सहमतिमा मेचीनगरमा विद्यालय खोलिदै

0
621

लक्ष्मी उप्रेती

काँकरभिट्टा, नेपाल सरकार शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले कोभिड १९ को सन्दर्भमा तयार गरेको विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा २०७७ ले तोकेको मापदण्ड पुरा गरी मेचीनगरभित्रका निजी, सामुदायिक तथा धार्मिक विद्यालय सञ्चालन गर्न नगरका सवैपक्ष सहमत भएका छन् ।

निमित्त नगरप्रमुख मीना पोखरेल उप्रेतीको सभापतित्वमा शनिबार बसेको सर्वपक्षीय छलफलमा सहभागीहरु कात्तिक २० मा मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएको विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा २०७७ ले तोकेको मापदण्ड पूरा गरी मेचीनगरभित्रका सवै शैक्षिक संस्था सञ्चालन गर्न सहमत भएका हुन् ।

१ नम्बर प्रदेशसभा सदस्यहरु गोपालचन्द्र बुडाथोकी, श्रीप्रसाद मैनाली र राधा थापासहभागी छलफलमा निमित्त नगर प्रमुख उप्रेतीले छलफलका विषयहरुको बारेमा सहभागीहरुलाई जानकारी गराउनुभएको थियो । नगरको शिक्षा शाखा प्रमुख वा नगर शिक्षा अधिकारी होमनाथ भण्डारीले मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएको विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा २०७७ का बारेमा जानकारी गराउनुभएको थियो ।

शिक्षक, अभिभावक, विद्यालय, समुदाय, बाल तथा युवा क्लब, जनप्रतिनिधि, स्वास्थ्यकर्मी आदिको समन्वय र सहभागितामा विद्यालय खोल्ने आधार तयार गरिएको बताउदैं नगर शिक्षा अधिकारी भण्डारीले बाल विकास लगायतका सवै बालबालिकाहरुको संख्याका आधारमा सफापानी र सावुनसहितको हातधुने व्यवस्थालगायतका २० बुँदे सुरक्षित विद्यालय रुचु सूचीका बारेमा सहभागिहरुलाई जानकारी गराउनुभएको थियो ।

छलफलमा बोल्दैं संविधान सभा सदस्य रविन कोइरालाले विद्यालय सञ्चालन सतर्कता अप्नाउन जारी गरीएको विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा २०७७ ले तोकेको मापदण्ड प्रभावकारीरुपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले दक्ष र अनुभवी स्वास्थ्यकर्मीहरुबाट विद्यार्थीहरुलाई कोभिडका बारेमा परामर्श दिनुपर्नै, हरेक विद्यालयले अभिभावकको भेला बोलाएर कोभिडका बारेमा छलफल चलाउनुपर्ने समेत बताउनुभयो । नगरभित्रका योजनाहरु पूर्णरुपमा सम्पन्न भए नगरको मुहार फेरिने भएकाले समयमै त्यस्तायोजना सम्पन्न गर्न समेत सुझाव दिनुभयो । नगरका विकास निर्माणका काम सम्पन्न गर्न आफ्नोतर्फबाट पूर्ण सहयोग हुने आश्वसन समेत संविधान सभा सदस्य कोइरालाले दिनुभयो ।

१ नम्बर प्रदेश सभा सदस्य गोपालचन्द्र बुडाथोकीले यसअघिका जानेर वा नजानेर भएका सवै त्रुटिहरुलाई सच्च्याएर अघि बढ्न जोड दिनुभयो । हरेक नगरवासीहरु जिम्मेवारी बन्नुपर्नेमा जोड दिदैं कोभिड १९ को संक्रमण नियन्त्रण गर्न हरेक नगरवासी सचेत हुनुपर्ने र अहिले अस्तव्यस्तरुपमा रहेका हाटबजारहरुलाई व्यवस्थित गर्न नगरपालिकालाइ सुझाँव दिनुभयो । अर्का प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले सरकारले बनाएको मापदण्ड कार्यान्वयन गराएर मात्र विद्यालय सञ्चालन गर्न सुझाव दिनुभयो । उहाँले वडादेखि विद्यालय तथा नगरस्तरीय अनुगमन टोली बनाएर कार्यान्वयन भए नभएको अनुगमन गर्नुपर्ने बताउनुभयो । १ नम्बर प्रदेश सभा सदस्य राधा थापाले अहिले कोभिडकै कारण अभिभावक तथा विद्यार्थीहरु मारमा परेको बताउनुभयो । निर्णय गरेर कार्यान्वयन नभए ठूलो संकट निम्तिने भन्दैं बेलैमा कार्यान्वयन पक्ष मजवुत हुनुपर्ने उहाँको भनाई थियो ।

