राष्ट्रनिर्मातालाई धारेहात कि जम्ल्याहा हात ?

0
1439

पछिल्ला वर्षहरुमा राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहका व्यक्तित्व र कृतित्व सम्बन्धमा धेरै प्रश्न उठाउन थालिएको छ । लामो समय उनलाई देवत्वकरण गरियो । अहिले दानवीकरण गर्नेहरुको स्वर ठूलो हुँदै आएको छ । राजतन्त्रका प्रखर विरोधीहरु सायद राजाको नेतृत्वमा निर्माण भएको देशको नागरिक भनेर चिनिन चाहँदैन्न, वा यो मुलुक निर्माणमा राजाको योगदानका कुरा उक्काउँदा नै उनीहरुलाई डर लाग्छ । सक्रिय राजतन्त्र हुँदा भोगेका प्रताडना र सजायको क्षतिपूर्ति वापत शाहवंशकै सत्तोसराप गरेर सन्तुष्टि लिएको हुन सक्छ । मजाको कुरा त राजाको सक्रिय नेतृत्व नचाखेका पृथकतावादी अभियन्ताहरु पृथ्वीनारायणप्रति अन्धघृणा र असीम आक्रोस फैलाउन कम्मर कसेर लागेका छन् । यिनीहरु मूलतः गणतन्त्रकालमा फस्टाएका हुन् ।

सिकेलाल, आहुति, खगेन्द्र संग्रौला, राजेन्द्र महर्जन जस्ता स्थापित बौद्धिक कलमबाजहरु यिनका आलम्बन बनेका छन् र यी कलमबाजहरुको स्रोत चाहिँ जोन ह्वेल्प्टन, फा. जिस्सेपी, हजसन जस्ता विदेशीहरुका पुस्तक देखिन्छन् । अनि कतिपय लेखक चाहिँ जनश्रुति र किंवदन्तीलाई तथ्य मानेर कथा रच्छन् । अझ पूर्वी नेपालकै कुरा गर्ने हो भने माझ किराँतमा भएको युद्धमा पराजित कतिपय खम्बूहरु दार्जिलिङ–सिक्किमतिर गए । त्यहाँ बसेर तिनले गैरकुटनीतिक क्रियाकलाप गरेकाले नेपालबाट फिर्ता बोलाइएका अंग्रेज राजदूत हड्सनको उक्साहटमा गोरखाली सेनाका क्रुरता र अमानवीय आक्रमणका बढाइचढाइ गरेका काल्पनिक घटनाको लामो सूची तयार गरे ।

प्रतिशोध र कुण्ठाले लचेप्रै भिजेका ती लिखतहरु आजका हाम्रा तरुण पुस्तालाई वेदवाक्य बनेका छन् । अनि जन्मिन्छन्, हुर्किन्छन् र फैलिन्छन आङकाजी प्रवृत्तिहरु । एमएनओका कतिपय मित्रहरु अल्प अध्ययनकै भरमा निस्कर्षमा पुग्छन् र तिनका मन्तव्यले समाजमा कालो तरङ्ग ल्याउन सघाउँछ । युवा पुस्ताका कतिपय साहित्यकारहरु समेत जानेर वा अनजानमै यस अभियानमा संलग्न छन्– चाहे पहिचानवादी साहित्यका नाममा होस् चाहे प्रयोगवाद । यी सबै अभियन्ताको पसिना कढाइ एउटै कुरा सिद्ध गर्नलाई हुन्छ, त्यो हो– राजा पृथ्वीनारायण नेपालका एकीकरणकर्ता होइनन् । उनले त नेपालका जातिजनजातिको राज्य मासेर गोर्खा राज्यको विस्तार गरेका थिए । यस क्रममा ती विस्तारवादी राजाले यहाँका रैथाने धर्म, भाषा, संस्कृति विनाश गर्दै हिन्दू धर्म, खस भाषा र संस्कृति लाद्ने काम गरे । यस्ता आक्रमक राजालाई राष्ट्रनिर्माता मान्न सकिँदैन ।

