एघार प्रस्तावित माविको स्तरोन्नति

0
665

खोटाङ,

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ११ प्रस्तावित माविलाई स्तरोन्नति गरेको छ । गाउँपालिकाले हालसम्म प्रस्तावित माविका रुपमा सञ्चालनमा रहेको शान्ति मावि छोरम्बु, सरस्वती मावि डाँडाखर्क सछितापोखरी, राम्चे निकेतन मावि इजारा बतासे, शान्ति निकेतन मीनाकर्ण मावि सापातेल छोरम्बु, शान्ति मावि टेम्मा, पञ्चौशिका मावि भण्डारेघाट बतासे, महेन्द्रोदय मावि याम्खा, धिप्लुङ मावि सेम्मा छितापोखरी, जनसेवा मावि दिहुँ छितापोखरी, सरस्वती मावि कुलागाउँ सछितापोखरी र याङसोला मावि छोरम्बुलाई माविमा स्तरोन्नति गरेको हो ।

हालसम्म मावि तहको पठनपाठन हुँदैआएको तर मावि शिक्षकको दरबन्दी नभएका प्रस्तावित माविलाई माविमा रुपान्तरण गरिएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताउनुभयो । गत वर्ष पञ्चकौशिका आधारभूत विद्यालयलाई मावि तहको पठनपाठनको स्वीकृति दिएको गाउँपालिकाको असोज ३० गते बसेको गाउँकार्यपालिकाको बैठकले एकैसाथ ११ प्रस्तावित माविलाई माविमा स्तरोन्नति गर्ने निर्णय गरेको थियो ।

सात वडा रहेको गाउँपालिकामा हालसम्म महेन्द्रोदय मावि ओख्रे डाँडागाउँ, कृष्ण मावि टेम्मा र जनता मावि भण्डारीडाँडा बतासे मात्र स्थायी मावि थिए । माविमा रुपान्तरण गरिएका विद्यालयमा स्थायी शिक्षकको दरबन्दी सिर्जना गरेर शिक्षक व्यवस्था गर्दै पठनपाठन शुरु गरिएको गाउँपालिका प्रमुख राईले बताउनुभयो ।

अपुग शिक्षकका लागि दरबन्दी सिर्जना गरेर शिक्षक नियुक्ति गरिने गाउँपालिकाका शिक्षा शाखाले जनाएको छ । दश स्थानीय तह रहेको जिल्लामा यसअघि सामुदायिकतर्फ ९३ माध्यमिक विद्यालय सञ्चलनमा थिए ।
यसैबीच साकेला गाउँपालिकाले तीनवर्षे डिप्लो(बिए) तहको बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । गाउँसभाबाट पारित आर्थिक वर्ष २०७७ ।७८ को स्वीकृत कार्यक्रमअन्तर्गत गाउँपालिकाले प्राविधिक धारतर्फ तीनवर्षे डिप्लोमा तहको बाली विज्ञान विषय अध्ययन गर्ने छात्रछात्रालाई जनही रु ५० हजारका दरले छात्रवृत्ति प्रदान गर्ने भएको हो ।

तीन वर्षमा दश छात्रछात्राका लागि रु २० लाख खर्च गर्ने गरी प्राविधिक धारका विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम ल्याइएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्काले बताउनुभयो । छात्रवृत्ति गाउँपालिकाभित्रका विद्यार्थीले मात्र पाउनेछन् ।

साकेला गाउँपालिका–२ रतन्छास्थित साकेला माविमा सञ्चालन भइरहेको तीनवर्षे डिप्लो तहको बाली विज्ञान विषय अध्ययन गर्ने छात्रछात्रालाई लक्षित गर्दै गाउँपालिकाले छात्रवृत्ति कार्यक्रम ल्याएको थियो । छात्रवृत्ति कार्यविधि पास गरेरै गाउँपालिकाका पाँच वटै वडाका दुई÷दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने जनाइएको छ ।

वडाको सिफारिसमा विपन्न, महिला, दलित तथा जेहेन्दार छात्रछात्रालाई प्राथामिकता दिएर छात्रवृत्ति उपलब्ध गराइने गाउँपालिका प्रमुख खड्काले बताउनुभयो । गाउँपालिकाले छात्रवृत्तिका लागि १५ दिनभित्र आवेदन दिन यही पुस २ गते सूचना जारी गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here