विकास, समृद्धि र सुखको सपना

१२ माघ २०७७, सोमबार मा प्रकाशित
  • 524
  •  
  •  
  •  
  •  
  •  
    524
    Shares

‘समृद्ध नेपाल सुखी नेपाली’को नारा अहिले नेपाल र नेपालीको मुख्य भावधारा समेटिएको नारा भएको छ । हामी नेपाली समृद्धिको सपना देखिरहेका छौं । नेपालमा पछिल्लो समय विकास र समृद्धिको कुरा आवश्यकताभन्दा बढी नै भइरहेको महसुस हुन्छ । यो सबै पक्ष, दल र व्यक्तिको साझा मुद्दा बनिरहेको छ । वास्तवमा कुनै पनि वस्तु वा व्यक्तिको आकार, चरित्र र विशेषतामा आउने परिवर्तन नै विकास हो । भौतिक पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, सांस्कृतिक विकास, भाषिक विकास, बौद्धिक विकास, चिन्तन विकास अनि मनोवैज्ञानिक विकास जस्ता समग्र विकासका विविध पक्षहरू अन्तरनिहित हुन्छन् । यसैको सपाट र सग्लो रूप नै विकास हो । मानिसको ओठमा हृदयतः मुस्कान छछल्कियो भने सुखको अनुभूतिको शुरुवात हुन्छ । भनिन्छ सुख भनेको सुगन्ध हो, जुन आफू सुवासित भएर मात्र अरुलाई सुगन्ध छर्न सकिन्छ ।

हामी श्रीसम्पति जोड्ने, भौतिक वस्तु संग्रह गर्ने लगायतका काममा दिलचित्त दिएर लागेका छौं । हाम्रा कामको केन्द्रीय उद्देश्य भौतिकवादी सोचको नजिक छ । पहिलो कुरा त मानिसले आधारभूत आवश्यकता पुरा गर्न नै क्रियाशील हुने हो, यसमा दुईमत छैन । हामी नेपालीहरु समृद्धि चाहमा अमेरिका जान लालायित छौं, तर बेलायती र अमेरिकी सुख र शान्तिको खोजीमा नेपाल जस्तो प्राकृतिक छटाले भरिपूर्ण मुलुकमा आइरहेका छन् । वास्तवमा समृद्धि र सुख सबैको खोजीको विषय हो । समृद्धिले मात्र सुख प्राप्ति सम्भव छैन । भारतका पूर्वराष्टूपति तथा प्रसिद्ध वैज्ञानिक डा. एपीजे अब्दुल कलामले भनेका छन्– ‘सपना त्यो होइन, जो तपाईं निदाएको बेला देख्नुहुन्छ, सपना त ती हुन्, जसले तपाईंलाई निदाउन दिँदैनन् ।’

हामीकहाँ पनि राजनीतिकर्मी, योजनाविद्, अर्थशास्त्री, अभियन्ता, बौद्धिक व्यक्तित्व र सर्वसाधारण जनता समृद्धिको सपना देख्न थालेका छन् । हुन पनि स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचन सम्पन्न भई संविधान कार्यान्वयन, संक्रमणकालको अन्त्य, स्थायित्व, दीर्घशान्तिको रूपरेखा करिब–करिब तयार भइसकेपछि समृद्धिको लक्ष्यमा पुग्न सबै आतुर छन् । वैज्ञानिक योजना, विधि, क्षेत्र, शक्ति, पुँजी, साधन र स्रोतविना समृद्धि सम्भव छैन । हामीसँगै समृद्धिको यात्रा तय गरेका विश्वका थुप्रै देशले विकासको फड्को मारी सके । हामी भने प्रत्येक १०÷१० वर्षमा राजनीतिक परिवर्तनका निम्ति संघर्ष गर्नुपर्ने बाध्यतामा फस्यौं र फँसिरहेका छौं । राजनीतिक उपलब्धि प्राप्त भएका छन् । तर, व्यवस्था परिवर्तनको निमित्त लड्नुपर्ने कथा सकिएको छैन । तसर्थ, नीति निर्माणमा सबै जातजाति, वर्ग, लिंग, क्षेत्र, समुदाय, धर्मको सहभागिता गराई सहमति निर्माण गर्न सकिन्छ । ठूलो युवा शक्ति रोजगारको खोजीमा विदेशिन पुगेका छन् । त्यो युवा श्रम शक्तिलाई स्वदेशमा लगानी गर्ने वातावरण नबनेसम्म समृद्धि असम्भव छ । बालबालिका, फरक क्षमता भएका, पाका नागरिक, महिलाको मात्रै देश बन्ने खतराबाट जोगाउन जरुरी छ । योग्यता र क्षमताका आधारमा मात्रै अवसर पाउने वातावरण तय पार्नुपर्छ । नेता, मन्त्री, पहुँचवालाको नातागोता, कथित उपल्ला जात, वर्ग र सम्पन्न क्षेत्रको व्यक्तिले मात्रै अवसर प्राप्त गर्ने तर सक्षम निमुखाले अवसर नै नपाउने अवस्था अन्त्य गर्न साहस चाहिन्छ । समृद्धि भनेको विशाल भवन, चौडा सडक, उद्योग, व्यापार, व्यवसायको वृद्धि, सवारी साधनको पर्याप्तता, सुकिला–मुकिला र धनी मानिसको बढोत्तरी, इत्यादि मात्रै हुन् भन्ने आम धारणा छ । समृद्धिको सपना सबैको मानसपटलमा छ, तर समृद्धि कसरी प्राप्त हुन सक्छ भन्नेमा मतैक्यता छैन ।