कतिपय लेखकले भाग–भागमा उपर्युक्त आक्षेप (केही भ्रम केही तथ्य)को उत्तर दिने र घटना प्रष्ट पार्ने प्रयास गरेका छन् । कसैले सभामा मन्तव्य दिएर र कसैले अन्तवार्ताका माध्यमले वास्तविकता बताउने कोशिस गरेकै हुन् । तर, यी र यस्ता अभिमत राख्नेहरुका विचार र तिनको तथ्यपूर्ण एवम् तर्कसङ्गत एकमुष्ठ उत्तर खोज्ने प्रयास आजसम्म कसैले गरेको थिएन । दुई वर्षअघि अध्येता सुजित मैनालीको बुक (हिल पब्लिेकसनबाट प्रकाशित पुस्तक ‘शिलान्यास’ (नेपाल निर्माणको नालीबेली) ले यो आवश्यकता पूर्ति गरिदिएको छ । स्वदेशी र विदेशी लेखकका पुस्तक र लेखहरुको समीचीन परिशिलन गरेर विश्वसनीय स्रोत सामग्रीका प्रामाणिक तथ्याङ्क केलाएर लेखक मैनालीले तटस्थ भावले निष्कर्ष दिएका छन्ः पृथ्वीनारायणका व्यक्तित्व र कृतित्व सम्बन्धमा ।

पुस्तकमा जम्मा तीन खण्ड छन्– जग, अविच्छिन्न स्वतन्त्रता र बिष्टको वाहुनवाद । ‘जग’ खण्डमा राज्यविस्तार, हिन्दूकरण, धार्मिक सहअस्तित्व, बहुसंस्कृतिवाद, अधार्मिक शासक, नेपाली भाषाको प्रभुत्व, नस्लवादी राज्य, पृथ्वीनारायणको सेनाको जातीय चरित्र, राष्ट्रिय संकटमोचन, पूर्वी नेपालमाथि चढाइ, जातीय र सजातीयहरुको विद्रोह आदि शीर्षकमा लामा–छोटा आलेखहरु छन् । यिनमा पृथ्वीनारायण शाहमाथि लगाइएका आरोपहरु सम्वन्धमा छानविन गरिएको छ । शाहको विजय अभियान गोर्खा राज्यको विस्तार हो कि नेपालको एकीकरण ? नेपालमा खस भाषाको प्रभुत्व नियोजित हो कि स्वाभाविक प्रक्रिया ? नेपाली शासन के साँच्चै नै नस्लवादी थियो÷छ ? के नेपाल राज्यको निर्माणमा हिंसा अनिवार्य थियो ? अहिंसक तरिकाले नेपाल बनाउन सकिँदैन थियो ? विश्वमा कुनै मुलुक बिनाहिंसा निर्माण भएका छन् ? जस्ता प्रश्नहरुको उठान गर्दै तिनको उत्तर ठम्याउने प्रयास गरिएको छ ।

दोस्रो खण्ड ‘अविच्छिन्न स्वतन्त्रता’ मा विषम परिस्थितिमा पनि नेपाल जोगाएर कसरी आजको अवस्थामा ल्याइएको छ भन्ने कहिरन छ । नेपालको भूगोल र राजनीतिक–प्रशासनिक स्थिरता कायम नभएकै अवस्थामा उत्तरबाट विशाल एवम् शक्तिशाली चीनले आक्रमण ग¥यो सन् १७९२ मा । त्यसको चौवीस वर्ष नबित्तै दक्षिणबाट आधुनिक हतियारसहितको, नेपोलियन वोनापार्टलाई हराएको, युद्धकलामा प्रवीण अंग्रेज सेनाले आक्रमण ग¥यो । दुवै युद्धमा नेपाल पराजित भयो ।

