भट्टराई परिवारले पाँच दिनमा सके मृत्यु संस्कार

0
1978

 

बिर्तामोड,

बिर्तामोड ५ निवासी देवीप्रसाद भट्टराईको निधन पछि पाँच दिनमा नै उनको मृत्यु संस्कार कर्म सकिएको छ । हिन्दू सनातन धर्ममा मृत्यु संस्कारलाई १३ दिनमा सक्ने प्रचलन छ । तर, हिन्दू धर्म अन्तरगतकै हरि धर्मका अनुयायीहरु रहेका भट्टराई परिवारले मृत्यु संस्कारलाई पाँच दिनमा सकेका छन् ।

सामाजिक अभियन्ता समेत रहेका निर्मल भट्टराईका पिता देवीप्रसादको गत कात्तिक १७ गते निधन भएको थियो । हरिभक्त सेवा संघ झापाका अध्यक्ष समेत रहेका देवीप्रसादको पाँच दिनमा मृत्यु संस्कारको कर्म सकिएको उनका दाई सत्यनाथ भट्टराईले जानकारी दिए । हिन्दू धर्म भित्र पचासौं पन्थ रहेको र जसमध्ये हरि धर्म एक भएको हरिभक्त सेवा संघका निर्वतमान केन्द्रीय अध्यक्ष समेत रहेका सत्यनाथले बताए ।

धर्म भित्रका सास्वत सत्यलाई अंगिकार गर्दै त्यस भित्रका परिमार्जित कुरालाई परिमार्जन गर्दै मृत्यु संस्कारलाई पाँच दिनमा झारिएको उनको भनाई छ । हरि धर्ममा जन्म देखि मृत्युसम्मका सबै कर्ममा केही न केही फरक विशेषता छन् सत्यनाथले भने – मृत्यु संस्कार गर्दा हामी पाँच दिनसम्म सेता वस्त्र लगाएर कर्म गरेपनि दान दातव्यमा कुनै खर्च गर्दैनौं, मृत्यु भएको वार्षिक तिथिमा एक वर्ष मात्रै कर्म गरेर पितृ सम्झन्छौं अन्य वर्ष धर्म गुरुको तिथिमा मृत आत्माको शान्तिको कामना गर्दै मन्दिरमा गएर सामुहिक मुक्ति प्राप्त होस् भन्दै प्राथना गर्दै आएका छौं ।

हरि धर्म झापा सहित पूर्वका इलाम, पाँचथर, ताप्लेजुङ्ग,भारतका विभिन्न प्रान्तमा वसोवास गर्नेले मान्दै आएका छन् । यो धर्ममा ब्रम्हालाई प्रमुख र अन्य ३३ कोटी भगवानप्रति समेत भक्तिभाव राख्ने गरेको सत्यनाथको भनाई छ । यो धर्ममा अडिमर्दनलाई गुरु मानिदै आएको छ ।

अडिमर्दन ताप्लेजुङ्ग निवासी रहेको र उनले ज्ञान प्राप्ति गरेपछि १९८५ सालबाट यो धर्मको अनुयायी बढेर गएको बताइएको छ ।

भट्टराई परिवारले पनि यो धर्म तीन पुस्तादेखि मान्दै आएका छन् । स्व.देवीप्रसाद भट्टराईले अर्जुनधारामा करोडौं रुपैयााको लागतमा सात वर्ष अघि यो धर्मको मन्दिर निर्माण गरेका थिए । यो धर्मको केन्द्रीय कार्यालय भने ताप्लेजुङ्मा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here