निर्माण व्यवसायलाई उद्योगको मान्यता दिनुपर्छ

0
359

दीपेन्द्र पोखरेलः

अध्यक्ष, निर्माण व्यवसायी संघ, झापा3333444
दीपेन्द्र पोखरेल (४५) यतिबेला झापाली निर्माण व्यवसायीका नेता बनेका छन् । संघको अधिशेनबाट अध्यक्षमा निर्वाचित पोखरेल निर्माण व्यवसायीका हकहित र सामाजिक क्षेत्रमा समेत रचनात्मक कार्य गर्ने उत्साहका साथ अग्रसर छन् । २०४९ सालदेखि निर्माण व्यवसायमा प्रवेश गरेका पोखरेल २०५५ सालदेखि लाइसेन्स लिएर औपचारिक रुपमै यस क्षेत्रमा उदाएका हुन् । २०५६देखि उनी निरन्तर संघको विभिन्न जिम्मेवारीमा रहँदै आएका छन् । दुई कार्यकाल सदस्य रहेका पोखरेलले एक कार्यकाल महासचिव र एक कार्यकाल प्रथम उपाध्यक्षको जिम्मेवारी सफलतापूर्वक पूरा गरेका छन् । माता उमा देवी र पिता शम्भुप्रसादका साइँला पुत्र भइ २०२५ सालमा अनारमनी–९मा जन्मिएका पोखरेलले सात कक्षासम्म महेन्द्ररत्न उच्च माविमा अध्ययन गरे । काठमाडौंको पद्मोदयबाट एसएलसी गरेका उनले मेची बहुमुखी क्याम्पसबाट स्नातक गरेका छन् । २०५९ सालमा भूमिका भण्डारीसँग विवाह बन्धन बाँधिएका पोखरेल एक छोरा कौश्शुभ र छोरी कृतिकासाथ यतिबेला अनारमनी–३ बिर्तामोडमा बस्दै आएका छन् । चार दाजुभाइमध्ये जेठा ज्ञानेन्द्र काठमाडौंका छन् भने माइँला विनोद पनि निर्माण व्यवसायीका नेता हुन् । यसअघि निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य रहेका बिनोद क श्रेणीका निर्माण व्यवसायी हुन् । कान्छा भाइ प्रवीण पनि निर्माण व्यवसाय मै छन् । डीपी कन्स्ट्रक्सनका सञ्चालक समेत रहेका संघका अध्यक्ष दीपेन्द्र आरम्भ एफएम बिर्तामोडका अध्यक्ष समेत हुन् । उनी सिद्धिविनायक प्लाइउड इन्डष्ट्रिज गरामनीका अध्यक्ष तथा कनकाई आर्यघाट निर्माण समितिका उपाध्यक्ष समेत रहेका छन् । नेपाल, भारत र थाइलेन्डको भ्रमण गरेका उनले आफ्नो रुची सामाजिक सेवा नै भएको बताए । प्रस्तुत छ संघमा आवद्ध झापाका दुई सय बढी निर्माण व्यवसायीका नेता पोखरेलसँग गरिएको कुराकानीको सारसंक्षेपः
निर्माण व्यवसायी संघ झापा यतिबेला के गर्दैछ ?
– संघ यतिबेला नितान्त निर्माण व्यवसायीको हकहितमा अग्रसर छ । तत्काल औपचारिक कुनै कार्यक्रम नभएपनि अनौपचारिक रुपमा नै हामी व्यवसायीका हितमा अघि बढिरहेका छौं । केही समयपछि औपचारिक रुपमै व्यवसायीका हकहित तथा भूकम्प प्रतिरोधात्मक भवन निर्माणका विषयमा झापाका तीन वटै नगरपालिका, डिप्लोमा इञ्जिनियरिङ एशोसिएसन (डीन) लगायतका सरोकारवाला निकायसँग मिलेर बृहत्त अन्तरक्रिया गर्ने तयारीमा छौं ।
निर्माण व्यवसायीका र त्यस व्यवसायका समस्या कस्ता छन् ?
– समस्या सबै क्षेत्रमा व्याप्त छ । झापाको निर्माण व्यवसाय पनि यसबाट अछुतो छैन । झापाका व्यवसायीले आफ्नो काम तथा जिम्मेवारी समयमै पूरा गरेका छन् । तर, बाहिरका निर्माण व्यवसायीले जसले झापाको काम जिम्मा लिएको छ तिनीहरु अधिकांशले निर्धारित समयमा काम नसक्ने प्रबृत्ति बढेको छ । त्यसको अपजस झापाका व्यवसायीले खप्नुपरेको छ, सर्वसाधारण यो कुरा बुझ्न सकेका छैनन् । निर्माण कार्य समयमै सक्न र गुणस्तरीय बनाउने विषयमा कहीं समस्या आए संघले नै त्यस्ता समस्याको सहजीकरण समेत गर्दै आएको छ । चन्दा चिठ्ठाको समस्या विगतभन्दा कम भएपनि यथावत नै छ ।
राज्यले गर्ने निर्माण कार्य व्यवसायीबाट गराउँछ । तर जीवनभर कमाएको पैसाले एउटा सुन्दर घर बनाउने सपना बोकेका आम नागरिक गैरव्यवसायीलाई घर बनाउने जिम्मा दिँदा त्यो घर निर्माणका दृष्टिले असुरक्षित र कमसल बन्दै गएको छ । यो कुरा आम नागरिकले बुझ्न जरुरी छ कि– गुणस्तरीय निर्माण गर्ने हो भने व्यवसायीहरुबाट निर्माण गराउनुपर्छ । सर्वसाधारणको घर मान्यता प्राप्त व्यवसायीले मात्र बनाउने पाउने गरी तथा डिनबाट नक्सा बनाएर काम अगाडि बढाउनु गरी राज्यले नीति बनाउन जरुरी छ । यसले गर्दा एकातिर रोजगारी अर्कातिर राज्यको कर बढ्छ भने सर्वसाधारणले सस्तोमा गुणस्तरीय र दह्रो घर पाउँछन् । बाहिरका ठेकेदारले घर बनाउञ्जेलको मात्र जिम्मा लिन्छन् । उनीहरुको सरोकार पैसासँग मात्र हुन्छ ।
