३,८४९ मत खस्यो, गणना आजै

0
503

विर्तामोड ।

बिर्तामोड उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि आइतबार भएको मतदानमा ८४ दशमलव ८० प्रतिशत मत खसेको छ । निर्वाचन समितिका सदस्य केशव भट्टराईका अनुसार तीन हजार आठ सय ४९ मत खसेको हो । जम्मा मतदाता संख्या चार हजार पाँच सय ५० रहेको थियो । विहान ८ बजेदेखि शुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन भएको थियो ।

निर्वाचन समितिले शान्तिपूर्ण तरिकाले मतदान भएको जनाएको छ । अग्रसेन भवनमा भएको मतदान अतिथि सदनमा गणना हुने पूर्वनिर्धारित तालिका छ । आगामी तीन वर्षे कार्यकालका लागि भएको मतदानमा ब्यवसायीको उत्साहजनक सहभागिता रहेको थियो ।

आगामी तीन वर्षे कार्यकालका लागि भएको निर्वाचनमा अध्यक्षसहित एक–एक जना वरिष्ठ उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, जनसम्पर्क उपाध्यक्ष (महिला), महासचिव, उद्योग सचिव, वाणिज्य सचिव, कोषाध्यक्ष, सह–कोषाध्यक्ष (महिला) र सात खुल्ला सदस्य, महिला सदस्य दुई, गरी १९ सदस्यीय कार्यसमितिका लागि ३९ जनाको उम्मेद्वारी परेको थियो ।

जसमा जनसम्पर्क उपाध्यक्ष महिला एक, खुल्ला सदस्य दुई, सदस्य महिला एक गरी चार जनाको उम्मेद्वारी रद्द भएको बताइएको थियो । जनसम्पर्क उपाध्यक्ष महिलामा एक जनाको मात्रै उम्मेद्वारी परेकाले नैनकला भट्टराईलाई निर्विरोध घोषणा गरिएको निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा प्रमुख निर्वाचन अधिकृतसहित १६ जना निर्वाचन अधिकृत रहेको ४२ जनाको निर्वाचन टिम खटिएको थियो ।

मतदान र गणनालाई प्रविधि मैत्री बनाइएको छ । व्यवसायीको निर्वाचनका लागि नेपाली कांग्रेस समर्थक व्यवसायी प्रकाश शिवाकोटीको नेतृत्वमा लोकतान्त्रिक व्यवसायिक प्यानल र नेकपा र राप्रपा समर्थक व्यवसायीका लागि सुवास भट्टराईको नेतृत्वमा संयुक्त व्यवसायी प्यानल खडा गरेर चुनावी मैदानमा उत्रिएका हुन् ।

यसैबीच मतगणना स्थल अतिथि सदनमा पूर्ण सुरक्षासहित सीसी क्यामेराको निगरानीमा हुने र मतगणना स्थलको गतिविधि हल बाहिर उपस्थित सबैले देख्न सक्ने गरी प्रोजेक्टर मार्फत डिस्प्ले गरिने बताइएको छ । आइतबारराती देखि नै गणना हुने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here