बिर्तामोड ।

आफ्ना पिताको निधनपछि दशगात्र कर्ममा बसेका कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलसहित उनका परिवारले समवेदना व्यक्त गर्न आउँदा श्रद्धाञ्जलि तथा समवेदना पत्र नल्याइदिन सबैमा अपिल गरेका छन् ।
हिन्दू संस्कार अनुसार १३ दिनसम्म मृत्यु संस्कार कर्ममा शोकमा बसेकाहरुलाई भेट्न जाँदा फ्रेमसहितको समवेदना तथा श्रद्धाञ्जलि पत्र लिएर जाने चलन बढेको छ । पछिल्लो समय यो कार्यमा प्रतिस्पर्धा नै भएको देखिन्छ ।
तर, पोखरेल परिवारले भने श्रद्धाञ्जलि तथा समवेदना पत्र भरसक नल्याउन यदि ल्याउनै पर्ने भए फोटोकपी पेपर आकारमा लेमिनेशन पत्र मात्र ल्याउन पनि अपिल गरेको छ । कनकाईका प्रमुख राजेन्द्रकुमार तथा निर्माण, दिनेश, फाल्गुणीसहितका पिता गणेशप्रसादको ८६ बर्षको उमेरमा बुधवारसाँझ निधन भएको थियो ।
कनकाई–१ दुर्गापुरस्थित निवासमा अहिले दशगात्र कर्म भइरहेको छ । पोखरेल तत्कालीन सुरुङ्गा गाउँ पञ्चायतको ४ कार्यकालसम्म प्रधानपञ्च भई गाउँवासीको सेवा गरेका थिए । उनी समाजसेवी धार्मिक तथा दानवीरका रुपमा समेत परिचित थिए ।
मृत्यु संस्कार फ्रेमसहितको श्रद्धाञ्जलि तथा समवेदना पत्रले एकातिर खर्च बढाउने अर्कोतर्फ जुन परिवारमा दिइन्छ त्यो परिवारमा उक्त फ्रेमहरु व्यवस्थापनमा समस्या उत्पन्न हुने समेत देखिँदै आएको छ । यसअघि बिर्तामोडका समाजसेवी राजकुमार पोखरेलले आफ्नी आमाको निधनपछि पनि यस्तै अपिल गरेका थिए । समवेदना व्यक्त गर्न आउनेश शुभचिन्तकहरुका लागि यसले सहजता प्रदान गर्ने बताइन्छ ।































