पालियामा पक्की पुल

0
1127

लक्ष्मी उप्रेती,ज्यमिरगढी।

झापाको मेचीनगर–७ मा रहेको पालिया नदीमा पक्की पुल बन्ने भएसँगै स्थानीयवासी हर्षित बनेका छन् । पुल बनेसँगै सदरमुकाम जाने बाटो समेत छोटो हुने उनीहरुको भनाइ छ ।

निन्दाखोलामा पक्की पुल नबन्दा मेचीनगर–७स्थित सतिघट्टाका अधिकांश वासिन्दा जोखिम मोलेरै काठेपुलबाट आवातजावत गर्न बाध्य थिए । त्यसमा पनि नजिकै रहेको अरनिको आधारभूत विद्यालयमा अध्ययनरत् विद्यार्थीहरुको पीडा त खपिनसक्नुको थियो । वर्खा शुरु भएसँगै अधिकांश बिद्यार्थीहरु स्कुल जाँदैन थिए । केही बिद्यार्थी भने जोखिम मोलेरै विद्यालय आउ–जाउ गर्दथे । विद्यार्थीहरु मात्र होइन सर्वसाधारण समेत अहिले निन्दा खोलामा पुल निर्माण कार्य शुरु भएपछि खुशी छन् ।

पुल समयमै नबनेका कारण सर्वसाधारणले निक्कै सास्ती व्यहोर्नुपरेको नेपाली कांग्रेसका स्थानीय नेता युद्घराज ओलीको भनाइ छ । पालिया खोलामा पक्की पुल नभएका कारण एउटा काठे पुलको भरमा मानिसहरु हिँड्ने गरेका थिए । काठे पुललाई समेत बाढीका कारण पालिया नदीले क्षति पुर्याउँदा, समयमै मर्मत तथा सम्भार नहुँदा सर्वसाधारणले निक्कै ठूलो सास्ती व्यहोर्नुपरेको ओलीको भनाइ छ ।

१ नम्बर प्रदेश सरकारको तीन करोड ८४ लाख १४ हजार ३ सय ८७ रुपैयाँमा पुल ठेक्का लागेको हो । उक्त पुल निर्माणका लागि हिम्टुङ एण्ड थोकर सरोज जेभी निर्माण सेवासँग २०७७ साल बैशाख २४ गते निर्माण सम्झौता भएको थियो । सम्झौता पत्रमा २०७८ साल असार २० गते निर्माण कार्य सम्पन्न हुने उल्लेख छ । अहिले पुलको निर्माण कार्य धमाधम भइरहेको र एकसाइडको पाइरिङको काम सम्पन्न भइसकेको तथा पुल निर्माणले आफूहरुले निक्कै ठूलो राहत मिलेको नेकपाका युवा नेता चन्द्रप्रसाद प्रसाईले बताए ।

पक्की पुल निर्माण भएपछि मेचीनगर–७स्थित सतिघट्टा–गोमनसरी–इँटाभट्टालाई जोड्ने छ । झापाको मेचीनगर हुँदै सदरमुकाम जोड्ने यो पुलको निर्माणपछि सञ्चालनमा आएलगत्तै मेचीनगर र चन्द्रगढी विमानस्थलको दूरी १४ किलो मिटरमात्र हुने मेचीनगर–७का वडा सदस्य रुपा गुरुङ्गको भनाइ छ । सिगंल स्पाम रहने उक्त पुलको लम्बाई पिल्लरदेखि पिल्लरसम्म २५ मिटरको हुने र एलआरवीएसयुको प्राविधिक सहयोगमा पूर्वाधार विकास कार्यालय भद्रपुर झापाले यसको अनुगमन र रेखदेख गर्दै आएको छ ।

कार्यालयका अनुसारे ८२ फिट लम्बाई र २८ फिट चौडाई पुलको कज्वे चौडाई २० फिट तथा दुबै तर्फ ४ ÷४ फिट लम्बाईको पैदलयात्री हिँड्ने संरचना निर्माण गरिने छ । १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीको पहलमा उक्त पुलको निर्माण कार्य शुरु भएको हो । मैनालीले झापा निर्वाचन क्षेत्र नं. १ क को योजना छनौट अन्तर्गत प्रदेश सरकारको बजेट छनौटमा योजना पार्न सफल भएको स्थानीयले बताएका छन् ।

वर्षौदेखि पुलको समस्या व्यहोर्न बाध्य स्थानीयवासीले पुलको निर्माणसँगै राहतको अनुभव गर्ने प्रदेश सभा सदस्य मैनालीले बताए । लामो समयको प्रतिक्षापछि स्थानीयले विकास योजनाको प्रत्यक्ष लाभ लिन पाएको विश्वास व्यक्त गर्दै प्रदेशसभा सदस्य मैनालीले निर्धारित समयमै निर्माण कार्यसम्पन्न हुने र यस कार्यमा सवैलाई सहयोगी र समन्वयकारी भूमिका निर्वाह गर्न आग्रह गरे ।

त्यही पुलबाटै अरनिको आधारभूत विद्यालयमा विद्यार्थी पुग्ने गरेका भएपनि बर्खामा भने विद्यार्थीहरु पढ्न आउनै छाड्ने गरेको बिद्यालयका प्रधानाध्यापक अग्निप्रसाद घिमिरेले बताए । ‘हामीले जनप्रतिनिधिहरुलाई यो पुलको अवस्थाका बारेमा स्थलगत अवलोकन गराएका थियौं– प्रधानाध्यापक घिमिरेले भने– उहाँहरुले चाँडै बनाउने आश्वासन दिनुभएको थियो, ढिलोछिटो बन्ने भयो, हामी खुशी छौं । लामो समयको प्रतिक्षापछि पालिया खोलामा पक्की पुल त बन्ने भयो तर, थुप्रै यस्ता आयोजनाहरु बर्षौंदेखि अलपत्र परेका पनि छन् । हामी चाहन्छौं यो योजनाबीचमै अलपत्र नपरोस् र अब सबै बिद्यार्थीहरुले बर्खाका समयमा समेत विद्यालय जान सकून् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here