पार्थ मण्डल,
भद्रपुर।

भारतीय सीमासँग जोडिएको नेपाली भूमि । भूमि छेउबाटै बग्ने मेची नदी । नदीको वारिपारि दुवै तर्फ नेपाली बस्ती । नदीपारि बसोबास गर्ने नेपाली जनता दशकौँदेखि भारतीय बजारमा निर्भर हुनुपर्ने बाध्यता । यस्तो बाध्यतासँगै दुःखले जीवन बिताइरहेका साबिक महेशपुर गाविस हाल भद्रपुर नगरपालिका–३स्थित मेचीपारिका गाउँवासीमा अहिले खुशियाली छाएको छ ।
टापु आकारको भनेर चिनिने मेचीपारिको गाउँ पुग्ने बाटो थिएन । गाउँवासीले बर्खाको तीन महिना नाउ वा भारतीय भूमि प्रयोग गर्नुपर्ने र हिउँदमा नदी तैरिएर सदरमुकाम आवतजावत गर्नुपर्न बाध्यता थियो । तर, अब मेची नदीमा झोलुङ्गे पुल निर्माण भएर सञ्चालनमा आएपछि गाउँवासीको दशकौँदेखिको चाहना र सपना पूरा भएको छ ।
तत्कालीन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पुलका लागि बजेट विनियोजन गरी ठेक्का लगाएको थियो । भ्याटसहित २ करोड ८५ लाख ९८ हजार २ सय ५९ रुपैयाँमा निल गिरी निर्माण सेवा बानेश्वर काठमाडांैले २०७२ भदौ ७ गते ठेक्का सम्झौता गरी कामको जिम्मा लिएको थियो ।
२ सय ८० मिटर लम्बाइसहितको झोलुङ्गे पुलको निर्माण कार्य १८ महिना अर्थात् २०७३ फागुन ६ गते सम्पन्न हुने गरी निर्माण व्यवसायी युवराज डाँगीले ठेक्का लिएका थिए । तर, विभिन्न कारण देखाउँदै निर्माण कम्पनीले सो पुल २०७६ फागुनमा सम्पन्न ग¥यो । पुल सञ्चालनमा आए पनि झोलुङ्गे पुलको भने उद्घाटन गरिएको छैन ।
गाउँवासीको ठूलो सपना पूरा भएको बताउँदै भद्रपुर–३ नम्बर वडासदस्य अरुण राजवंशीले भने– ‘पुल सञ्चालनमा आएपछि खुसीको सीमा नै रहेन, स्वर्गमा पुगेको अनुभूति भएको छ, विकासले समेत पछि परेको गाउँमा एउटा पुलले नै मुहार फेरिदिएको छ, अब गाउँको विकासले बिस्तारै गति लिने छ ।’

