बिर्तामोड, 
झापाको बिर्तामोड नगरपालिका-३ बिर्ताबजारस्थित नवनिर्मित दुर्गामन्दिरमा पाठपूजा शुरु भएको छ। पुरानो तथा ऐतिहासिक दुर्गा मन्दिर स्थान्तरण गरिएपछि नयाँ मन्दिरमा पाठपूजा शुरु गरिएको हो।
बिर्तामोड-भद्रपुर सडक खण्ड अन्तरगत सडक स्तरोन्नतिका क्रममा सो मन्दिर सडक क्षेत्रमा पर्दा स्थान्तरण गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएपछि गत कात्तिक १ गते घटस्थापनाका दिन मन्दिरमा रहेकी देवी दुर्गाको प्रतिमा वैदिक विधिपूर्वक मंगलधुनसहित स्थानतरण गरिएको थियो।
पुरानो मन्दिरका गणेश, कुमार, महालक्ष्मी, महासरस्वती, महाकाली र शिवलिङ्ग स्वरुप सबै प्रतिमाको स्थान्तरण गरेर पं. दुर्गाप्रसाद खतिवडाको नेतृत्वमा छ जना पण्डितहरुबाट प्राणप्रतिष्ठाका लागि पूजा भइरहेको र बुधबार पदस्थापन गरिने देवी गुठी मठमन्दिर संरक्षण तथा पूजा समितिका अध्यक्ष बासुदेव माझीले बताए।
करीब ४०लाखमा निर्मित मन्दिरमा स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेर भीडभाड नगरी भक्तजनलाई पूजा गर्ने व्यवस्था गरिएको पूजा समितिका सहसचिव राजकुमार राजबंशीले जानकारी दिए।





























