प्रहरीकी श्रीमती स्काभेटर चालक, जसले २५ कोरोना सङ्क्रमितको शव पुरिन्

0
1271

इटहरी,

दुई सन्तानकी आमा दिपा वाग्ले अधिकारीका श्रीमान् नेपाल प्रहरी हुन् । इटहरी २ आपँगाछीमा घर, दुई छोराछोरीहरु हुर्की सकेका छन् । तर स्वावलम्बी बन्ने चाहनाले २८ वर्षिया वाग्ले यतिखेर स्काभेटर (ब्याकुहुलोडर) चलाउँछिन् ।

छोरा मान्छेले गर्ने काम छोरी मान्छेले गर्न सक्दैनन् अनि हुँदैन भन्ने सामाजिक मान्यतालाई चुनौती दिँदै आएकी वाग्लेको जीवन कथा आफै माकम प्रेरणादायी छैन । भारतको आसम राज्य गुहाटीमा जन्मिएकी वाग्ले कक्षा ८ मा पढ्दाताका फुपू दिदी भेट्न करिब १४ वर्षअघि इटहरी २ आपँगाछी आएकी थिइन् । फुपू दिदी र आफन्तले बिहेको प्रस्ताव ल्याएपछि १४ वर्षकै उमेरमा विवाह गरिन् । त्यत्तिखेर उनका श्रीमानको उमेर २२ वर्षको थियो ।

विवाहले उनको पढाई बिचैमा रोक्यो । त्यसै बिच पहिलो छोरीको जन्म भयो । छोरी जन्मिए लगत्तै श्रीमानले नेपाल प्रहरीको जागिर पाए । श्रीमान् सरकारी जागिरे भएकोमा दिपा खुसी त थिइन्, तर आफैले पनि केही गर्नु पर्छ भन्ने सोचिरहन्थिन् । दोस्रो सन्तान जन्माएपछि २०७२ सालमा २ लाख ४० हजार रुपैयाँमा सिटी सफारी खरिद गरी चलाउन थालिन् ।
तर सफारी चलाउन थालेको १ वर्ष नबित्दै टाउको दुख्ने, आँखा दुख्ने रोगका कारण सफारी बिक्री गरेर उपचार गरिन् । निको भएपछि फेरी सफारी चलाउन थालिन् । तर उनलाई त्यत्तिले चित्त बुझेन ।

‘अझ केही नयाँ कुरा सिकौँ भन्ने लाग्थ्यो, १५ महिनापछि २५ हजार रुपैयाँ खर्चेर भ्यान ड्राइभिङ सिकेँ तर लकडाउन भएका कारण लाइसेन्स निकाल्न पाइनँ,’उनले भनिन् ।

उनलाई अनायासै डोजर चलाउन मन लाग्यो । महिलाले गरेको काम भन्दा पुरुषले गरेको काम गर्नु पर्छ भन्ने सोचिन् । उनले गत लकडाउनका समयमा इटहरीको माया घरमा रहेका वृद्धवृद्धालाई बिरामी हुँदा अस्पतालसम्म लाने लैजाने गर्थिन् । एक दिन माया घरमा बसेको बेला उनले कसैले नदेख्ने तरीकाले एउटा अभिनय गरिन् । जुन अभिनयले अहिले उनी डोजर चलाउने भइन् ।

डोजर चढेको, डोजर चलाएको, ब्रेक लगाएको जस्ता कार्य गरेकी थिइन् । माया घरकी सचिव तथा पत्रकार महासङ्घ सुनसरीकी उपाध्यक्ष सुभद्रा प्याकुरेलले यो सबै भिडियोमा खिँचिरहेकी थिइन् । ‘वहाँले नै इच्छा,चाहना भएको काम गर भन्दै हौसला दिनुभयो,’दीपा भन्छिन् । प्याकुरेलले सो कुरा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमलाई भनेपछि उपप्रमुख गौतमले सिक्ने बन्दोबस्त मिलाइदिइन् । उपमहानरमा रहेको स्काभेटर चालकसँग उनले स्काभेटर चलाउन सिकिन् ।

‘२ महिना भयो सिक्न थालेको,अहिले खोलामा जाने, बालुवा, गिटि उठाउने जस्ता काम गर्न थालेकी छु,’उनी भन्छिन्, ‘केही दिनपछि पूर्ण रूपमा चलाउँछु भन्ने विश्वास लिएकी छु ।’

डोजर चलाउन सिक्ने क्रममै दिपाले कोरोना सङ्क्रमितहरूको लास पुर्ने काम समेत गरिरहेकी छिन् । दिपा कोरोनाले मृत्यु भएका इटहरीवासीको लास पुर्ने एक मात्र डोजर चालिका पनि हुन् ।अरू नगरवासीहरू सङ्क्रमणबाट जोगिन जतिसक्दो सुरक्षित बसिरहँदा उनले स्काभेटर चालकसँग मिलेर अहिलेसम्म २५ वटा शव पुरिसकेकी छिन् । कहिले त रातको ११ बजे पनि शव पुर्ने काम गर्नु पर्छ ।

धरान र इटहरी बिचमापर्ने चारकोशे झाडीमा खाल्डो खनेर पुरिरहँदा आफूलाई डर भने नलागेको उनी बताउँछिन् । ‘जुनसुकै सक्ने काम छ भने आँट गर्छु,’ उनी भन्छिन् ।-सञ्चारलय डटकमबाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here