पुल निर्माण नहुँदा गाउँका बासिन्दा हिउँदमा हिँडेर वा साइकलमा सदरमुकाम जाने–आउने गर्दथे । वडा कार्यालय आउन समेत नदी पार गर्नु परेको मेची आधारभूत विद्यालयका शिक्षक कैलाश राईले बताए । । आफ्ना बारीमा उत्पादन गरेका सागसब्जी बेचेर होस् वा जनवन गरेर हिउँदभर नेपालतिरै निर्भर रहने यहाँका बासिन्दाको वर्षायामको समयमा भोकभोकै बस्नुपर्ने बाध्यता रहेको शिक्षक राईको भनाइ छ ।
यता निर्माण भएको परियोजना हालसम्म नगरपालिकालाई हस्तान्तरण नभइसकेको भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले बताएका छन् । झोलुङ्गे पुल बनेपछि त्यस ठाउँको विकासले गति लिइरहेको बताउँदै मेयर श्रेष्ठले भने– ‘पुलमा फोटो खिचाउनेको भीडभाड बढेकोले आन्तरिक पर्यटनको गन्तव्यस्थल बनेको छ अहिले । अब यस क्षेत्रलाई कसरी अघि बढाउन सकिन्छ स्थानीय सरकार गम्भीर छ ।’ नदीमा पुल नभएका कारण एउटै नगरपालिकाका वासिन्दा पनि अर्को देशका जनता भइरहेको अवस्थामा सरकारबाट निर्मित झोलुङ्गे पुलले मेचीपारिका जनतालाई जोड्ने काम गरेको जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले बताए । पुल निर्माण पश्चात् यस क्षेत्रका स्थानीयको आर्थिक गतिविधि फस्टाउनुका साथै पर्यटकीय गन्तव्य बनेकोले जाने आउने सडक स्तरीकरण गर्न नगरपालिकासँग आवश्यक पहल भइरहेको उनले बताए ।
झोलुड्डे पुलमा आन्तरिक पर्यटकको चहलपहल बढ्यो
मेची नदीमा बनेको झोलुङ्गे पुल सञ्चालनमा आएपछि अहिले त्यहाँ आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको छ । अन्तर्राष्ट्रिय सीमासँग जोडिएको मेची नदीमा पहिलोपटक झोलुङ्गे पुल बनेकाले त्यहाँ टिकटक भिडियो, फोटो खिचाउने र पिकनिक खान जानेको भीड बढेको हो ।
पर्यटकको चहलपहल बढेसँगै पुल वारिपारि अहिले बजार नै लाग्न थालेको छ । कुनै समय थियो, त्यहाँ पिउने चिया भेटिँदैन थियो । तर, अहिले झोलुङ्गे पुल वारिपारि दैनिक एउटा सानो बजार जस्तै लाग्ने गरेको छ । मेचीवारि भचक बस्तीका भरत राजवंशीको जग्गामा हाल स्थानीयले अस्थायी टहरा निर्माण गरेर होटेल, खाद्य सामग्री, माछामासु पसल , फास्ट फुड लगायतका सेवा सञ्चालन गर्दै आइरहेका छन् । पुल सञ्चालनमा आएपछि यहाँका जनताले राहत महशुस गरेको टहरामा भेटिएका स्थानीय पिन्टु राजवंशीले बताए । पुल हेर्न, फोटो खिचाउन र टहरामा आएर खाजा खान दैनिक सय जनाभन्दा बढी मानिस आउने गरेको उनको भनाइ छ ।

भदौ महिनाबाट टहरा निर्माण गरी अहिले यहाँ केही होटेल नै सञ्चालनमा आइसकेको छ । बिदाका दिन पुल हेर्न आउने मानिसहरूको भीड नै लाग्ने गरेको स्थानीय पुष्पा राजवंशीले बताइन् । पहिला यहाँ पनि गाउँ छ भनेर अधिकांशलाई थाह थिएन– उनले भनिन्– पुल हेर्न आएकाहरू अहिले मेचीपारि गाउँ पनि रहेछ भनेर थाह पाउन थाले । स्थानीय सरकारले यो गाउँको पहिचानका लागि ल्याएको मेचीपारि तरकारी बारीलाई मुख्य पेशा बनाउन जरुरी रहेको निलम राईले बताइन् । यहाँका जनताको मुख्य पेशा नै खेती भएकोले सस्तोमा तरकारी खान पाइन्छ ।
मेचीपारिका जनताले उत्पादन गरेका तरकारीलाई यही क्षेत्रका सब्जी बजार पु¥याएर नमूना गाउँ बनाउन स्थानीय सरकारले योजना बनाउनुपर्ने स्थानीयको माग रहेको छ । हाल पुल नजिकै निर्माण भइरहेको पसल तथा टहरामा बिजुली बत्ती सञ्चालनमा ल्याइएको र खानेपानी तथा शौचालय बनाउने प्रक्रिया अघि बढाइसकेको भद्रपुर वडा नम्बर ३की अध्यक्ष कमला थुलुङले बताइन् । मेचीपारि तरकारी बारी भएकोले बजार व्यवस्थापन गरी अहिले विकास भएको बजार क्षेत्रलाई नमूना बनाएर लैजाने उद्देश्य रहेको उनको भनाइ छ ।





























