विश्वासयोग्य वातावरण बनाऊ

0
1337

भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको कोभिशिल्ड खोप यही १४ गतेदेखि लगाइने भएको छ । भारतमा निर्मित सो खोप पहिलो चरणमा पाँच लाखलाई दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाविरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेकाहरुलाई दिइने पहिलो चरणको खोप सातवटै प्रदेशमा एकैसाथ लगाउन शुरु गरिने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । स्वास्थ्य सेवा विभागको टेकूस्थित केन्द्रीय चिस्यान केन्द्रमा राखिएको खोप प्रदेश हुँदै जिल्ला अस्पताल र त्यहाँबाट खोप अस्पतालमा वितरण गरिने बताइएको छ । देशभर तीन सय खोप अस्पतालबाट सुरक्षा, स्वास्थ्य, सरसफाईकर्मी, एम्बुलेन्स र शव वाहन चालक र शवको व्यवस्थापन गर्नेहरुलाई पहिलोचरणमा खोप दिइने प्रवक्ता डा. गौतमले बताएका छन् ।

भारतमा परीक्षण तथा प्रयोग गरिएको कोभिशिल्ड नेपालमा पनि प्रयोग हुन थालेको सन्दर्भले थोरै आशा भने जगाएको छ । तर, खोपप्रति विश्वस्त हुने आधार चाहिँ छैन । किनकि भारतमै खोप लगाइएका मध्ये पाँच सय जनाभन्दा बढीमा खोपको नराम्रो असर देखिएको छ । त्यसमाथि कोरोनाको प्रारम्भकै दिनदेखि सरकारका गतिविधिहरु विवादित रहेका छन् । त्यसैले पनि निःशुल्क पाइने नाममा जीवनलाई जोखिममा पार्ने गरी खोप लगाउने उत्साह नदेखिन सक्छ । सर्वसाधारण र कोरोनाविरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेकाभन्दा सरकार प्रमुख, राष्ट्र प्रमुख, संवैधानिक निकायका प्रमुखहरु, मन्त्री लगायत उच्च पदस्थ व्यक्तिहरुबाट खोप अभियान आरम्भ गरिए यसप्रति विश्वास जगाउन सकिन्छ ।

गएको माघ ८ गते भारत सरकारले अनुदानमा दिएको खोप नेपाल ल्याइएको थियो । माइनस दुई डिग्री सेल्सियसदेखि माइनस आठ डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने कोभिशिल्ड खोप प्रदेश र जिल्ला अस्पतालहरुमा कसरी राखिएला ? त्यसको प्रभावकारिता कति सुरक्षित होला ? यो बेग्लै सवाल हो । पहिलो चरणमा ल्याइएको खोपको मात्रा दुई पटक दिएर पूरा हुने भएकाले दोस्रो पटक पनि पहिलो पटक लगाउनेलाई नै खोप दिनुपर्ने हुन्छ । सरकारले भने जस्तै अग्रपंक्तिमा खटिनेहरुमध्ये देशभरका सञ्चारकर्मीहरु पहिलो अभियानबाट छुट्ने छन् भने दोस्रो चरणको खोपका बारेमा अझै निधो भइसकेको छैन । अक्सफोर्ड विश्वविद्यालय र औषधि उत्पादन कम्पनी अस्टे«जेनेकासँगको सहकार्यमा भारतको सेरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरेको कोभिशिल्ड नामक खोप नेपालमा लगाइने पहिलो खोप हुने भएको छ । आम मानिसलाई यसको प्रभावका बारेमा विश्वस्त बनाउँदै खोप लिन मानसिकरुपमै तयार बनाउन सम्बद्ध मन्त्रालय, निकाय, सरकार र सरकार प्रमुखले उदाहरण बन्नु पर्दछ । यसले मात्र खोपको प्रभावकारिता बढ्छ र आममानिसमा पनि उत्साह जगाउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here