संसारमा पनि विकास र समृद्धिका आ–आफ्नै नमुनाहरु छन् । सुरुङमार्ग, द्रुतमार्ग, रेलमार्ग, जलमार्ग, उद्योग, कलकारखाना, व्यापार, उत्पादन, विद्युतगृह, अग्ला गगनचुम्बी भवन निर्माण आदिलाई समृद्धि मानिन्छ, तर यो परिभाषा एकांगी र अपुरो परिभाषा हो । यी सबै विकासका पूर्वाधार हुन् । यी सबैले मानवहित र मानवीय सुखका लागि काम गर्दछन् । यी सबै विकासका पूर्वाधारमा टेकेर जनताको दैनिक जीवनस्तर, जनजीविका, रहनसहन, शिक्षा, स्वास्थ्य, पौष्टिक आहार, वास, सुरक्षा, न्याय, समानता, सम्मान जस्ता सवालमा परिवर्तन ल्याउन जरुरी छ । तर, यसका लागि महाशत्रुका रुपमा भ्रष्टाचार सुरसाको मुख झैं समृद्धि र सुखको सपनालाई निल्ने गरी हामीसामु उभिएको छ ।

देशमा राजनीतिक पहुँच र संरक्षणमा नीतिगत भ्रष्टाचारको महामारी भने यथावत् छ । जनताको काम सरल र सहज ढंगबाट हुन कठिन हुँदै गएको छ । पैसाको खोलो बगाएर चुनाव जित्ने र सांसद तथा मन्त्री पदमा रहेर परियोजना, ठेक्का, पहुँचको बलबाट खर्च उठाउने प्रवृत्ति रहेसम्म समृद्धि सपनामा मात्रै सीमित रहने निश्चित छ । भ्रष्टाचारको प्रमुख कारकतत्व हो, महँगो चुनावी प्रतिस्पर्धा नै हो । पैसाको खोलो बगाएर जित्नेले सांसद या मन्त्री पदमा रहँदा त्यो खर्च उठाउन भ्रष्टाचार गर्ने गर्दछ । समृद्धिका लागि अर्को समस्या भनेको धनी र गरीबबीचको खाडल बढ्दै जानु पनि हो । वर्गीय विभाजनमा पनि क्षेत्र र प्रदेशबीचको भिन्नता पनि उत्तिकै डरलाग्दो छ । गाउँ, दुर्गम बस्ती, कर्णाली लगायतका क्षेत्रमा भने चामल, सिटामोल आदिको अभाव, पिउने पानी लिन एकदिनको बाटो हिँड्नुपर्ने विडम्बना छ भने वर्गीय विभेद, भूमिहीनको समस्या, छूत–अछूतको समस्या, महिला माथि हुने दाइजो, बोक्सीको आरोप, विधवा माथि गरिने अमानवीय व्यवहार अहिले पनि यथावत् छन् । नातावाद, कृपावाद, परिवारवाद, दलीयकरण लगायतले भ्रष्टाचारलाई मलजल गर्ने र मुलुकलाई लोकतन्त्रको बाटोबाट विमुख गर्ने प्रपञ्चलाई सघाउ पु¥याउँछन् ।

