कृषकका खेत–खेतमै धारा

0
782

झापा।

झापाको कूल खेतीयोग्य जमिनमध्ये ५३ प्रतिशतमा सिञ्चाई सुविधा उपलब्ध छ । बाँकी भू–भागमा सिञ्चाई गर्न अझैं पनि आकाशे पानीकै भरपर्ने पर्ने वा बैकल्पिक विधि (मोटर÷पम्पसेटको प्रयोग गर्दै पानी निकालेर प्रयोग) बाट सिञ्चाई गर्नुपर्ने बाध्यतामा छन्– झापावासी ।

आकाशे पानीको भर पर्दै वर्षायाममा जसोतसो खेती गरे पनि हिउँदको समयमा खेती गर्न हम्मे–हम्मे पर्छ– दक्षिणी झापाका कतिपय कृषकलाई । सिञ्चाईको अभावका कारण चाहेर पनि कतिपय कृषकले हिउँदमा खेत बाँझै राख्नु परेको छ ।

ग्रामीण क्षेत्रमा अहिले पनि विद्युत् सेवाको उपलब्धता नहुनुले पनि कृषकलाई समस्या थपेको हो । सिञ्चाईका लागि मोटर राख्न विद्युत् नहुँदा पम्मसेटको प्रयोग गर्नु पर्ने बाध्यता रहेकै छ । तर, पम्पसेटका लागि आवश्यक पर्ने डिजेलको भाउ वर्षेनि महङ्गिँदै गएपछि आम्दानी भन्दा खर्च बढी हुने भन्दै कृषकले हिउँदे खेती गर्न छाडेका छन् ।

यसैबीच जलश्रोत तथा सिञ्चाई विकास डिभिजन कार्यालय झापाले बाह्रदशी गाउँपालिकाका कृषकलाई तरकारी खेतीमा प्रोत्साहन गर्दै आत्मनिर्भर बन्न प्रेरित गरेको छ । गाउँपालिकाको वडा नम्वर १स्थित खयरवारीमा झण्डै २० हेक्टर क्षेत्रफलमा सिञ्चाई सुविधा पु¥याउने उद्देश्यले सो कार्यालयले ग्रामीण सिञ्चाई योजना सञ्चालनमा ल्याउन लागेको हो ।
एक करोड २० लाख रुपैयाँको लागतमा नयाँ प्रविधिबाट सोलार सिञ्चाई योजना सञ्चालनमा ल्याउन लागिएको जलश्रोत तथा सिञ्चाई विकास डिभिजन कार्यालय झापाका प्रमुख कृष्णप्रसाद राजवंशीले जानकारी दिए । उनले भने– ‘यो योजना सोलार प्रविधिबाट सञ्चालन हुन्छ, यसमा खानेपानीको ट्याङ्की जस्तै ओभरहेड ट्याङ्की निर्माण गर्दै कृषकका खेत खेतमा सोझै पाइपको माध्यमबाट पानी पु¥याइन्छ ।’

यो योजना सञ्चालनमा आएपछि परम्परागत सिञ्चाई प्रणालीमा जस्तो कुलो खनिरहनु पर्दैन– जलश्रोत तथा सिञ्चाई विकास डिभिजन कार्यालय झापाका प्रमुख राजवंशीले भने– ‘अब घरमा खानेपानीको धारा जडान गरेजस्तै कृषकको खेतखेतमा धारा जडान गरिन्छ, जसबाट हिँउदको समयमा कृषकलाई खेती गर्न सहज हुन्छ ।’

गाउँपालिकामा नै पहिलोपटक नयाँ प्रविधिको सिञ्चाई योजना सञ्चालन आउने भएपछि स्थानीयवासी हर्षित भएका छन् । भागुडुब्बा सोलार सिञ्चाई उपभोक्ता समिति गठन गरेर काम अघि बढाइएको बाह्रदशी गाउँपालिका वडा नम्वर १ का वडाध्यक्ष शम्भूसिंह राजवंशीले बताए । अहिले मोटर बोरिङ गाड्ने काम भइरहेको छ– अध्यक्ष राजवंशीले भने– ‘सोलारको माध्यमबाट ६÷८ इञ्चको पाइपबाट पानी निकालेर ओभरहेड ट्याङ्कीमा जम्मा गरिन्छ, सोही पानी ४÷५ इञ्चको पाइपबाट कृषकका खेतमा सोझै पाइप बिच्छ्याएर पु¥याइन्छ ।’

खेतमा नै धारा राखेपछि कृषकले अब आफूलाई पानी चाहिएको समयमा सदुपयोग गर्न सक्छन्– राजवंशीले भने– ‘वोरिङ गाडी सकेपछि कृषकका खेत–खेतमा धारा जडानको काम शुरु हुन्छ ।’ ४० हजार लिटर पानी अटाउन सक्ने ओभरहेड ट्याङ्की निर्माण गर्दै कृषकलाई पानी वितरणको तयारी हुँदैछ– वडाध्यक्ष राजवंशीले भने– सिञ्चाईका लागि खेत–खेतमै धारा जडान हुने भएपछि यस क्षेत्रका कृषक धेरै उत्साहित देखिएका छन् ।

नयाँ प्रविधिबाट पानी बाह्र्रैमास उपलब्ध हुने भएपछि कृषक खुशी हुनु स्वभाविक नै हो । विशेष गरी हिँउदको समयमा बाँझिने जमिनमा अब कृषकले लटरम्मै तरकारी फलाउँछन,् हामीले यही अपेक्षा गरेका छौं– जलश्रोत तथा सिञ्चाई विकास डिभिजन कार्यालय झापाका प्रमुख राजवंशीले भने ।

