सोलारले उज्यालिदियो नेत्रहीन धामोसरीको घर

0
665

तुलसीप्रसाद निरौला , बिर्तामोड ।

झापा विर्तामोड –२ कि ५३ वर्षिया धामोसरी राजवंशी नेत्रहीन एकल महिला हुन् । आफ्ना श्रीमान्, छोराछोरी आफन्त सवैलाई गुमाएर अहिले उनी एक्लो जीवन व्यतित गरीरहेकी छिन् ।

अलि–अलि आँखा देख्दादेख्दै विवाह भएको वताउने उनी १० वर्षको उमेरमा अनुहारमा खटिरा आएको वताउँछिन् ।
आफ्ना आमाबुबा, श्रीमान्, छोराछोरी सबै मरेपछि उनीहरूलाई सम्झेर रुँदारुँदै आफ्ना आँखा बन्द भएको र हालसम्म पनि वन्द नै रहेको उनले बताइन् । आफ्नो सहारा वन्दै आएकी एउटी छोरी पनि पाँच वर्ष अघि गुमाएपछि उनी बेसहारा भइन् ।

आँखा बन्द भएयता हालसम्म अस्पताल नपुगेको बताउने उनको आँखाको ज्योति फर्काउन सकिन्छ कि भन्ने झिनो आशका साथ कोचिला महिला फ्रण्ट बिर्तामोड नगर समितिकी  अध्यक्ष शर्मिला राजवंशी (सरु) , कोचिला महिला फ्रन्टकी केन्द्रीय अध्यक्ष सनम राजवंशी लगायतको टोलीले मेची आँखा अस्पतालमा पुर्याएर आँखा परीक्षणसम्म गराएपनि उनको आँखाको ज्योति फर्काउन सम्भव नभएको वताइएको छ ।

 

सहारा नेपाल चारपाने र ह्यावीटाट फर ह्युमानिटी नेपालले उनको लागि सुरक्षित आवास घर निःशुल्क निर्माण गरिदिएको छ । घर निर्माण गरिदिएपनि घरमा अहिले अन्य धेरै कुराको आवश्यकता छ उनलाई । सवैभन्दा वढी उनलाई वत्तिको आवश्यकता छ । उक्त घरमा वत्ति नहुँदा उनी अँध्यारोमै रुमल्लिरहेकी छिन् । वत्तिको नाममा टुकीवाहेक केही छैन उनको घरमा ।

वृद्ध अवस्था, एक्लो जीवन त्यसमा पनि नेत्रहीन भएका कारणले वढोकष्टसंग दैनिक जीवनयापन गुजारा गरीरहेकी उनी वत्ति नहुँदा झन् सर्प, किराको भयले आक्रान्त छिन् । अँध्यारोकै कारण चोरहरुको विगविगीको डर त छँदैछ उनलाई अझ त्यसमाथी आफू हिंसामा परिन्छ कि भन्ने ठूलो पीर छ उनलाई ।

 

अँध्यारोमै रुमल्लिरहेकी उनको घरमा सोलार जडान गरिएपछि घर मात्र होइन उनको जीवन नै उज्यालो भएको छ ।
गत कात्तिक १ गते विर्तामोड –५ का वीरता जेसीजका पूर्व अध्यक्ष प्रमेश राजकर्णिकार (हलवाई )ले आफ्नी आमा राममाया हलवाईको निधनको सातौं पुण्यतिथीमा नेत्रहीन एकल महिला धामोसरी राजवंशीसहित विर्तामोड र कनकाईका सात जना महिलालाई खाद्यान्न, लत्ताकपडा , फलफूल लगायतका दैनिक उपभोग्य सामाग्री प्रदान गरेका थिए ।

 

 

त्यहि समयमा लत्ताकपडा , फलफूल लगायतका दैनिक उपभोग्य सामाग्री प्रदान गर्न आएका प्रमेशका छोरा अनिमेश हलवाई , शुभद्रा ताम्राकार , विवेक हलवाई , सिर्जना हलवाई लगायतलाई राजवंशीले घरमा सोलारको आवश्यकता भएको बताएपछि विर्तामोडबाट प्राविधिक लगेर राजवंशीको घरमा सोलारको जडान गरिएको अनिमेश हलवाईले जानकारी दिए ।
घरमा सोलार जडान गरिएपछि धामोसरीले घरमै आएर दैनिक उपभोग्य सामाग्री प्रदान गरी घरमा सोलार जडान गरिदिएकोमा हलुवाई परिवारलाई आशिर्वाद दिनुका साथै स्व. राममायाको स्वर्गमा वास होस् भन्ने कामना गरेकी थिइन् ।

 

त्यहाँ सहभागी कोचिला महिला फ्रण्ट बिर्तामोड नगर समितिकी अध्यक्ष शर्मिला राजवंशी (सरु)ले नेत्रहीन एकल महिला धामोसरी राजवंशीलाई हलुवाई परिवारले दैनिक उपभोग्य सामाग्री प्रदान गरी घरमा सोलार जडान गरिदिएर परोपकारी कार्य गरेको बताइन् ।

गत असोज २५ गते काठमाडौंमा ७८ वर्षको उमेरमा राममायाको निधन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here