर्ने लक्ष्य समूहको रहेको पूर्व सचिव बरालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here