कोशी ग्यासको तौलमा कमी

0
826

बिराटनगर,

कोशी ग्यासको तौलमा कमी पाइएको छ । कोरोना सन्त्रासको बेला उपभोक्ताले आवाज उठाउन नसक्ने अवस्थाको मौका छोपी कोशी ग्यास उद्योगले ग्यासमा मनपरी तौल राख्ने गरेको पाइएको हो ।

कोशीको शिलप्याक गरेको सिलिण्डरमा साढे तीन केजीसम्म न्यून तौल भेटिएपछि यस्तो रहस्य खुलेको हो । विगतमा समेत विवादित कोशी ग्यासको विराटनगर–२ तीनपैनीचौकका उपभोक्ता रतनकुमार बर्माले बिहीबार खरिद गरेको कोशी ग्यासको सिलिण्डरमा ३ केजी ३०० ग्राम कम तौल भेटिएपछि यस्तो रहस्य बाहिर आएको हो ।


खोल्दै नखोलेको सिलिण्डर ग्यासमा शंका लागेर तौल गर्दा २९ किलो ६०० ग्राम हुनुपर्नेमा २६ किलो ३०० ग्राम मात्र भएको भेटिएको थियो । प्रत्येक सिलिण्डरमा ग्यास उद्योगहरुले १४ किलो २०० ग्राम ग्यास भरेर पठाउने गरेकोमा बर्माले दुई वटा सिलिन्डर ग्यास खरिद गरेकोमा एउटा सिलिण्डरको ३ किलो ३०० ग्राम कम तौल भेटिएको थियो ।

उनले ग्यास बिक्री गर्दै हिँड्नेसँग ग्यास खरिद गरेका थिए । दुईवटा सिलिण्डर खरिद गर्दा एउटामा वजन कम भएको आशंका आफैं गरेका हुन् । दुई वटा शिलप्याक गरिएको कोशी ग्यासको सिलिण्डर खरिद गरेपछि एउटा हल्का जस्तो लाग्यो अनि तौल गर्दा अलग–अलग तौल रहेको थियो– उनले भने ‘एउटा ग्यासको सिलिण्डरमा तीन केजी ३०० ग्राम कम तौल छ ।
खरिद गरिएको सिलिण्डर तौल कम फेला परेपछि बिक्री गर्ने टेम्पु चालक दक्षिणतर्फ भागेको र पछि आफूले पछ्याएर फेला पारेको बर्माले बताएका छन् । बर्माले डिलरहरूबाट ग्यास खरिद गरेर डुलाउँदै हिँड्ने टेम्पु चालक राजकपुर मण्डलबाट ग्यास खरिद गरेका थिए । मण्डलले विराटनगरका तीन डिपोबाट सिलिण्डर खरिद गरेर बिक्री गर्दै आएको बताएका छन् । डुलाउँदै ग्यास बिक्री गर्ने मण्डलले खरिद गरेको डिलरको नाम भने खुलाएका छैनन् ।

सिलिण्डर शिलप्याक भएकाले उद्योगकै बदमासी हुनसक्ने देखिएको छ । उपभोक्ताले शिलप्याक ग्यास खरिद गर्दा तौल गर्न सम्भव नहुने भएकाले अन्य कतिपय व्यक्ति समेत ठगिएको हुनसक्ने आशंका गरिएको छ । कोशी ग्यास उद्योगका म्यानेजर सचित उपाध्यायले सिलिण्डर चेकजाँच गरेपछि मात्र केही भन्न सक्ने प्रतिक्रिया दिएका छन् । उद्योगले बजारमा पठाउने ग्यासहरू तौलिएर पठाउने गरिएको उनको दावी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here