नगरपालिका र वाणिज्य बैंक बीच सहुलियत कर्जा लगानी गर्ने सम्झौता

0
658

विनोद सापकोटा,
झापा ।

शिवसताक्षी नगरपालिका र राष्ट्रिय वाणिज्य बैंक बीच सहुलियत कर्जा लगानी गर्ने विषयमा सम्झौता भएको छ । शिवसताक्षी नगरपालिकाको कार्यालयमा सोमबार नगरका तर्फबाट प्रमुख चन्द्रकुमार शेर्मा र राष्ट्रिय वाणिज्य बैक प्रादेशिक कार्यालय विराटनगरका प्रमुख ऋषभ भट्टराईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

मेची अंचलमा पहिलो पटक शिवसताक्षी नगरपालिकासंग राष्ट्रिय वाणिज्य बैक (आरबिबि)ले संझौता गरेको हो । यस अघि १ नम्बर प्रदेश अन्तर्गत सहुलियत दरको कर्जा प्रवाह गर्न मोरङको बेलबारी र संखुवासभाको खाँदवारी नगरपालिकासंग वैंकले संझौता गरेको राष्ट्रिय वाणिज्य बैक प्रादेशिक कार्यालय विराटनगरका प्रमुख भट्टराईले बताए । शिवसताक्षी नगरपालिकाका स्थानीय नगरबासीले राष्ट्रिय वाणिज्य बैंकको शिवगञ्ज शाखाबाट सेवा पाउने शाखा प्रमुख खगेन्द्र कन्दङवाले सेतोपाटीलाई जानकारी दिए ।

नगरपालिका र राष्ट्रिय वाणिज्य बैंंक विच सहुलियत दरको कर्जा प्रवाह गर्न सम्झौता भएपछि पालिकाका बासिन्दाले सहुलियत ब्याज दरमा कर्जा पाउने छन् । सरकारले ल्याएको एकीकृत सहुलियत कर्जा कार्यक्रम अन्तर्गत राष्ट्रिय वाणिज्य बैकले अधिकतम २.७४ प्रतिशत ब्याजदरमै कर्जा दिन लागेको हो ।

व्यावसायिक कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय व्यवसाय विकास, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा र भूकम्पपीडितको निजी आवास निर्माणमा सहुलियतपूर्ण कर्जा दिने व्यवस्था सरकारले गरेको बैंकका प्रादेशिक प्रमुख भट्टराईले बताए । उनले भने, ‘यो सुविधा स्थानीय पालिकाका वासिन्दाले पाउने छन् ।’

महिला उद्यमशीलतामा १.७४ प्रतिशत ब्याजमा अधिकतम १५ लाख सम्म कर्जा बैंकले उपलब्ध गराउने भट्टराईले बताएका छन् । पुरुषका हकमा २.७४ ब्याजदरमा कर्जा उपलव्ध हुने छ । ‘आफु रहेको वडाको सिफारिसमा महिला उद्यमशीलतामा १५ लाख रुपैँयासम्म कर्जा लिन पाउने छन् । सिफारिस सहित कुन उद्धेश्यका लागि कर्जा सुविधा लिने हो त्यसको फाइल र परियोजना बैंकले निरीक्षण गरेपछि कर्जा सुविधा पाइने छ,’ भट्टराईले भने ।

नगद १५ लाख सम्म बैंकले बिना धितो कर्जा स्थानीय पालिकाको जमानतमा दिने छ । यसका अलवा कर्जा रकमको अनिवार्य विमा हुनुपर्ने प्रावधान छ । १५ लाख भन्दा माथि कर्जा आवश्यक परेमा अचल धितो बन्धक राख्नुपर्ने बैंकले जनाएको छ । कर्जा लिन चाहने उध्यमीले स्थायी लेखा नम्बर लिएको हुनुपर्दछ। कर्जा सूचना केन्द्रको कालोसूचीमा नपरेकाले मात्र सहुलियतदरको कर्जा पाउने भट्टराईले बताएका छन् ।

