लागूऔषध कारोबारी र ट्राफिक नियम उल्लङ्घन गर्नेमाथि कडाइ गर्छौं : एसपी भट्टराई

0
982

भद्रपुर, जिल्ला प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईले जिल्लामा बढ्दो लागु औषध कारोबार र ट्राफिक नियम उल्लङ्घन गर्नेमाथि कडाइ गरिने बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान केन्द्रीय कार्यालय काठमाडौँबाट भर्खरै सरुवा भएर झापा आएका एसपी भट्टराईले शुक्रवार झापाली पत्रकारहरूसँग गरेको संक्षिप्त परिचयात्मक कार्यक्रममा यस्तो बताएका हुन् ।

२०६२ सालमा प्रहरी निरीक्षक भएर इलाका प्रहरी कार्यालय काँकडभिट्टामा जिम्मेवारी सम्हालिसकेका छन् । १५ वर्षपछि पुनः जिल्लाकै नेतृत्व सम्हाल्ने मौका मिलेको बताउँदै एसपी भट्टराईले जिल्लामा लागु औषध र दुर्व्यसनीको सङ्ख्यामा बढी रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

‘१५ वर्षअघि सीमा नाका बस्दा जस्तो अवस्था थियो, अहिले पनि त्यस्तै अवस्था छ,’ एसपी भट्टराईले भने, ‘भारतको पानीटंकी बजारमा सहज रुपमा लागु औषध खरिद गर्न पाउँदा त्यस्तो समस्या ज्युकात्यु नै छ ।’

‘लागुऔषधको कुलतमा फसेका युवायुवतीलाई त्यसबाट मुक्त बनाउन र अवैध कारोबार रोक्न भारतीय काउन्टर पार्टसहरुसँग समन्वय र सहकार्य गरेर आफ्नो कार्यकालमा अभियान नै थाल्छौँ, उनले भने ।’

साथै सीमा नाका बन्द रहेको अवस्थामा भारतीय नम्बर प्लेटका सवारीसाधन खुलेआम सञ्चालनमा आइरहेकोले त्यसलाई रोक्न सम्बन्धित निकायसँग सहकार्य गरेर अघि बढ्ने उनको भनाई छ । सीमा नाकामा हुने अवैध चोरी निकासी तथा सवारी दुर्घटना न्यूनीकरण, मानव बेचबिखन रोकथाम, सामाजिक अपराध नियन्त्रण, सामुदायिक प्रहरीमार्फतको साझेदारी कार्यक्रमलाई फोकस गरेर कार्यान्वयन ल्याउने उनले प्रतिबद्धता जनाए ।

प्रहरीसँग जनताको व्यवहार र आचरणलाई शुद्धीकरण गर्दै लैजाने बताउँदै उनले भने, ‘प्रहरीले घटेका घटनालाई तुरुन्त रेसफोन्स गर्नेछ, र जनतालाई शान्ति सुरक्षाको अनुभूति दिलाउने छ ।’ पत्रकार तथा सञ्चारमाध्यमलाई प्रदान गरिने सूचना एकद्धार प्रणालीबाट दिने र त्यसमा कसैलाई काखा र पाखा नगरिने उनको भनाई छ ।

यता प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले पत्रकारले हतारमा समाचार लेख्नु भन्दा पनि प्रहरीबाट घटनाको सत्य तथ्य बुझेर आधिकारिक सूचना जनतामाझ सम्प्रेषण गर्न आग्रह गरेका छन् । पत्रकारलाई सूचना नदिँदा पनि आफ्नो नाम उल्लेख गरेर समाचार प्रकाशन गर्दा आफूलाई समस्यामा पार्न काम गरिएकोले त्यसो नगरिदिन उनले सबै पत्रकारलाई अनुरोध गरे ।

प्रहरीले दैनिक घटना विवरण इमेलबाट सबै पत्रकार र सञ्चारमाध्यमलाई एकैसाथ उपलब्ध गराउँदै आएकोले न बुझेका कुरा आफूलाई फोन गरेर सोध्न उनले आग्रह समेत गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here