प्रचण्डका अमर्यादित शब्दहरु

११ माघ २०७७, आईतवार मा प्रकाशित

 

नेकपा अध्यक्ष प्रचण्डको एउटा अचम्मको बानी छ । भाषण गर्दागर्दै उत्तेजित हुने र आफैँलाई नियन्त्रण गर्न नसक्ने प्रचण्डको पहिलेदेखिकै बानी हो ।
भीडले अलिक ‘हुटिङ्’ गरेर हौसाइदिने बित्तिकै प्रचण्ड हौसिइहाल्छन् । कक्षा–१० सम्म घनश्याम, एसएलसी दिनेबेलादेखि पुष्पकमल र राजनीतिमा लागेपछि प्रचण्ड बनेका यिनलाई भावुक हुन, गला अवरुद्ध पार्न र आँशु खसाल्न कतिबेर नै लाग्दैन । थाहा छैन यो उनको अभिनय हो कि वास्तविक स्वभाव !

यतिबेला अलग–अलग भएसँगै केपी ओलीविरुद्ध विषवमन गरिरहेका प्रचण्ड जतिबेला पनि जेसुकै बोल्दैछन् । कहिले उनको टाउको चिलाउँछ, कहिले मांशाहारी आन्दोलन गर्न मन लाग्छ । शुक्रबारको सभामा पनि त्यस्तै भयो ।
मञ्चमै बिच्किएका नारायणकाजी श्रेष्ठलाई दूधे बालकलाई झैँ फकाइफुल्याई गर्नुपरेर हैरान भएका प्रचण्ड केहीबेर शानदार सोफामा आराम गरे । र, भाषण गर्न गए । ‘प्रचण्ड–माधव समूह’ले आयोजना गरेको विरोधसभामा अरुबेलाभन्दा निकै नै बढी सहभागीहरु थिए । हजारौँ सहभागी देख्नासाथ प्रचण्ड हौसिए । उनले यस भेलालाई धेरैपटक ‘जनसागर’ भने ।
वि.सं. २०६२÷०६३ को जनआन्दोलनपछि पहिलोपटक आफूले यत्रो संख्यामा ‘जनसागर’ देखेको उनको जिकिर थियो । गर्दन हल्लाउँदै, दुबै हातका बुढी औँला घुमाउँदै उनी भन्दै थिए, ‘मैले झण्डै १२÷१५ वर्षपछि यत्रो जनसागर देखेँ ।’ यही ‘जनसागर’ देखेपछि फुरुङ्ग परेका प्रचण्ड भाषणका दुई स्थानमा नमिठो तरिकाले चिप्लिए । दुबै विवादित वाक्यहरु उनले राजतन्त्र र पूर्व राजाको अपमान हुनेगरी बोले ।
भाषण सुरु गरेको केही मिनेटमै प्रचण्डले ‘राजा–महाराजाहरुका श्रीपेचलाई झिकेर लात्तले हानेको’ भने । श्रीपेच भनेको राजाले शीरमा लगाएको वस्तु हो । शीरमा पहिरिने कुनै पनि चिजलाई लात्तले हान्ने कुरा कल्पनासम्म गर्न सकिँदैन । हो, पूर्व राजा ज्ञानेन्द्र अहिले सर्वसाधारण भएका छन् । तर, पुस्तौँ–पुस्तासम्म राजाहरुले प्रयोग गरेको श्रीपेचको बेग्लै महत्व र गरिमा छ । भीडको होहल्लाले हौसिँदा–हौसिँदै प्रचण्डले ‘श्रीपेचलाई झिकेर लात्तले हानेको’ भन्नु अत्यन्तै अपमानजनक कुरा हो ।
प्रचण्ड त्यतिमै मात्र सीमित भएनन् । भाषणका अधिकांश समय उनी प्रधानमन्त्री केपी ओलीविरुद्ध खनिए । तर, फेरि प्रसङ्ग पूर्व राजाकै ल्याए । प्रचण्डले पूर्व राजा ज्ञानेन्द्रको नाम असाध्यै अपमानजनक ढंगले उच्चारण गरे । हौसिँदै, काँध हल्लाउँदै उनले पूर्व राजा ज्ञानेन्द्रलाई ‘ज्ञाने’ भन्ने हिम्मत गरे ।

