राष्ट्रिय बहिरा क्रिकेट हुने

0
616

सुरुङ्गा, माघ १३ । राष्ट्रिय बहिरा क्रिpuकेट संघ–नेपालको आयोजनामा धरानमा पाँचौ राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिता २०७० हुने भएको छ ।
हालै संघले सो सम्बन्धी जानकारी सार्वजनिक गरेको छ । क्रिकेट खेलकुदको माध्यमद्वारा जीवन स्तरमा सुधार गर्ने अभिप्रायले शिक्षित र बौद्धिक बहिरा व्यक्तिकै अग्रसरतामा वि.सं.२०६१ सालमा राष्ट्रिय बहिरा क्रिकेट संघ–नेपालको विधिवत् स्थापना भएको हो । स्थापना देखि हालसम्म आइपुग्दा सो संस्थाले नेपालका विभिन्न स्थानमा ४ ओटा बहिरा क्रिकेट खेलको राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरिसकेको छ । यस्तै राष्ट्रिय स्तरको प्रतियोगिताको निरन्तरताको रुपमा “पाँचौं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिता २०७०” सुनसरी धरानमा सञ्चालन गर्न लागिरहेको हो । प्रतियोगिता आगामी फागुन महिनाको २१ गते देखि २५ गते सम्म धरानमा हुने तय भएको छ । उक्त राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने प्रयोजनको लागि गएको माघ ३ गते धरान नगरपालिका मोति स्मृति भवनमा भएको भेलाबाट यस संघका अध्यक्ष सरयुप्रसाद शेरचनको संयोजकत्वमा एघार सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समितिको सदस्यहरूमा नवराज भट्टराई, गोपाल खरेल, लक्ष्मण बस्नेत, महेन्द्र लिम्बू, सुजन श्रेष्ठ,पुण्य गौतम, राजेन्द्र श्रेष्ठ, कमला निरौला, उमेश तामाङ रहेका छन् । सल्लाहकारहरूमा समाजसेवी मनिष कुमार लोहिया, सुनसरी उद्योग वाण्ज्यि संघका पूर्व अध्यक्ष अशोक ताम्राकार, बटुक दल गण, इटहरीका गणपति श्यामकुमार खड्का, योग साधक समूह धरानका सदस्य अनिल तामाङ, धरान नगरपालिकाका अधिकृत सुनिल नेपाल, पूर्वाञ्चल ज्ञान चक्षु विद्यालयका प्रिन्सिपल केशरी थापा, पुर्वाञ्चल बहिरा विद्यालयकी प्रिन्सिपल रेणुका बुढाथोकी, शबनम सुब्बा र राज कुमार कार्की रहेका छन् । प्रतियोगिताको सफल व्यवस्थापनको लागि आर्थिक उपसमिति, आवास व्यवस्थापन उपसमिति, यातायात व्यवस्थापन उपसमिति, स्वयम्सेवक व्यवस्थापन उपसमिति, मैदान व्यवस्थापन उपसमिति र समारोह व्यवस्थापन उपसमिति समेत गठन गरिएको छ । उक्त प्रतियोगितामा झापा, मोरङ्ग, सुनसरी, धनुषा, काठमाण्डौ, बहिरा बाल मन्दिर उ.मा.वि (नक्साल), कास्की र रुपन्देही जिल्ला गरी ८ टीमले सहभागिता जनाउने तय भएको छ । उक्त प्रतियोगिता बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको खेलमैदानमा हुनेछ । प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमशः २५ हजार, २० हजार र १० हजार रुपैयाँ तथा साथमा ट्रफी पनि हुनेछ । प्रतियोगितामा सहभागी ८ टीमका खेलाडी मध्येबाट खेलाडीको व्यक्तिगत प्रदर्शनका आधारमा उत्कृष्ट २० जना खेलाडीको चयन गरी नेपालको राष्ट्रिय बहिरा क्रिकेट टीम तयार गरिनेछ । उक्त टीमलाई सन् २०१४ अक्टोबर महिनामा दुबई मुलुकमा हुन लागेको प्रथम टी–ट्वान्टी बहिरा क्रिकेट विश्वकप प्रतियोगितामा नेपालको प्रतिनिधत्व हुनेगरी सहभागी गराइने संघका महासचिव गोपाल खरेलले बताए । उक्त प्रतियोगिताको लागि नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयबाट ३ लाख उपलब्ध गराइएको छ भने जम्मा बजेट अनुमान ८ लाख ५८ हजार रहेको छ ।नपुगेको रकम स्थानीय संघसंस्था, सरकारी निकाय, सहयोगी महानुभावबाट जुटाउने लक्ष्य राखिएको संघका कोषाध्यक्ष नवराज भट्टराईले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here