‘सडकमा खाना खुवाउँदा स्वस्थकर नहुने’

0
832

काठमाडौँ,

काठमाडौँको तारकेश्वर नगरपालिकामा मानवसेवा आश्रम स्थापना (भवन निर्माण) का लागि प्रक्रिया शुरु भएको छ ।

काठमाडौँ महानगरपालिका र तारकेश्वर नगरपालिकाको सहयोगमा निर्माण हुन लागेको भवनका लागि आवश्यक जग्गाको व्यवस्थापनको काम थालिएको आश्रमले जनाएको छ ।

भवन निर्माणका लागि आज मानवसेवा आश्रम र ती नगरपालिका बीच प्रस्तावित सम्झौताका विषयमा छलफल भएको छ । आवश्यक प्रक्रिया पुरा भए यहाँ सहयोगापेक्षी सडक मानव व्यवस्थापन एवं मानवता प्रवद्र्धनका लागि ‘शहिद धर्मभक्त माथेमा महानगर मानवसेवा आश्रम’ बन्ने छ । एक वर्षभित्र भवन निर्माण गरिसक्ने प्रस्तावित योजनामा उल्लेख छ ।

त्रिपक्षीय बैठकले तारेकेश्वर ३ मा रहेको ३४ रोपनी खाली जग्गा स्वीकृतिका लागि सरकारलाई अनुरोध गर्ने निर्णय भएको छ । बैठकमा प्रस्तावित डिजाइनका विषयमा समेत छलफल भएको थियो । भवन निर्माणका लागि झण्डै रु सात करोड ३८ लाख लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

छलफलमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रस्तावि डिजाइन भएकाले अझै अध्ययन गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । आश्रम बनेपछि सञ्चालन र व्यवस्थापनमा समेत सबै निकायले सहयोग गर्नुपर्ने र उपत्यकाको सडक मानव व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

फरक प्रसङ्ग जोड्दै प्रमुख शाक्यले सडकमा खाना खुवाउँदा स्वस्थकर नहुने भन्दै कुनै पार्टी प्यालेसमा खाना खुवाउन सम्बद्ध संस्थालाई अनुरोध गर्नुभयो । यसका लागि महानगर आवश्यक सहयोग गर्न तयार रहेको समेत उहाँले बताउनुभयो । तारकेवर नगरपालिकाका प्रमुख रामेश्वर बोहराले आश्रमसँग विगतमा काठमाडौँ महानगरले सहकार्य गर्दै आएकोमा अब तारेकेश्वरले समेत सहकार्य गर्ने अवसर प्राप्त गर्न लागेकोमा खुशी व्यक्त गर्नुभयो ।

मनवसेवा आश्रमले विभिन्न कारणबाट घरबार विहीन भइ खुला आकाशमुनी कष्टकर रुपमा जीवन यापन गर्न विवश तथा शारीरिक र मानसिक रुपमा कमजोर व्यक्तिलाई संरक्षण दिँदै आएको छ । आश्रमले विसं २०८२ सालसम्ममा मुलुकलाई नै सडकमानवरहित देश बनाउने महत्वकांक्षी योजना अघि सारेको छ । सोही योजना अनुसार उपत्यकालाई मानवीयताको शहर बनाउने लक्ष्यसहित तारकेश्वरमा आश्रम स्थापना गर्न लागिएको हो ।

आश्रम स्थापनापछि त्यसको सञ्चालन तथा व्यवस्थापन, नीति निर्माणलगायत कार्य गर्नका लागि महानगरपालिकाका प्रमुखको संयोजकत्वमा निर्देशक समिति रहने गरी प्रस्तावित खाका तयार पारिएको छ । सरकारबाट जग्गा प्राप्त भएपछि निर्माणको काम अघि बढ्ने जनाइएको छ । भवन निर्माणका लागि आवश्यक सहयोग महानगर र नगपालिकाबाट हुनेछ भने मानवसेवा आश्रमले सहयोपेक्षि सडक मानवहरुको उद्धार, रेखदेख, संरक्षण तथा उपचारपछि पुनःस्थापनको काम गर्नेछ ।

कार्यक्रममा काठमाडौँ महानगरपालिका शहरी योजना आयोगका सदस्य सञ्जिव शाक्यले आश्रमको भवन निर्माणका विषयमा गरिएको प्रारम्भिक अध्ययन र नक्साको विषयमा जानकारी गराउनुभएको थियो । सात प्रदेशको २१ स्थानमा शाखा खोलेर आश्रमले सहयोगापेक्षि सडकमानवको व्यवस्थापन गर्दै आएको छ । आश्रमले अहिलेसम्म तीन हजार बढीको उद्धार गरेकोमा झण्डै एक हजार व्यक्तिलाई परिवारमा मिलन गराइसकेको छ भने एक हजार बढी अहिले पनि आश्रित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here