निष्ठाले अमर सीके

0
512

समाजवादी चिन्तक सीके प्रसाईको २७औं स्मृति दिवसका अवसरमा एउटा उदाहरणीय कार्यक्रम झापामा सम्पन्न भयो । नेपाली राजनीतिका शिखर पुरुषमध्येका एक भएर पनि सम्भ्रान्त परिवारमा जन्मिएर पनि र कुनै सार्वजनिक पद धारण नगरेर पनि सधैँ र सबैका लागि सरल, खुल्ला र सामान्य जीवनको उदाहरण सीके सबै विचार र वादभन्दा माथि थिए । उनको योगदानको सम्मान गर्दै नयाँ पुस्तालाई उनको सेवा र त्यागबाट प्रेरणा प्रदान गर्ने उद्देश्यले स्थापित सीके चिन्तन प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा सहभागी वक्ताहरुले सीकेका विचार, व्यवहार र सेवाका अप्रकरित तथ्यहरु सार्वजनिक गरेका थिए ।

राजनीतिलाई समाज एवम् देश सेवाको माध्यम ठान्ने प्रसाईं त्यही निष्ठाले बाचेँ । सत्य, धर्म, निष्ठा र त्यागका समष्टि बनिएका उनी नेपालको प्रजातान्त्रिक आन्दोलनका इमान्दार सिपाहीँ रहे । देशमा भएका कतिपय राजनीतिक परिवर्तन, तिनले पारेको प्रभाव र दिएको परिणाममा अविचल रहन सक्ने, धैर्य गर्न सक्ने, द्वेष, इष्र्या र प्रलोभनबाट मुक्त सीके त्यहीकारण पनि सबै वाद र विचार भएकाहरुका लागि समेत आदर्श पुरुष थिए । तत्कालीन पञ्चायत व्यवस्थामा फरक विचार राख्ने भएकै कारण सर्वस्व गुमाएर निर्वासन भोग्नु पर्दाको समय होस् अथवा स्वदेश फिर्तापछि पटक–पटक पक्राउ पर्नु परेको घटना नै किन होस् उनी कहिल्यै आस्था, निष्ठा र सिद्धान्तबाट विचलित भएनन् । पद, पैसा र प्रतिष्ठालाई गौण ठान्ने सीके आफू भने अग्रजहरुका सामु आफूलाई सानो ठान्थे ।

सादा जीवन र उच्च विचारका पर्यायका रुपमा परिचित उनी भौतिक रुपले यस धाममा छैनन् । उनको अनुपस्थिति नेपाल र नेपाली राजनीतिका लागि कहिल्यै पूर्ण नहुने क्षति हो । आज प्रविधिको विकासले विश्वलाई एउटा विन्दुमा समेटेको छ । तर, स्वयम् अत्याधुनिक प्रविधि थिए जो एकपटक देखेकोलाई कहिल्यै बिर्सदैन थिए, पढेको कहिल्यै भुल्दैन थिए । पठन चेतले पठन संस्कृतिको विकास गर्छ, त्यसैले जो कोहीले पुस्तक पढनु पर्छ भन्ने उनको मान्यता थियो । आजीवन नेपाली कांग्रेसको विचार, दर्शन र आदर्शका लागि संघर्षरत् सीके उनको भौतिक अवसान पछि पनि नेपालीको मनमा जीवित छन् । उनका आदर्श, निष्ठा, त्याग र सेवालाई खासगरी उनकै अनुयायीहरुले इमान्दारपूर्वक पालना गर्ने हो भने समाज र दुनियाँको मुहार फेर्न समय लाग्दै । राजनीति गर्नेहरुले मात्रै उनका विचार, निष्ठा र सेवाको अनुशरण गर्न सके भने उनीप्रति सम्मान गरेको ठहरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here