ओलीले संविधान र गणतन्त्र ध्वस्त पारे भन्दाभन्दै उनले एक्कासी पूर्व राजा ज्ञानेन्द्रको नाम बिगार्न भ्याइहाले । ‘ओलीले संविधान ध्वस्त पारे, गणतन्त्र ध्वस्त पारे, अहिले उनको पछि लाग्ने देख्नुभएको छ नि हनुमान तपाईंहरुले ? हिजो ज्ञानेका जो–जो मान्छे छन्, तिनीहरु नै बौरिएका छन् अहिले ।’ बिना कुनै तथ्य र प्रमाण यसरी प्रचण्ले होस् गुमाए ।
मुलुकका कोही पनि नेताले सार्वजनिक रुपमा बोल्दा कसैलाई पनि यसरी नाम बिगारेर बोलेको सुनिएको छैन । तर, प्रचण्डले १२ वर्षअघिका यस देशका अभिभावक जो अहिले आफ्नो घरमा सामान्य जीवन बिताइरहेका छन्, उनको ठूलो अपमान गरे ।


स्मरण रहोस्, यिनै प्रचण्ड हुन् जसले एक महिनायता थुप्रै पटक ‘ओलीले नेपालको संविधानमाथि बलात्कार गरे’ भनेका छन् । प्रश्न उठ्छ, प्रचण्डले यी र यस्ता शब्दहरु कसरी उच्चारण गर्ने हिम्मत गर्दैछन् ? ‘बलात्कार’ भनेको कुनै स्त्रीलाई उसको इच्छाविरुद्ध जबर्जस्तीसँग सम्भोग गर्ने काम हो । नेपालको मूल कानुन मानिएको संविधानबारे प्रचण्डले कसरी यति घृणित् कुरा बोल्न सके ? यसबारे महिला जमात किन बोल्दैन ? किन मौन छन् ?
प्रचण्डले संविधानमाथि ‘बलात्कार’ शब्द प्रयोग गरिरहँदा पनि किन कोही नागरिक चुइँक्क बोल्दैन ? किन त्यस शब्दको विरोध हुँदैन ? धन्न, शुक्रबारको भाषणमा प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रलाई ‘ज्ञाने’ भनेको चाहिँ राप्रपा अध्यक्ष कमल थापाले भने सुन्न भ्याएछन् । वा ढिलोगरी अरु कसैले सुनाइदिएको पनि हुनसक्छ ।
भाषणको २४ घण्टापछि शनिबार कमल थापाको ट्वीट बोल्यो, ‘दुईपटक प्रधानमन्त्री भइसकेका प्रचण्डले हिजोको सभामा पूर्व राष्ट्रप्रमुख, लाखौँ जनताको आस्था र विश्वासको धरोहर र एक सम्मानित नागरिक राजा ज्ञानेन्द्रको नामलाई जुन अमर्यादित रूपमा प्रस्तुत गर्नुभयो, त्यसले प्रचण्डको हतास र विचलित मानसिकतालाई प्रदर्शित गरेको छ । प्रचण्डको निचतापूर्ण व्यवहारको निन्दा गर्दछु ।’
मुलुकमा राजतन्त्र पुनःस्थापित हुनुपर्छ भन्दै राजतन्त्रको मुद्दा बोकेर हिँड्ने कमल थापाले यति मात्र सुने त ? प्रचण्डले खुलेआम रुपमा ‘राजा–महाराजाहरुका श्रीपेचलाई झिकेर लात्तले हानेको’ भनिरहँदा किन उनी बोल्न सक्दैनन् ? नेपाल सरकारले नै सम्मान गरेर संग्रहालयमा राखेको श्रीपेचलाई लात्तले हानेको भनिरहँदा सरकार किन मौन बस्छ ? आन्दोलनका नाममा हौसिएर जे पायो त्यही बोल्दै हिँड्न प्रचण्डलाई कदापी छुट् छैन । कमरेड प्रचण्ड ! तिमीमा अलिकति पनि इमान छ भने तुरुन्त माफी माग । तिम्रा स्वार्थका लागि नेपाली जनता दिनहुँ अपमानित शब्द सुन्दै तिम्रो पछि लाग्दैनन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here