सुख, शान्ति, वैभव र एकरूपता नै समृद्धि हो । विकास र समृद्धि समानुपातिक हुनुपर्दछ । विकास एउटा विन्दुमा पुगेपछि अभिव्यक्त हुने उच्चतम् वा उन्नत सामाजिक रूप नै समृद्धि हो । यसमा समानता र न्यायमा आधारित सुन्दरता, शान्ति, एकरूपता र वैभव अन्तरनिहित हुन्छ । भौतिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक विकास प्रक्रियाको उन्नत वा उच्चतम् अभिव्यक्ति वा अवस्था नै समृद्धि हो । पूर्वाधार विकासको अवधारणाले मात्र सर्वाङ्गीण विकासको प्रतिनिधित्व गर्दैन । पछिल्लो समय विकासलाई केवल ठूला–ठूला भौतिक संरचना विकासमा सीमित गरिँदैछ, जुन विकास सम्बन्धी गलत अवधारणा हो । यो विकासप्रतिको अल्प दृष्टिकोण र खोटो ब्याख्या हो ।

ठूलो भौतिक संरचना निर्माणसँग मात्र समृद्धि देख्ने सीमित र अपूर्ण सोचको परिवर्तन आवश्यक छ । आवश्यक छ हाम्रो विकासे चिन्तन बदल्न । विकास जनताका लागि हुनुपर्छ । वस्तुवादी र व्यावहारिक विकास अवधारणा अङ्गीकार गर्न जरुरी छ । विदेशको नक्कल गरेर अव्यावहारिक ठूला संरचना निर्माणमा जानु भनेको आफ्नो अर्थराजनीतिक सम्बन्ध सुहाउँदो उत्पादन प्रणालीलाई सबल र सशक्त बनाउनेतर्फ नलाग्नु हो । विकास भनेको क्रमिक रूपमा उन्नत हुँदै जाने प्रक्रिया हो । भौतिक संरचना विकासले मात्रै समाजको सर्वाङ्गीण विकास सम्भव हुँदैन भन्ने बुझ्न आवश्यक छ । राजनीतिक, आर्थिक, सामाजिक, प्राविधिक, सांस्कृतिक, बौद्धिक, मनोवैज्ञानिक विकासमा पनि समानुपातिक रूपमा ध्यान दिनुपर्छ । विकास र समृद्धि सुखका लागि हो, तसर्थ राज्यले न्यायपूर्ण पहुँच, वितरण र अवसरमा ध्यान दिनुपर्र्छ । उपभोक्तावादी संस्कृतिले अवस्तुवादी र सतही विकासमा जोड दिन्छ । गरीब जनताको छोराछोरीले निःशुल्क पढ्न पाउने कुरा, मुलुकका माग्नेहरुले आश्रय पाएको कुरा, अनाथ र असहायहरुले खान र बस्न पाउने कुरा विकास होइन जस्तो लाग्छ । नेपालमा पछिल्लो समय भौतिक संरचना निर्माणलाई मात्र विकास मान्ने प्रवृत्ति हावी भएकाले यस्तो लागेको हो ।

विकासलाई मानव समुदायको समग्र विकाससँग एकाकार गरेमा मात्र यस्तो एकलकाँटे विकास अवधारणा बदल्न सकिन्छ । विकासले समृद्धि र समृद्धिले सुखतर्फ दिशानिर्देश गर्नुपर्छ । त्यसैले विकास भनेको भौतिक संरचना निर्माण मात्र होइन । यो खास समाजभित्र रहेको समुदायहरूको समानुपातिक विकाससँग जोडिएको अर्थराजनीतिक सवाल हो । समाजको समानुपातिक र सर्वाङ्गीण विकासबिना सबै वर्ग, जाति, क्षेत्र र लिङ्गको समग्र र समान विकास सम्भव हुँदैन । न्याय र समानताबिना साँचो विकास सम्भव छैन । विकास र समृद्धिले मात्र सुखको ग्यारेन्टी गर्दैन । शान्ति, सद्भाव र एकरूपतासहितको समृद्धिले मात्र साँचो सुखको ढोका खोल्दछ । विकास र समृद्धिले सुखका लागि ढोका खोल्दछ । जनतालाई समेटेर गरिएको सर्वाङ्गीण विकासले मात्र साँचो अर्थमा समृद्धि र सुख ल्याउन सक्दछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here