त्यसो त यस खाले सिञ्चाई योजना तराईमा भन्दा पहाडी क्षेत्रमा बढी प्रयोगमा आएको छ । तर, झापाका लागि यो नयाँ भने होइन । दमक नगरपालिकामा यस अघि नै यस खाले योजना सञ्चालनमा आएको छ । वुद्धशान्ति गाउँपालिकाको वुधवारे क्षेत्रमा पनि ओभरहेड पानी ट्याङ्की निर्माणको काम सम्पन्न भइसकेको जलश्रोत तथा सिञ्चाई विकास डिभिजन कार्यालय झापाका प्रमुख राजवंशीले बताए । केही समयपछि त्यस क्षेत्रमा पनि सोलार सिञ्चाई योजना अन्तर्गत पानी वितरण गरिनेछ– राजवंशीले भने ।

दमक क्षेत्रमा यस प्रविधिबाट पानी वितरण गर्दा प्रभावकारी देखिएपछि वुद्धशान्ति र बाह्रदशी गाउँपालिकामा सोलार सिञ्चाई योजनाको काम अघि बढाएको जलश्रोत तथा सिञ्चाई विकास डिभिजन कार्यालय झापाले जनाएको छ ।

अहिले झापामा विशेषगरी मझौला सिञ्चाई आयोजना सञ्चालनमा छन् । आर्थिक वर्ष २०७७÷०७८का लागि २५ करोड रुपैयाँका योजना जिल्लामा सञ्चालनमा छन् । प्रदेश सरकारमार्फत सञ्चालित केही आयोजनाको काम यसै बर्ष सम्पन्न हुने भए पनि केही योजना वहुवर्षीय रहेको जलश्रोत तथा सिञ्चाई विकास डिभिजन कार्यालय झापाले जनाएको छ । संघीय सरकारबाट समेत झापामा केही बहुवर्षीय ठूला सिञ्चाईका योजना सञ्चालनमा रहेको कार्यालय प्रमुख राजवंशीको भनाइ छ ।

अहिले झापामा सोलार सिञ्चाइका योजना बाहेक मेचीनगर–१५मा पालिया पूर्व सिञ्चाई आयोजना, मेचीनगर–८ मा नै निन्दा राजपैनी सिञ्चाई आयोजना, वुद्धशान्तिको वुधवारेमा हँडिया फूलवासा सिञ्चाई आयोजना, बिर्तामोडमा देवनिया खोला सिञ्चाई आयोजना, हल्दिवारी–३ हर्चनामा हर्चना कृषक सिञ्चाई आयोजना सञ्चालनमा छन् ।
त्यस्तै झापा गाउँपालिकामा टाघनडुब्बा सिञ्चाई आयोजना, कमल गाउँपालिकाको तोपगाछीमा भुतलुङ सिञ्चाई आयोजना, बाह्रदशी गाउँपालिकामा सन्यासमुनि सिञ्चाई आयोजना लगायत सञ्चालनमा छन् ।

जिल्लामा सिञ्चाईका लागि साना ठूला ७० वटाभन्दा वढी योजना दर्तामा रहेको र केही आयोजनाले पानी समेत वितरण गरिरहेको जलश्रोत तथा सिञ्चाई विकास डिभिजन कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ ।

झापामा सञ्चालनमा रहेका योजनाको काम सम्पन्न गर्दै पानी वितरण शुरु गरेपछि झापाको ८० प्रतिशत भन्दा बढी भू–भागमा सिञ्चाई पुग्ने जलश्रोत तथा सिञ्चाई विकास डिभिजन कार्यालय झापाले जनाएको छ ।

झापाको कूल खेतीयोग्य जमिन ९९ हजार हेक्टर भए पनि एक हजारभन्दा बढी हेक्टर क्षेत्रफल उत्पादन नै नहुने गरी बाँझिएको छ । वाँकी रहेको ९८ हजार हेक्टर क्षेत्रफलमध्ये पनि ९० हजार हेक्टर क्षेत्रफलमा मात्रै धान खेती हुँदै आएको कृषि ज्ञान केन्द्र झापाको तथ्याङ्कमा उल्लेख छ । झण्डै तीन हजार हेक्टर क्षेत्रफल प्लटिङमा परिणत भएको छ । अझ एक बिगाह जमिन प्लटिङ गर्दा आसपासका १५देखि २० विगाह जमिनलाई प्रत्यक्ष असर गर्ने गरेको बताइएको छ ।

बिशेष गरी शहरी क्षेत्र र वजार आसपासका क्षेत्रमा प्लटिङ गर्ने परिपाटी बढेका कारण खेतीयोग्य जमिन घट्दै गएको हो । अझ युवापुस्ता कृषि कर्मप्रति आकर्षित नहुनुले पनि खेतबारी बाँझिने समस्या छ नै । त्योभन्दा ठूलो समस्याको रुपमा सिञ्चाई भएकाले कृषकलाई कृषि पेशामा नै टिकाई राख्न र आय–आर्जनको दरिलो श्रोत बनाउन जलश्रोत तथा सिञ्चाई विकास डिभिजन कार्यालय झापाले नयाँ प्रविधिबाट कृषकको आवश्यकता पूरा गर्न पहल शुरु गरेको हो ।

बाह्रदशी गाउँपालिकाको खयरवारीमा पनि सोलार सिञ्चाई आयोजनाको काम सम्पन्न भएपछि त्यस क्षेत्रका कृषकलाई तरकारी खेतीमा सहज हुने अपेक्षा गरिएको छ । आयोजनाको काम आर्थिक वर्ष २०७८÷०७९भित्रै सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here