निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह

0
337

भद्रपुर ।

नेकपाका नेता महेश बस्नेतले निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई आव्हान गरेका छन् । झापाको धुलाबारीमा सोमबार आयोजित ओली पक्षका नेकपा कार्यकर्ताहरूको युवा भेलालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य समेत रहेका बस्नेतले भने– ‘प्रधानमन्त्री केपी शर्मा ओलीको एजेन्डा बोकेर निर्वाचनमा लाग्नुहोस्, हाम्रो जित निश्चित छ ।’ अहिले अन्य दलहरूले सरकारबिरुद्ध सडक प्रदर्शन गरिरहे पनि उनीहरू भित्री रुपमा निर्वाचनको तयारीमा जुटिसकेका छन्, त्यसैले अब हामी पनि निर्वाचनको तयारीमा लाग्नुपर्छ– उनले भने ।

‘कमरेड माधवकुमार नेपाल र झलनाथ खनालले कम्युनिस्ट आन्दोलनको इतिहास बिर्से जस्तो छ’– बस्नेतले भने– ‘नबिर्सिनुहोस् कमरेडहरू, एमाले पार्टीकै चुनाव चिन्ह सूर्य हो, सूर्य चिन्ह हाम्रै हो, यसको लागि हामी जस्तोसुकै बलिदान दिन तयार छौँ ।’ अहिले सूर्य चिन्हमा कमरेड पुष्पकमल दाहाल प्रचण्डले कुदृष्टि लगाइरहेको उनले आरोप लगाए ।

मुलुकको सार्वभौमिकता, राष्ट्रिय अखण्डता, सुशासन, भ्रष्टाचारमुक्त, विकास निर्माणमा लागेका प्रधानमन्त्री ओली राजनेता भएको दावी गर्दै उनले भने– ‘कुचो लिएर झारी सफा गर्न जाँदा झारीमा बसेका बारुला र अरिङ्गालले टोक्न खोज्यो, प्रधानमन्त्रीज्यू अब हातमा आगो लिएर अघि बढ्नुहोस् झारीमा बसेका त्यस्ता बारुला र अरिङ्गाल जलाएर अघि बढ्नुहोस्, तपाईँको साथमा हामी छौँ ।’

कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने खेलमा प्रचण्ड र नेपाल समूह लागीपरेको आरोप लगाउँदै उनले भने– ‘लोकतन्त्र पद्धति विपरीत सरकारबिरुद्ध आन्दोलनको नाममा सीमा नाघ्ने काम गरिँदैछ, कालोझण्डा देखाउने, निषेध तथा अवरोध गर्ने हर्कत बढ्दै गएकोले त्यसको प्रतिकारमा युवा संघका कार्यकर्ता सडकमा उत्रिन नपरोस् ।’ ‘जनताको चाहना बमोजिम राष्ट्र निर्माण र एकताको पक्षमा प्रधानमन्त्री ओली रहेकोले हामी उनको साथमा छौँ’– उनले भने ।

राष्ट्रिय युवा संघ नेपाल झापाका अध्यक्ष शम्भु भण्डारीको अध्यक्षतामा भएको भेलालाई राष्ट्रिय युवा संघ नेपालका संगठन विभाग प्रमुख बच्चन सिंह, महिला विभाग प्रमुख अञ्जना अधिकारी, १ नम्बर प्रदेश अध्यक्ष रवीन थापा, पूर्व केन्द्रीय सचिव राजु कार्की, नेकपाका केन्द्रीय सदस्य मीना पोखरेल उप्रेती, १ नम्बर प्रदेश अध्यक्ष देवराज घिमिरे, नेकपा झापाका अध्यक्ष चिन्तन पाठकलगायतले सम्बोधन गरेका थिए ।

झापा सचिव सुमनध्वज थापाले सञ्चालन गरेको कार्यक्रममा मेचीनगर इञ्चार्ज नारायण खनालले स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here