छलफलका अधिकाँश वक्ताहरुले नेपाल सरकार, प्रदेश सरकार स्थानीय तहबाट जारी गरिएका जनस्वास्थ्य एवम् सुरक्षा सम्बन्धि मापदण्डहरु पूर्णरुपमा पालना गर्ने गरी विद्यालय तथा शिक्षण संस्थाहरु सञ्चालन गर्न जोड दिएका थिए । हरेक विद्यलायले विद्यार्थीहरुका लागि हातधुने व्यवस्थाका लागि विद्यालय परिसरमा सावुन पानीको व्यवस्था, मास्क, सेनिटाइजर, ग्लोब्सको अनिवार्य प्रयोग गर्नुपर्ने समेत सहभागीले बताएका थिए । यसको उचित कार्यान्वयन भए नभएको हेर्नका लागि प्रभावकारीरुपमा अनुगमन हुनुपर्ने समेतमा सहभागीको जोड थियो । सम्बन्धित वडा कार्यालय, विद्यालय, विभिन्न दल, टोल विकास संस्थालगायतको सहभागितामा अनुगमन टोली निर्माण गर्न सहभागीको जोड थियो ।

छलफलमा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य धनप्रसाद गुरुङ्ग, नेपाली काँग्रेसका झापा उपसभापति राम कट्टेल, क्षेत्रीय सभापति मणिकुमार उप्रेती, नेकपा मेचीनगर कमिटी इञ्चार्ज देवकुमार राई, नगर अध्यक्ष माधवलाल अर्याल, नेपाली काँग्रेसका मेचीनगर सभापति इन्द्रबहादुर बुडाथोकी, जनता समाजवादी पार्टीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ्ग राप्रपाका मेचीनगर अध्यक्ष सुशील आचार्यलगायतले आ आफ्नो धारणा राख्नुभएको नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले जानकारी दिनुभयो ।

निमित्त नगरप्रमुख मीना पोखरेल उप्रेतीले नगरपालिकाले अहिलेसम्म भए गरेका विकास निर्माणका कामका बारेमा समेत जानकारी गराउनुभयो । उहाँले कोभिड अस्पतालका आवश्यक जनशक्ति स्रोत साधनको व्यवस्थापन शुरु गरिएको समेत बताउनुभयो । कोभिड १९ संक्रमण नियन्त्रण सम्बनिध ष्रिएका गतिविधि, जनशक्ति व्यवस्थापनका लागि करारमा नियुक्तीका लागि सूचना प्रशारण गरिउको, अक्सिजन सिलियडरको व्यवस्थापन, संक्रमण देखिएका विपन्न परिवारका लागि निःशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाइएको बताउनुभयो । विकास प्रगति सम्बन्धि परियोजना अन्तर्गत बहुवर्षीय योजनाका बारेमा चर्चा गदैं उहाँले मेचीनगर–६, ८ र १० नम्बर वडा कार्यालयको नयाँ भवन बन्ने बताउनुभयो ।
३ तिनै वटा भवन बनाउन ३ करोड भन्दाबढी रकममा टेण्डरमार्फत ठेक्का लागिसकेको उपप्रमुख उप्रेतीले बताउनुभयो । त्यसका लागि टेण्डर आह्वन गरेर ती वडा कार्यालयहरुको भवन निर्माण कार्यमा गइसकेको छ ।

मेचीनगर–२, ५, १२ र १३ नम्बर वडा कार्यालयको भवन निर्माणका टेण्डर प्रकिया शुरु गर्ने निर्णय गरिएको यी चार वटा भवन बनाउन वहुवर्षीय योजना मार्फत चालु आर्थिक वर्षका लागि १ करोड ३० लाख रुपैयाँ विनियोजन गरिएको उहाँको भनाइ छ । यसअघि नगरपालिकाले वडा नम्बर १, ३, ७ र ९ को कार्यालयको भवन बनाईसकेको छ । मेचीनगर–४, ११, १४ र १५ नम्बर वडा कार्यालय पहिलैदेखि आफ्नै पुरानो पक्की भवनमा छ । मेचीनगरका १५ वटै वडा कार्यालयको भवन चालु आर्थक वर्ष र अर्को आर्थिक वर्षभित्र पुरा हुने उपप्रमुख उप्रेतीले दावी गर्नुभयो । नमूना विद्यालय, भ्यू टावर, गौरवका योजनाहरुमा कृषि मण्डी, संग्राहलय, प्यारीभिट्टा वसपार्क, कृषि पशु अनुसन्धान तथा वाटर वल्ड, महिला पोलिटेक्निकल सेन्टर , युवा स्वरोजगार केन्द्र, सेनेटरी ल्याण्डफिल्ड साइर्ड, व्यक्तिगता घटना दर्ता डिजिलाइजेसनका बारेमा उहाँले चर्चा गर्नुभयो । हालसम्म नगरक्षेत्रभित्र ४ हजार १ सय ९८ जनाको पीसीआर परीक्षण गरिएको , ४१ जना संक्रिय संक्रमित रहेको ८ जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । छलफलको सञ्चालन गदैं प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले सहभागीहरुलाई विविध विषयमा जानकारी गराउनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here