त्यस्ता समस्या हल गर्न संघकोतर्फबाट के पहल भइरहेको छ ?
– अत्यन्त प्रतिस्पर्धामा उत्र्ने, समस्यामा काम नसक्नु र गुणस्तरहीन काम गर्ने विकृति र समस्या अन्त्य गर्नु जिल्लाका तथा केन्द्रका सरोकारवाला निकायदेखि सरकारसम्म ज्ञापन पत्र तथा अन्य माध्यमबाट ध्यानाकर्षण गराइ अग्रसर हुने तयारीमा संघ रहेको छ । निर्धारित समयमा निर्माण कार्य सक्न र गुणस्तरीय कार्यका लागि अनुगमनलाई प्रभावकारी बनाउनुपर्छ । यस्तो कार्य संघको अग्रसरतामा हुनेछ ।
निर्माण व्यवसायीहरु कस्तो सरकारी नीतिको पक्षमा छन् ?
– निर्माण व्यवसायलाई उद्योगको मान्यता दिनुपर्छ, अनि मात्र यो व्यवसाय राम्ररी फस्टाउँछ । यसो भएमात्र व्यवसायी, उपभोक्ता तथा राज्यको त्रिपक्षीय हित भइ नयाँ नेपाल निर्माणमा टेवा पुग्नेछ । अहिले उपभोक्ता समिति मार्फत ६० लाखसम्मको निर्माण कार्य गराउने जुन कार्य भइरहेको छ । त्यसले व्यवसायीलाई मार्का त परेको छ नै त्योभन्दा ठूलो समस्या उपभोक्तासँग प्राविधिक नहुँदा गुणस्तरहीन काम हुन गइ राज्य तथा सार्वजनिक सम्पत्तिको क्षति भइरहेको छ । ५ करोडसम्मको काम पनि ६० लाखको नाममा विभिन्न चरणमा छुट्याएर उपभोक्तालाई नै दिने गरिएको छ । यस्तो कुरामा सरकारले ध्यान दिन जरुरी छ । गुणस्तरीय निर्माण भयो भने लामो समयसम्म भौतिक संरचना टिकाउन हुने र त्यसले राज्य तथा सार्वजनिक सम्पत्तिको खर्च कम हुने हुन्छ । अहिलेको संविधानसभामा १५ जना सभासद् निर्माण व्यवसायी हुनुहुन्छ । उहाँहरुले राज्य, उपभोक्ता र आम निर्माण व्यवसायीको हकहितको लागि सोही अनुरुपको संविधा निर्माणमा भूमिका निर्माण गर्नुहुने हाम्रो विश्वास छ । हामी त्यसका लागि निरन्तर दबाब र लविङमा छौं ।
कमिशनका कारण रकमजति अन्यत्रै बा“ड्दा आफ्नो भागमा थोरै रकम पर्ने भएकाले निर्माण कार्यपनि गुणस्तरहीन हुने गरेको भनाइ छ नि ?
– कमिशन बाँड्नुपर्ने बाध्यताका कारण उक्त कुरामा केही सत्यता छ । जहाँ भ्रष्टाचार कमिशनको खेल हुन्छ, त्यहाँ तपाइँले उठाएको कुराले मेल खान्छ । तर पछिल्लो समय झापाको कुरा गर्ने हो भने तुलनात्मक रुपले भ्रष्टाचार र कमिशन घटेर गएको छ । हामी कठाइका साथ व्यवसायीलाई यस्तो विषयमा सजग गराउँदै आएका छौं । कसैले कमिशनका लागि दबाब दिएमा संघले नै त्यस्तो समस्या हल गर्ने गर्छ । र, म आम निर्माण व्यवसायीलाई अनुरोध पनि गर्छु– कसैले चन्दा, कमिशन मागेर दुःख दिए, दबाब दिए तत्कालीन संघलाई वा पदाधिकारीलाई खबर गर्नुहोस् हामी समस्या समाधानमा अग्रसर हुनेछौं । अर्को कुरा इ–टेन्डर (इ–विट)ले पनि कमिशन न्यूनीकरणमा टेवा पु¥याएको छ । एउटा समस्या कहाँ नेर छ भने निर्धारित मूल्य र मापदण्ड भन्दा १५ प्रतिशतभन्दा बढी न्यून दररेट पेश गर्नेको टेन्डर भारतमा अस्वीकृत हुन्छ तर नेपालमा ९० प्रतिशत न्यून दररेटलाई पनि स्वीकृत गरिँदा समस्या आइरहेको छ । न्यून र सस्तोको नाममा गुणस्तरीयता विर्सनुहुँदैन यो कुरा राज्यले बुझ्न जरुरी छ ।
संघको भावी योजना के छ ?
– निर्माण व्यवसाय क्षेत्रलाई सवल, सक्षम, पारदर्शी र गुणस्तरीय निर्माणका लागि आवश्यक कदम चाल्ने रहेको छ । सामाजिक कार्यलाई समेत संघले अघि बढाउँछ, संस्थाको सामुहिक निर्णयबाट हामी जनसहभागितामा आधारित तथा अन्य व्यवसायिक कामलाई आवश्यकता अनुसारनिर्णय गर्दै अघि बढाउनेछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here