प्रयोगकर्ता पक्राउ, नाइके फरार

0
986

झापा।

पछिल्लो समयमा झापाका सीमावर्ती नेपाली बजारमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरको अवैध कारोबार फस्टाएको छ ।

सीमा क्षेत्रका बजारमा लागूऔषध ट्याब्लेट, सिरप, गाँजाको अत्यधिक कारोबार हुँदै आएकोमा लकडाउनपछि ब्राउन सुगर (खैरो हेरोइन) को कारोबार ह्वात्तै फस्टाएको हो ।

जिल्लामा ब्राउन सुगरको कारोबार फस्टाएसँगै झापा प्रहरी यसको जालो तोड्ने मिसनमा जुटेको छ । प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईले लागूऔषधमुक्त जिल्ला बनाउने अभियानमा सक्रियता देखाएसँगै झापा प्रहरी र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाले दिनहुँ ब्राउन सुगर प्रयोगकर्ता र गिरोहमा आबद्ध व्यक्तिलाई पक्राउ गर्न थालेको छ ।

यसैक्रममा प्रहरीले भद्रपुरबाट ब्राउन सुगरसहित एक प्रयोगकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर–६ बस्ने २६ वर्षीय बिशाल मण्डल रहेको प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले जानकारी दिए । मण्डललाई फागुन १९ गते बुधवार भद्रपुर–६स्थित देउराली होटेलको कोठाबाटै १७ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट डब्लुबी७४ए क्यु ३८६४ नम्बरको स्कुटर समेत बरामद गरेको छ । प्रहरी कार्यालय झापाबाट खटिएका सादा पोशाक र लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सुराकीको आधारमा उनलाई पक्राउ गरेको हो ।

प्रहरीले ब्राउन सुगर खरिदबिक्री गर्ने नाइकेलाई पनि पक्राउ गर्ने योजना बनाएको थियो । तर, प्रहरी त्यस योजना असफल बन्यो । त्यसको ठाउँमा लागूऔषध प्रयोगकर्ता ‘डिल गर्न’ पुगेपछि उनलाई प्रहरीले पक्राउ ग¥यो । पक्राउ परेका प्रयोगकर्ता मण्डलले ब्राउन सुगरको मुख्य नाइके भद्रपुर–६ निवासी अन्दाजी २८ वर्षीय रवीन घोष भएको प्रहरीलाई बयान दिइसकेको प्रहरी स्रोतको दाबी छ । मण्डललाई पक्राउ परेका बेला मुख्य नाइके घोष त्यही होटेल वरिपरि रहेका थिए । प्रहरीले मण्डललाई पक्राउ गरेको देखेपछि नाइके घोष त्यहाँबाट भारत फरार भएको बताइन्छ ।

मण्डलले प्रहरीलाई घोषको नाम बताएपछि प्रहरी टोली तत्काल झापा चोकस्थित उनको घर पुगेको थियो । तर, नाइके घोष घरमा थिएन, उनी घर नगई भद्रपुर नाकाबाट सोझै भारत भाग्न सफल भए । मण्डलले प्रहरी समक्ष बयान दिँदै भनेका छन्– ‘म प्रयोगकर्ता हुँ, मलाई एक डोज दिने शर्तमा घोषले ब्राउन सुगर बोकेर एक महिलालाई दिनु र पैसा लिएर आउनु भनी होटेल पठाएको हो ।’ यसभन्दाअघि पनि घोषले एक डोज दिने बहानामा यसरी काम अह्राउँदै आइरहेको उनले प्रहरीलाई बताएका छन् । ‘सबै लगानी उसैको, फाइदा पनि उसैले लिन्थ्यो, मलाई त एक डोज दिन्थ्यो, त्यसैले पुगिहाल्थ्यो’– उनले प्रहरीलाई भनेका छन् ।

यता प्रहरीले मण्डललाई प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान गरिरहेको छ भने नाइके घोषलाई खोजिरहेको छ । घोषले भद्रपुरका अधिकांश युवाहरूलाई विभिन्न प्रलोभन दिएर आफ्नो जालमा फसाएर अवैध काम गराउँदै आएको बताइन्छ । ब्राउन सुगरको कारोबार गर्नुअघि घोषले भारतीय रुपैयाँको अवैध कारोबार गरेका थिए । २०७३ साल चैत २५ गते तत्कालीन सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाबाट खटिएको एपीएफको टोलीले स्रोत नखुलेको ११ लाख १० हजार भारतीय रुपैयाँसहित घोषलाई पक्राउ गरेको थियो । घोषसहित उनीसँगै हिँडेका मनोज राजवंशीलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

