खाद्य अधिकारका विषयमा बुधवारेमा अन्तरक्रिया

0
1123

शान्तिनगर ।

झापाको बुद्धशान्ति गाउँपालिकामा “खाद्य अधिकारकाविच कृषि सेवा केन्द्र, पशु सेवा केन्द्र तथा सरोकारवालाहरुविच अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको छ ।

मानव अधिकार समूह बुद्धशान्तिको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश नम्वर १ विराटनगरको सहयोगमा बुधवारेमा सो अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । मानव अधिकारको मूल्य र मान्यतालाई स्थापित गराउने उद्धेश्यले स्थानीय समुदायलाई सचेत पार्दै जिम्वेवार निकायलाई जवाफदेयी बनाउन सो कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा बुद्धशान्ति गाउँपालिका भित्रका ७ वटै वडाका मुल कृषक समूहमा आवद्ध किसानहरुको उपस्थिति थियो । गाउँपालिकाले प्रदान गर्ने कृषि र पशु सेवाका वारेमा उनीहरुले खुलेर आफ्ना धारणा राखेका थिए । बुद्धशान्ति गाउँपालिकालाई धान, रवर र सुपारी जोन घोषणा गरिएपनि किसानले उक्त सुविधा लिन नसकेको उनीहरुको भनाई छ ।

कृषि क्षेत्रको विकास र प्रवद्र्धन गर्न गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिएपनि वास्तविक किसानले उक्त विषयको सुचना समेत नपाउने गरेको कार्यक्रममा सहभागि कृष्णप्रसाद रेग्मीले वताए । गाउँपालिकावाट प्रदान गरिने विउ–विजन समयमा नपाउने हुदाँ वेलैमा किसानले काम गर्न नसक्ने गरेको उनीहरुको भनाई छ । गाउँमा छिरेका विभिन्न वाहिरी संस्थाहरुले कृषि र पशु विमाका काम गर्ने गरेको तर गाउँपालिकाले कुनै काम गर्न नसकेको उनीहरुको भनाई छ ।

गाउँपालिका भित्र १२३ वटा कृषि समूह र ३५ वटा फार्म दर्ता भई सञ्चालनमा रहेपनि विना दर्ताका व्यवसायिक किसान धेरै छन् । विना दर्ताका किसानले गाउँपालिकाको पशु प्राविधिकलाई वोलाएपनि नआउने गरेको गुनासो गरे । यस्तै, गुणस्तरीय उत्पादन गर्ने र आत्मनिर्भर किसान बनाउने हो भने माटो परिक्षण गरि किसानलाई कृषि तालिम दिनु पर्ने उनीहरुको भनाई छ ।

कार्यक्रममा उठेका समस्याका वारेमा बुद्धशान्ति कृषि शाखाका प्रमुख कृष्ण ढुङ्गेल र पशु शाखाका प्रमुख कैलाशप्रसाद सिंहले सहजीकरण गरेका थिए । कृषि प्रमुख ढुङ्गेलले यहाँ उठेका विषय बस्तुका वारेमा गाउँपालिकाले आगामी दिनमा ध्यान दिएर काम गर्ने बताए ।

उनले कृषि ज्ञान केन्दबाट पकेट विकास कार्यक्रम अन्तर्गत च्याउ, तरकारी र धानको पकेट कार्यक्रम सञ्चालन गरेको जानकारी गराए । गाउँपालिकाले दिने विउविजन यसवर्ष देखि वडालाई जिम्मा दिएको बताए । यस्तै, गाउँपालिकाले माटो परिक्षण गर्ने किसानका लागि मिनिल्याप सञ्चालन गरेको जनाए । “प्राङ्गारिक बुद्धशान्ति अभियान” सञ्चालन गर्न लागेको गाउँपालिकाले किसानको समस्या र उनीहरुको उथ्थानमा काम गर्दै जाने प्रतिवद्धता जनाए ।

पशु शाखा प्रमुख सिँहले पशुपालक किसानमा जुनसुकै समस्या आए पशु शाखामा सम्पर्क गर्न आग्रह गरे । गापाले हाल नियमित गोवर परिक्षण र एआइको सेवा प्रदान गर्दै आएको बताए । उनले बादर र भुस्याया कुकरको समस्याका वारे पशु शाखाले आगामी दिनमा काम गर्ने वताए । गाउँपालिकाको पशु प्राविधिकले ढिलो गरे वा एआईको रकम ३ सय रुपैयाँ भन्दा वढि लिए कार्यालयमा सम्पर्क गर्न उनले आग्रह गरे । उनले पशु शाखाले गाउँपालिका भित्र सकेसम्म सेवा प्रभाहमा कुनै कन्जुस्याई नगर्ने प्रतिवद्धता जनाए ।

मानव अधिकार समूह बुद्धशान्तिका अध्यक्ष देवकुमारी सेर्माको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश नम्वर–१ का संयोजक सोमराज थापाको प्रमुख आतिथ्य र इन्सेक फोकल पर्सन वाग्मति कट्टेल, पशु शाखा प्रमुख कैलाशप्रसाद सिँह, र कृषि शाखा प्रमुख कृष्ण ढुङ्गेलको विशिष्ट आतिथ्य रहेको थियो ।

अन्तरक्रियात्मक छलफल कार्यक्रमको सञ्चालन मानव अधिकार समूह अर्जुनधारा र बुद्धशान्तिका सहजकर्ता राजन साम्पाङ राईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here