अझः अंग्रेजसँगको युद्धमा त अपमानजनक हारसँगै नेपालले ठूलो भू–भाग गुमाउनु प¥यो । यति हुँदा पनि तत्कालीन शासकहरुले राष्ट्रलाई युद्धको विषादबाट सकुशल सामान्य अवस्थामा अवतरण गराए । राष्ट्र विखण्डित हुन दिएनन् । भारतीय रजौटाहरुले यसो गर्न नसेकाले हैदराबाद, जुनागढ, पन्जाव, कास्मिर आदि राज्यहरु अहिले पुस्तकमा सीमित भएका छन् । सिक्किम र तिब्बत पछिल्ला सिकार बने । भुटानको सार्वभौमिकता खुम्चेको छ । तर, नेपाल स्वतन्त्र, सार्वभौम र अखण्ड राज्यको रुपमा विश्वमञ्चमा परिचित छ । यसको मुख्य जसभाग राष्ट्रिय संकटका घडीमा मुलुकको कार्यकारी नेतृत्व दिने शासकलाई जान्छ, चाहे ती श्री ५ हुन् वा श्री ३, मुख्तियार हुन् कि काजी वा चौतारा ।

लेखक मैनालीले यस सुचीमा नेपाली सेना र किसान पनि थपेका छन् जुन उपयुक्त छ । अझ उनी नेपाल राज्यको जग दरिलो भएकैले त्यस्ता भयानक प्रहार खप्न पचाउन सकेको तर्क गर्छन् र त्यो दरिलो जग राख्ने सिल्पी पृथ्वीनारायण शाह हुन् । शाह मात्र होइन नेपालको सान मान बढाउन र यसको स्वतन्त्रता एवम् सार्वभौमिकता बचाइराख्न श्री ३ जंगबहादुर र श्री ३ चन्द्र शमशेरको योगदान अतुलनीय छ । राणाहरुलाई घोक्रो सुकुन्जेल गाली गर्ने राजतन्त्रवादीहरुले समेत यी दुई श्री ३ को वस्तुगत मूल्याङ्कन गर्न सकेका छैनन् । कमजोर राजा, गुट उपगुटमा रमाएका रानी र राजकुमार भएका वेलासमेत भारदारहरुले कसरी नेपालको अस्मिता जोगाएका थिए ? यो जान्नलाई ‘शिलान्यास’ पढ्नुपर्छ ।

पुस्तकको तेस्रो खण्ड छ– बिष्टको बाहुनवाद । नेपालमा ‘मानवशास्त्रका पिता’ भनेर चिनिने डोरबहादुर विष्टको ‘फेटालिजम् एन्ड डेभलपमेन्टः नेपाल्स स्ट्रगल फर मोर्डनाइजेसन’ भन्ने बहुचर्चित पुस्तकको अपरेसन गरेका छन् समाजशास्त्री मैनालीले । यस क्रममा पुस्तकका लेखक बिष्ट स्वयम्को चिरफार मात्र हौइन एकएक गरेर उनका लुगा फुकालिएका छन् । मानवशास्त्रीको मुखुन्डो उघारिएको छ र बिष्टको अनुहार उदाङ्गो पारिएको छ । बिष्टले कहाँ–कहाँ कसकसबाट वृत्ति लिएर कुन उद्देश्यले सो पुस्तक तयार गरेका हुन्, यसको खुलासा गरिएको छ ।

अप्रमाणित तर्क र उदाहरण दिएर नेपाली समाजमा विभाजनको रेखा कोर्न उद्यत बिष्टले सो पुस्तकमा हिन्दू संस्कृति नेपालको आधुनिकता, विकास र समृद्धिको बाटामा सबभन्दा ठूलो अवरोध रहेको कुरामा जोड दिएको र केही जनजातिलाई नेपाललाई परिवर्तन गर्न सक्ने ऊर्जाशील ठह¥याएको कुराका पछाडि कुनै ठोस आधार र औचित्य प्रदान गर्न नसकेको तथ्य मैनालीले उठाएका छन् । नेपाली नागरिकता गोजीमा च्यापेर, धनीपुर्जा सिरानीमा राखेर, राज्यले प्रदान गरेका अनेक सुविधा ग्रहण गर्दै नेपाल राष्ट्रको अखण्डतालाई असर पर्ने गरी राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई धारेहात लाउनेहरुले फुर्सदले ‘शिलान्यास’ पुस्तक पढून्, वास्तविकता मनन गरुन् अनि पनि चित्त नबुझे बहसमा आउन् ः पङ्तिकार तयार छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here