प्रदेश एकका मुख्यमन्त्री शेरधन राईको विवाह बागमती प्रदेशमा

0
981

काठमाडौं ।

प्रदेश एकका मुख्यमन्त्री शेरधन राई बागमती प्रदेशमा बेहुला बनेका छन् । करिब ५ दशकको उमेरमा बेहुला बनेका मुख्यमन्त्री राईले २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग लगनगाँठो कसेका हुन् । उनको वैवाहिक समारोहपछि आइतबार राजधानीको एक पार्टी प्यालेसमा बिशेष कार्यक्रम रहेको छ ।

विवाहपछि आइतबारै बेलुकी रिसेप्सन आयोजना गरिँदै छ । रिसेप्सनमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायत भीआइपीहरुलाई निम्ता गरिएको छ ।

कोरोना महामरीका कारण मुख्यमन्त्रीको विवाहमा थोरै संख्यामा जन्ती लगिएको छ । दुई पक्षका गरी करिब ३५-४० जना मात्रै विवाहमा सहभागी छन् । विवाहको अवसरमा मिडियालाई प्रवेश दिइएको छैन ।

आफ्नो समुदायको परम्परागत पोशाकमा सजिएका राई करिब ११ बजेतिर समारोहस्थलमा प्रवेश गरेका थिए । पर्यटनमन्त्री भानुभक्त ढकाल लगायत नेकपाका केही नेताहरु उनीसँग देखिएका थिए ।

‘मिस मंगोल नेपाल–२०१८’की विजेता ज्याङ्मु र शेरधनबीचको उमेर अन्तर २८ बर्ष छ । शेरधन-ज्याङ्मु पहिलोपटक देखाभेट पनि मिस मंगोलकै कार्यक्रममा भएको र चिनजान भएको हो । पछि दोस्रो भेटमा मात्र नजिकबाट बोल्ने अवसर पाएका थिए । त्यसपछि सम्बन्ध झाँगिदै गएको र प्रेममा परिणत भएको हो ।

केही म्यूजिक भिडियोमा पनि अभिनय गरेकी ज्याङ्मु काठमाडौंमै बस्छिन । शेरधन काठमाडौं आउँदा दुईको भेट बाक्लै हुने गरेको थियो । सोहि कारण एक नम्बर प्रदेशका मुख्यमन्त्री रहेका राईले आफ्नो विवाह देशको राजधानी मै गरेको बताइन्छ । काठमाडौंमा विवाहपछि विराटनगरमा राईले प्रति भोज आयोजना गर्नेछन् ।-हाम्रो कुरा डटकमबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here