लगनको सुखद् परिणाम

0
691

दृढता, लगन र उत्साह भए ढुङ्गामा पनि सृजना गर्न सकिन्छ । चट्टान फोरेर पीपल उम्रिन्छ र देश–दुनियालाई स्वच्छता, सौन्दर्य र अनुकूलता प्रदान गर्छ । प्रकृतिले दिएका प्रत्येक वस्तु, जीव र वनस्पति एकअर्काका पूरक छन् । ती प्रत्येकले आ–आफ्नो विशेषता अनुसार मानिसका अनन्त आवश्यकता पूरा गर्न सहयोग गर्छन् । त्यसमाथि नेपाल जैविक विविधतायुक्त देश हो । जसको सानो भूगोलमा अथाह स्रोत छन्, चलाउन उपयोग गर्न जानेमा सबै श्रीखण्ड हुन्, नजान्दा पनि ‘खुर्पाको विंड’ बनाउन सकिन्छ । विश्वका अनेक दुर्लभ वन्यजन्तु र वनस्पतिको समृद्ध घर हो नेपाल, जसले सौन्दर्य मात्र दिएको छैन, नआइ नहुने गन्तव्य नै बनाएको छ । तर, हामी धेरैले उपलब्ध प्राकृतिक स्रोतको उपयोगिता र महत्व नबुझेर, तिनमा विद्यमान अमूल्य विशिष्टता थाह नपाएर ‘कौडी’मा मिल्काइरहेका छौं ।

श्रीखण्ड र खुर्पाको बिंडको भेद नछुट्टिएका कतिपय स्रोत अझै हाम्रा लागि मूल्यहीन नै छन् । केही पहिचान भएका वनस्पतिहरुको चोरी निकासी भइरहेको छ । जसको माध्यमबाट औषधि, श्रृंगारका साधन र खाद्य परिपूरक वस्तु तयार गरी आम्दानीको दह्रो स्रोत नै बनाइएको छ । यस्ता बहुउपयोगी वनस्पतिको उपयोग गर्दै झापाको शिवसतासी–१० माईधारमा नेपाली कागज उद्योग स्थापना गरिएको छ । दीपक शिवाकोटी नाम गरेका एक उत्साही युवाले पहाडी प्रदेशमा उपलब्ध लोक्ता, बाबियो जस्ता वनस्पति संकलन गरी उद्योग सञ्चालन गरेका हुन् । आफ्ना मामाले ललितपुरमा उद्योग सञ्चालन गरेको देखेर, त्यसबाट प्रेरीत भएर कागज उद्योगको स्थापना गरेको उनले बताएका छन् । ‘देखासिकी गरी खा’ यो उखान शिवाकोटीको जीवनमा प्रयोग भएको छ ।

विगत आठ वर्षदेखि नेपाली कागज उत्पादन गर्दै आएका शिवाकोटीले विदेशको रोजगारी समेत गर्न भ्याइसकेका छन् । साउदी अरबमा सात वर्ष काम गरेका उनी अब स्वदेशमै केही गर्छु भन्ने अठोट लिएर फर्किए । मामाको कागज उद्योगबाट प्रभावित उनले शुरुमा नौ लाख रुपैयाँ लगानी गरी उद्योग सञ्चालन गरे । उद्योग सञ्चालनको शुरुका वर्षमा निराशा हात लागे पनि आँट र दृढतालाई मर्न दिएनन् उनले । फलतः आज उनी विराटनगर, धरान, पोखरा जस्ता शहरहरुमा मात्र सीमित छैनन्, काठमाडौंसम्म पहिचान बनाउन सफल भएका छन् । छ जना महिला र पाँच जना पुरुषलाई प्रत्यक्ष रोजगारी दिएका उनले उद्योगका लागि आवश्यक कच्चापदार्थ पहाडबाट ल्याउने गरेका छन् । पूर्वी नेपालको हिमाली जिल्ला ताप्लेजुङसँगै पाँचथर र इलामबाट समेत लोक्ता, बाबियो लगायतका कच्चा पदार्थ ल्याइने भएकाले त्यहाँका बासिन्दालाई पनि आम्दानीको स्रोत भएको छ– उनको उद्योग । हाल जापानिज कागज समेत उत्पादन हुँदै गरेको उनको जस्तै झापामा दुई दर्जनभन्दा बढी उद्योग छन् । नेपाली कागजको नष्ट नहुने गुणले गर्दा अभिलेख राख्नुपर्ने कार्यालयहरुले नेपाली कागजको अनिवार्य प्रयोग गर्छन् । धैर्य, दृढता, लगन र सिप भए घरमै बसेर विदेश कै कमाइ गर्न सकिने उदाहरण बनेका शिवाकोटीबाट अरुले पनि सिक्न जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here