नमूना सामुदायिक वनको २३औं सभा सम्पन्न

0
955

अर्जुनधारा ।

झापाको अर्जुनधारा–९मा रहेको नमूना सामुदायिक वन उपभोक्ता समूहको २३औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।

समूहका अध्यक्ष भानुभक्त श्रेष्ठको अध्यक्षता र प्रदेश नं.१का सांसद् वृख प्रधानको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सूर्यप्रकाश अधिकारीले व्यक्त गरेका थिए ।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले चालु आर्थिक वर्ष ०७७÷०७८को वार्षिक कार्यक्रमसहितको गत आर्थिक वर्ष ०७६÷०७७को वार्षिक प्रगति प्रतिवेदन र सदस्य सन्तकुमार राईले गत आर्थिक वर्षको लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदन अनुसार समूहले आगामी वर्षमा वन क्षेत्रको अतिक्रमण रोक्न सिमाना यकिन गर्न सम्बन्धित निकायसँग प्राविद्यिक माग गरी घेराबारा गर्ने, वनको सुरक्षा र विकासका लागि उपभोक्ताहरुलाई वनको महत्व र संरक्षण सम्बन्धि प्रशिक्षण सञ्चालन गर्ने, निम्न आय भएका उपभोक्ताहरुलाई आयमुलक सिप तथा उत्पादनमुलक कृषिजन्य कामका लागि अनुदान सहयोग गर्ने, पर्यापर्यटनको लागि वनभित्र साइक्लिङ मार्गको निर्माण गर्ने तथा होमस्टेको अवधारणा विस्तार गर्ने, बिहीबारे हाटलाई व्यवस्थि गर्न सरोकारवाला सबैसँग समन्वय गर्ने, भिमसेन घाटलाई व्यवस्थित गर्नेलगायत रहेको छ ।

त्यसैगरी गत आर्थिक वर्षमा ३१ लाख २१ हजार पाँच सय ९० रुपैयाँ ९१ पैसा बराबरको आर्थिक कारोबार गरेको समूहले चालु आर्थिक वर्षको लागि ४० लाख ४७ हजार नौ सय ६१ रुपैयाँ बराबरको अनुमानित बजेट कार्यक्रममा पेस गरेको थियो । उक्त बजेटमध्ये गरिबी न्यूनिकरण सामुदायिक विकास खर्चमा १४ लाख १६ हजार सात सय ८६ रुपैयाँ, वन विकास खर्चमा १० लाख ११ हजार नौ सय ९१ रुपैयाँ, संस्थागत भौतिक विकास खर्चमा १० लाख ११ हजार नौ सय ९० रुपैयाँ, प्रशासनिक खर्चमा छ लाख सात हजार एक सय ९४ रुपैयाँ विनियोजन गरिएको छ ।

गत आर्थिक वर्षमा दिगो वन व्यवस्थापन, सिमसार व्यवस्थापन, पुरानो अतिक्रमण व्यवस्थापन कार्यमा उल्लेखनीय कार्य गरी समग्र मूल्याङ्कनमा जिल्लामा रहेका ५९ वटा सामुदायिक वनमध्ये तृतीय भएको उक्त समूहलाई डिभिजन वन कार्यालय झापाबाट प्रमाण पत्रसहित नगद पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा नगर प्रमुख हरिकुमार राना, सव डिभिजन वन कार्यालय कनकाईका रेञ्जर राजेश घिमिरे, सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारी र नेपाली काँग्रेस नगर सचिव मुक्तिनाथ सुवेदीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नगर कार्यपालिका सदस्य लक्ष्मी तामाङ, नगर सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष दिव्यप्रसाद कट्टेल, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले “मामा”लगायतको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन सदस्य राईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here