स्नातक तहसम्म उत्तीर्ण गरेकाले शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याज अनुदानमा सात लाखसम्म ऋण पाउनेछन्। शैक्षिक प्रमाणपत्र धितोमा राखे ऋण पाउन ४० वर्ष उमेर ननाघेको हुनुपर्नेछ। शैक्षिक प्रमाणपत्रको सक्कली प्रति र घरेलु तथा साना उद्योग कार्यालयरसमिति, सीप विकास तालिम केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट कम्तीमा ७ दिनको सीप विकास तालिम लिएको वा उक्त कर्जा स्वीकृत भएपछि त्यस्तो संस्थामा तालिम लिएको प्रमाण पेश गर्नुपर्छ ।

व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा १८ वर्ष उमेर पुगेका युवाले पाउनेछन्। १० लाख रुपैयाँसम्म कर्जा लिन सामूहिक जवानी, १० लाखभन्दामाथि कर्जा लिन संस्था र एक करोडभन्दामाथि कर्जा लिन कम्पनी हुनुपर्ने व्यवस्था कार्यविधिले गरेको छ। १० लाख रुपैयाँभन्दा बढी कर्जा लिन चाहने संस्था वा कम्पनीले कर्जाको विस्तृत परियोजना विवरण पेश गर्नुपर्नेछ ।

वेदेशिक रोजगारीबाट फर्केका युवा परियोजनाका लागि विदेशमा ६ महिना काम गरेको र विदेशबाट फर्केको ३ वर्ष ननाघेको हुनुपर्नेछ। १० लाख रुपैयाँसम्म पाइने यस्तो कर्जा ग्रिन कार्ड होल्डरले भने पाउने छैनन् ।

१८ वर्ष उमेर पुगेका कम्तीमा पाँच जनाको समूहले १५ लाख रुपैयाँसम्मको महिला उद्यमशीलता कर्जा पाउनेछन्। माध्यमिक शिक्षा वा सो सरह उत्तीर्ण गरेका २५ वर्ष उमेर ननाघेका, विपन्न, सीमान्तकृत, समुदाय वा लक्षित वर्गले सात लाख रुपैयाँसम्म ऋण सुविधा पाउनेछन् ।

भूकम्पका कारण निजी आवास गुमाएका अन्य कुनै संस्थाबाट अनुदान नपाएका, अन्य कुनै ठाउँमा बस्नयोग्य घर नभएका भूकम्पपीडितले तीन लाख कर्जा पाउने व्यवस्था गरेको छ। यी सबै कर्जाको अवधि ५ वर्षको हुनेछ। महिला उद्यमशीलता लागि ६ प्रतिशत ब्याज अनुदान र ५ करोडभन्दा माथिका व्यावसायिक कृषि तथा पशुपन्छी परियोजनका लागि दुई प्रतिशत ब्याज अनुदान पाउने व्यवस्था गरिएको छ ।

शिवसताक्षी नगर प्रमुख चन्द्रकुमार शेर्माले नगरवासीलाई राष्ट्रिय बाणीज्य वैंकबाट अधिकतम फाईदा दिन आग्रह गरेका छन् । उनले वडा पालिकाको सिफारिस र अन्य वैंकको मापदण्ड भित्र रहेर कर्जा सुविधा लिन नगरवासीलाई अनुरोध गरे । उनले भने, जमानत नगरपालिका बस्छ, तपाईँहरु सहुलियत दरको कर्जा लिएर इमान्दारकासाथ उद्यम गर्नुहोस् ।

शिवसताक्षी नगरपालिकाको कार्यालयमा सोमबार नगरका तर्फबाट प्रमुख चन्द्रकुमार शेर्मा, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई र राष्ट्रिय वाणिज्य बैंक प्रादेशिक कार्यालय विराटनगरका प्रमुख ऋषभ भट्टराई, शिवगञ्ज शाखाका प्रबन्धक खगेन्द्र कन्दङ्वाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here