काम नगर्ने ठेकेदारलाई निरुत्साहित गर

0
1015

सरकारी बजेटमा निर्माण गरिने सार्वजनिक विद्यालय, क्याम्पस, अस्पताल, स्वास्थ्यचौकी, अतिथि सदन आदिका भवन तथा हवाई मैदान, पुल, बाटो आदि निर्माण गर्ने ठेक्का लिएर काम नगर्ने, म्याद सकिएको धेरै समयपछि पनि काम नसक्ने, काम अलपत्र पारेर निर्माण व्यवसायीहरु बेपत्ता हुने घटना नेपालमा सामान्य लाग्ने गर्छन् । ठेक्का लिने, निर्माण कार्य ठप्प पार्ने र कामको गुणस्तरमा प्रश्न चिन्ह उठाउँदा आवाज उठाउने पक्षलाई टेढो नजरले हेर्ने चलन विकास निर्माणका लागि सबैभन्दा दुःखदायी पक्ष हो । मुलुक उँभो नलाग्ने एक मुख्य कारण यही हो । ठेकेदारबाट भइरहेको यस्ता गलत कामको दोष स्थानीय, प्रादेशिक र केन्द्रीय सरकार सञ्चालकहरुको टाउकोमा परिरहेको छ ।

हुन त ठेकेदारका पनि आफ्नै गुनासा छन् । ठेकेदारको सम्बन्ध धेरै जेलिएको हुन्छ । उनीहरु प्रतिष्पर्धी फर्म वा कम्पनी,
पार्टी नेता, कर्मचारीतन्त्र, टोलेगुण्डा र जनप्रतिनिधि सबैलाई खुसी पारेर मात्र ठेक्काको काम सम्पन्न गर्न सक्छन् । त्यसैले निर्माण वा आपूर्ति कार्य कमसल गुणस्तर हुने गरेको र ठेक्का छोडी भाग्नुपर्ने नचाहेको अवस्था आउने गरेको उनीहरु दाबी गर्छन् । पेश्की लिएर समयमै काम नगर्ने ठेकेदार ठूलो पद वा प्रभावशाली निकायसँग नजिक भए पनि सरकारले त्यस्ता कम्पनी वा व्यक्तिलाई कार्यवाहीको दायरामा ल्याउनुपर्छ । ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्ने मात्र होइन ग्यारेन्टी बाहेक पनि ठेकेदार कम्पनीले कार्य सम्पादन जमानत वापत ठेक्काको पाँच प्रतिशत राखेको रकम समेत जफत गर्नुपर्छ । ठेकेदारले समयमा काम नसकेकाले पहिला लागत अनुमान गरेभन्दा निर्माण खर्च बढ्दा बढी लाग्ने खर्च पनि तिनै ठेकेदारबाट असुल्नुपर्छ ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को कालोसूची सम्बन्धी व्यवस्था अनुसार आचरण विपरीत काम गरेको प्रमाणित भएमा, स्वीकृतिका लागि छनोट भएको बोलपत्रदाता वा प्रस्तावदाता खरिद सम्झौता गर्न नआएमा कालोसूचीमा राख्न सकिन्छ। सम्झौता बमोजिमको कार्य नगरेको वा कम गुणस्तरको काम गरेको प्रमाणित भएमा, फौजदारी कसुरमा अदालतबाट दोषी ठहरिएमा र योग्यता ढाँटी खरिद सम्झौता गरेको प्रमाणित भएमा कुनै पनि कम्पनी वा फर्म कालोसूचीमा पर्न सक्छन् । कमसल सामग्री प्रयोग गर्ने, जिम्मा लिएर पेश्की लिने, तर ठेक्का तोकेको समयमा पूरा नगर्ने निर्माण कम्पनी वा ठेकेदारलाई कालोसूचीमा राख्ने क्रमको शुरुवात भएको छ । अब गलत नजीर दोहो¥याउनु हुँदैन । कानूनभन्दा माथि कोही पनि हुँदैन । समयमै काम सकेर इमान्दारिता देखाउन निर्माण व्यवसायीहरु पनि सक्रिय हुनुपर्छ । असल ठेकेदारलाई उनीहरुको इमान्दारीको प्रशंसा गर्नुपर्छ । आयोजनाको ठेक्का लिएर समयमै काम नगर्ने केही ठेकेदारको बदमासीका कारण समस्त निर्माण क्षेत्र नै बदनाम भएको यथार्थलाई बुझ्न आवश्यक छ र यो क्रमको अब
अन्त्य हुन जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here