अस्पताल स्थापनाको एक बर्षपछि उद्घाटन

0
912

झापा ।

सञ्चालनमा आएको एक वर्षपछि पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन् ।

बिर्तामोडमा सञ्चालनमा आएको पूर्वाञ्चल क्यान्सर अस्पतालको निर्माण कार्य सम्पन्न भएसँगै औपचारिक उद्घाटन गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिए । अस्पताल परिसरमा शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै करिब छ सय करोड रुपैयाँको लागतमा निर्माण गरिएको अस्पतालको क्षमता तीन सय शय्याको भए पनि हाल एक सय शय्या सञ्चालनमा रहेको बताइएको छ ।

सबैखाले क्यान्सरको उपचार गर्ने उद्देश्यका साथ निर्मित अस्पतालमा सम्पूर्ण उपकरण जडान गरिएको कार्यकारी निर्देशक प्रसाईले बताए । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री रामबहादुर थापा, पर्यटन मन्त्री भानुभक्त ढकाल, शिक्षामन्त्री गोपालमान श्रेष्ठ, संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, पूर्वमन्त्री महेश बस्नेतसहित कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, मनिषा कोइराला, भारतीय अभिनेतृ सोनाी बान्द्रे लगायत उद्घाटन कार्यक्रममा सरिक हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पूर्वका क्यान्सर रोगीहरुलाई मध्यनजर गर्दै सञ्चालनमा आएको अस्पतालमा छिमेकी मुलुक भारतबाट समेत विरामीहरु आउने गरेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।

पूर्वाञ्चल क्यान्सर अस्पताललाई दक्षिण पूर्वी एसियाकै नमूना अस्पताल बनाउने लक्ष्यसहित अघि बढेको सञ्चालक प्रसाईको भनाइ छ । अस्पतालमा दक्ष चिकित्सक र उच्च स्तरको उपकरण भएकाले क्यान्सर रोगीहरुले अन्यत्र उपचारका लागि जानु नपर्ने डा. उमेश शर्माले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here