साहित्यकार रेग्मीलाई अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य पुरस्कार

४ कार्तिक २०७७, मंगलवार मा प्रकाशित

तुलसीप्रसाद निरौला ,बिर्तामोड ।

रुद्र–गौरी श्री–अम्बिकाओली प्रतिष्ठान भद्रपुर–७ झापाले सन् २०१९ (वि.सं.२०७६) का लागि झापाली साहित्यकार चूडामणि रेग्मीलाई अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

 

नेपाली साहित्यमा काव्य, निबन्ध, कथा, समालोचना, हास्य व्यङ्ग्य, भाषा व्याकरणमा समानरुपले कलम चलाउने बहुमुखी प्रतिभा चूडामणि रेग्मीलाई झर्रोवादी नेपाली भाषा अभियानमा उल्लेख्य योगदान पु¥याए बापत सातौं पटकको अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य पुरस्कारका लागि छनौट गरिएको रुद्र–गौरी श्री–अम्बिकाओली प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले जानकारी दिए ।

महिला, कृषि, साहित्य र पत्रकारिता तथा बाल विधामा प्रत्येक वर्ष राष्ट्रिय स्तरमा मा पुरस्कृत र सम्मानित गरिने संस्थाको विधानको भावना अनुरुप सम्बन्धित विषयमा तीनजना विज्ञहरुको पुरस्कार निर्णायक समितिबाट प्राप्त सिफारिसका आधारमा सातौं पटकको अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य पुरस्कारका लागि झापाली साहित्यकार चूडामणि रेग्मीलाई छनौट गरिएको उनले जानकारी दिए ।

एक लाख एक हजार एक सय एघार रुपैंयाँ राशीको अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य पुरस्कार २०७७ सालको बैशाखको पहिलो हप्ता वितरण गर्ने लक्ष्य लिइएको भएपनि विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणको त्रासका कारण स्थगित गरिएको र अवस्था सहज भएमा रुद्र–गौरी श्री–अम्बिकाओली प्रतिष्ठानले आठौं पटकका लागि सन् २०२० को पुरस्कार तथा सम्मान समर्पण कार्यक्रममा समावेश गरी सो अगावै वितरण गरिने उनले वताए ।

नेपाली साहित्यमा काव्य, निबन्ध, कथा, समालोचना, हाँस्यव्यङ्ग्य, भाषा व्याकरणमा समानरुपले कलम चलाउने झापाली साहित्यकार रेग्मीको २०१२ सालमा पहिलो यात्रा नामक कथा संग्रह प्रकाशित भएको थियो ।

२०१२ सालमा संखुवासभाबाट सुरू भएको झर्रोवादी नेपाली भाषा अभियानका अभियन्ता चूडामणि रेग्मी लगायतले २०१३ मा झर्रोवादी अभियानको कोसेढुङ्गा मानिने ‘नौलो पाइलो’ त्रैमासिक पत्रिका प्रकाशित गरेका थिए ।

साहित्यकार रेग्मीका चार कथा, आठ निवन्ध, दुई हाँस्यव्यङ्ग्य, सातवटा समालोचना र तीनवटा भाषा ब्याकरण कृति प्रकाशित छन् । यसबाहेक दर्जनौँ साहित्यिक पत्रिकाहरुको सम्पादनमा पनि उनको संलग्नता छ ।

नेपाली साहित्यकारहरुका निम्ति उत्प्रेरक व्यक्तित्व रेग्मी विभिन्न साहित्यिक संघ संस्थाहरुमा विभिन्न भूमिकामा रहँदै आएका छन् । पूर्वका मोतीराम र साहित्य भाष्कर उपनामले परिचित रेग्मी साहित्यिक सद्भाव यात्राका परिकल्पनाकार र अभियन्ता पनि हुन् ।

२०७६ सालमा मात्रै उनले नई पुरुस्कार, इन्जा श्रष्टा सम्मान र अम्बिका ओली राष्ट्रिय साहित्य पुरस्कार प्राप्त गर्दै साहित्य पुरस्कारमा ह्याट्रिक गर्ने पुरस्कृत साहित्य महारथी वनेका छन् । यस बाहेक उनी दर्जनौ साहित्यिक प्रतिष्ठान र संघ संस्थाबाट विभिन्न अवसरमा अभिनन्दित समेत भएका छन् ।

समाजमा भएका अनुकरणीय कार्यहरु गर्ने उत्कृष्ट व्यक्ति, संघ तथा संस्थाहरुको प्रतिभा र कार्यहरुको संरक्षण, प्रबद्र्धन एवम् प्रोत्साहन गर्ने उद्देश्यले स्व. श्रीप्रसाद ओलीद्वारा एक करोड रुपैंयाँको कोष खडा गरी गैर सरकारी, गैर राजनीतिक र गैर नाफामूलक सामाजिक संस्थाको रुपमा जिल्ला प्रशासन कार्यालय, झापामा २०६७ साल चैत्र १७ गते दर्ता भई रुद्र–गौरी श्री–अम्बिकाओली प्रतिष्ठान हालसम्म अविछिन्न रुपमा क्रियाशिल रहेको रुद्र–गौरी श्री–अम्बिकाओली प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले जानकारी दिए ।

सामूहिक तथा सहयोगात्मक संस्कार भएको समुन्नत समाज निर्माण गर्ने दीर्घकालीन सोचलाई आत्मसात गर्दै व्यक्तिगत तथा संस्थागत तहमा भएका अनुकरणीय कार्यहरुको पहिचान गरी प्रोत्साहन र प्रबर्धनका लागि सम्मान तथा पुरस्कृत गर्ने उद्देश्यले प्रतिष्ठानले प्रत्येक वर्ष राष्ट्रियस्तरको महिला, कृषि, साहित्य र पत्रकारिता तथा बाल विधामा चारवटा पुरस्कार र सम्मान प्रदान गर्ने गरेको र प्रतिष्ठानले छैठांै पटकसम्म राष्ट्रियस्तरका पुरस्कार र सम्मान वितरण गरिसकेको उनले जानकारी दिए ।

यस अघि प्रतिष्ठानले सातौं पटकका लागि सन् २०१९ (वि.सं.२०७६) का लागि रुद्रप्रसादओली स्मृति राष्ट्रिय कृषि पुरस्कार–२०७६ पालुङ्गटार नगरपालिका– ७, च्याङ्गली, गोरखाका अगुवा कृषक राजेन्द्रराज पन्तलाई प्रदान गर्ने घोषणा गरेको , गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार वाग्मती प्रदेश दोलखा झुले निवासी समाजसेवी तथा महिला अधिकारकर्मी सिर्जना कार्कीलाई प्रदान गर्ने घोषणा गरेको र अव देवी ओली स्मृति बाल पुरस्कार चाँडै घोषणा गरिने उनले बताए ।

रुद्र–गौरी श्री–अम्बिकाओली प्रतिष्ठानकासचिव यज्ञराज ओली (गोपाल) ले सामूहिक तथा सहयोगात्मक संस्कार भएको समुन्नत समाज निर्माण गर्ने दीर्घकालीन सोचलाई आत्मसात गर्दै व्यक्तिगत तथा संस्थागत तहमा भएका अनुकरणीय कार्यहरुको पहिचान गरी प्रोत्साहन र प्रबद्र्धनका लागि सम्मान तथा पुरस्कृत गर्ने गरिएको बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here