इतिहासप्रति गर्व गरौं

२८ पुष २०७७, मंगलवार मा प्रकाशित

झापाका दुई पालिकाहरुले पुस २७ गतेको ऐतिहासिक दिनलाई महत्वपूर्ण पर्वका रुपमा स्वीकार गरी सार्वजनिक विदा दिएका छन् । आफ्नो पुर्खा, आफ्नो संस्कृति र पहिचानप्रति गौरव गर्न नसक्ने व्यक्ति वा जाति जीवन्त हुन पनि सक्दैन । त्यस्ता केही पुरुषहरु जो मानव जाति, मानव सभ्यता एवम् जातीय, ऐतिहासिक र लोककल्याणकारी कार्यलाई अभीष्ट ठान्छन्, त्यसमै समर्पित रहन्छन् ती अजम्बरी हुन्छन् । भौतिकता नाशवान छ, अर्थात्, आफूद्वारा देखिने, अनुभूत गरिने, आकार वा पहिचान भएका वस्तु बिर्सना हुन सक्छन्, तर अन्तःस्करणको चेतनाको आलोकले अरुहरुमा ज्ञान र गौरवको सञ्चार गर्नेहरु कहिल्यै विस्मृतिमा पर्दैनन् । त्यही मध्येका हुन् राजा पृथ्वीनारायण शाह, जसले गोर्खाको एउटा सानो भूगोललाई विस्तार गरी आजको नेपाल निर्माण गर्न अतुलनीय योगदान दिएका छन् ।

राजा पृथ्वीनारायण शाहलाई उनको योगदानको स्मरण र सम्मान गर्दै वडामहाराजधिराजको सम्मान दिइएको हो । तत्कालीन चीन र बेलायतको विशाल साम्राज्य निर्माणको अभियानलाई बीचमै रोक्न सक्ने उनको बहादुरी, आँट र दूरदर्शिता अनि उनको अदम्य उत्साहलाई आत्मसात गरी जीवन बलिदान गर्न पनि तत्पर हाम्रा पुर्खाको वीरताको अवमूल्यनले कृतघ्नता मात्र कमाइन्छ । झापाका हल्दिबारी र कचनकवल गाउँपालिकाले इतिहासको त्यही दिन, तिनै पात्रको योगदानलाई सम्मान गरेर कृतघ्न हुनबाट जोगाएर देशप्रेमको भावना सञ्चार गराएका छन् । गणतन्त्र नेपालको आरम्भ भएसँगै इतिहास बिर्सिएका शासकहरुको संकीर्णताले यो दिन राष्ट्रिय पर्वबाट हटाइएको छ । यद्यपि नेपाली सेनाले यो दिनको ऐतिहासिक महत्वलाई अनुभूत गरेर एकता दिवस मनाइरहेको छ ।

स–साना भूगोलमा छरिएर रहेका राज्यहरुलाई एकीकरण गरी नेपाल नबनाइ दिएको भए हामी न नेपाली हुन्थ्यौं न त नेपाली हुनुमा गर्व नै गर्न पाउँथ्यौं । त्यही दिन र पुरुषको सम्मान यो वर्ष पनि नेपाली सेनाले तत्कालीन सेनाको पाँच एकाइको प्रतिनिधित्व हुने गरी निशान झन्डा र ज्योतिका साथ ऐतिहासिक गोरखा दरबारबाट पदयात्रा गर्दै काठमाडौंस्थित जंगी अड्डामा पुगेर समापन गरेको छ । तत्कालीन सैनिक पोशाकमा रहेका नेपाली सेनाले पृथ्वीनारायण शाहले विजय अभियानका लागि प्रयोग गरेको पदमार्गको प्रयोग गरी गोरखा, धादिङ, नुवाकोट हुँदै काठमाडौं आइपुगेको हो । यसले पनि इतिहासको संरक्षण गर्न, इतिहासप्रति गर्व बोध गर्न र पुर्खाहरुको सम्मान गर्न प्रेरित गर्न सक्छ । गणतन्त्रको आरम्भमा राजसंस्थाप्रति वितृष्णा फैलाइए पनि अन्ततः इतिहासप्रति सम्मान गर्नुपर्छ भन्ने विचार बलियो हुँदैछ अहिले । राजा पृथ्वीनारायण शाह तत्कालीन आवश्यकता थिए, जसको अदम्य साहस र दूरदृष्टिले हाम्रो पहिचान स्थापित भएको छ । उनका भनाइहरु आज पनि कुटनीति, अर्थनीति, भ्रष्टाचारमुक्त, सुशासन र प्रजातान्त्रिक व्यवस्थाका लागि मार्ग निर्देशक सरह छन्, मान्नुपर्छ । त्यसैले उनको नाम लिँदा गर्वले छाती चौडा हुनुपर्छ, शीर उठ्नुपर्छ । आधुनिक नेपालका निर्माताको श्रेय उनैलाई छ, त्यसैले यो ऐतिहासिक दिन राष्ट्रकै पर्व बनिनु पर्दछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here