गस्तीमा खटिएको एपीएफ टोलीले विशेष सूचनाको आधारमा भारतबाट नेपालतर्फ आउँदै गरेको मे६प ६१२९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई हजार र पाँचको भारतीय रुपैयाँसहित भद्रपुर–९स्थित घोडामाराबाट पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरूलाई कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाउनुपर्नेमा नेताको आडमा त्यसको भोलिपल्ट बिना कारबाही छाडिएको थियो ।

त्यस बेला कांग्रेसका गृहमन्त्रीको ठाडो आदेशमा उनीहरूलाई सशस्त्रले छाडेको समाचार पनि सञ्चारमाध्यममा सार्वजनिक भएको थियो । भद्रपुरकै कांग्रेसका वरिष्ठ नेताले गृहमन्त्रीसमक्ष सिधै कुरा राखेपछि उनीहरू बिना कारबाही रिहा भएको घटनाले चर्चा पाएको थियो । त्यस्तै प्रहरीले भद्रपुर–८ सगरमाथा चोकबाट ब्राउन सुगरको कारोबार गर्ने थप एक युवकलाई पक्राउ गरेको छ । भद्रपुर–८ एयरपोर्ट नजिकै बस्ने २४ वर्षीय दिनेश राजवंशीलाई ६ ग्राम ५० मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो । राजवंशीले पनि भद्रपुरमा ब्राउन सुगरको कारोबार गर्दै आइरहेको बताइन्छ ।

यता प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाका अनुसार लागूऔषधसहित पक्राउ परेका आरोपीको बयानको आधारमा गिरोहका अन्य व्यक्तिहरूलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको बताए । पक्राउ परेका आरोपीलाई लागूऔषध ओसारपसारको बारेमा बयान लिन्छौं– डीएसपी थापाले भने– ‘आरोपीले लागूऔषध कारोबार गर्ने व्यक्तिको नाम बयानमा दिएका छन्, त्यसको विषयमा पनि छुट्टै अनुसन्धान गर्छौ, कानूनी कारबाहीको दायरमा ल्याएर छाड्छौं ।’

ब्राउन सुगरमा तेब्बर फाइदा

ब्राउन सुगरको खरिदबिक्री गर्दा सुनभन्दा बढी फाइदा हुने गरेको पाइएको छ । पाउडर जस्तो धुलो पदार्थको ब्राउन सुगर बोक्दा पनि कसैले थाहा नपाउने, बिक्री गर्दा किनेको भन्दा तेब्बर फाइदा हुने भएपछि पछिल्लो समयमा यसको अवैध कारोबार फस्टाएको छ । नेपालमा प्रतिबन्धित ब्राउन सुगर भारतबाट भित्रिन्छ ।

कारोबारीले भारतका सीमावर्ती विभिन्न शहरबाट खरिद गर्ने र लुकाईछिपाई नेपाली बजारमा ल्याउने गरेको छ । भारतमा प्रतिग्राम ब्राउन सुगरको मूल्य एक हजारदेखि डेढ हजारसम्म पर्छ । नेपालमा त्यसको खरिद मूल्य १६ सयदेखि २४ रुपैयाँसम्म पर्न जान्छ ।

नेपालका सीमावर्ती बजारमा ब्राउन सुगर बिक्री गर्दा प्रति ग्राम ५ हजारदेखि ६ हजार रुपैयाँसम्म पर्छ । राजधानी लगायत नेपालका अन्य शहरसम्म पुग्दा त्यसको मूल्य १० हजार प्रतिग्रामसम्म पर्छ । एक किलो ब्राउन सुगरको कारोबार गर्ने व्यक्तिले एकैपटक लाखौँ रकम कमाउने गरेको छ ।

भारतमा एक किलो ब्राउन सुगरको मूल्य १०देखि १५ लाख पर्छ । त्यसलाई नेपाल ल्याएर बिक्री गर्न सकिए ५० लाखदेखि ६० लाख हुन्छ । १६ लाखदेखि २४ लाख लगानी गर्ने कारोबारीले एकैपटकमा त्यसको तेब्बर कमाउने गरेको छ । त्यही भएर पछिल्लो समयमा यसको कारोबार जिल्लामा फस्टाएको सरोकारावालाहरु बताउँछन् ।

यस्तो छ प्रहरीको तथ्यांकमा लागूऔषध

जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्क हेर्दा गतआर्थिक बर्ष २०७६/०७७ भन्दा चालूआर्थिक वर्ष २०७७/०७८को माघ मसान्तसम्म लागूऔषध कारोबारका घटना बढेको देखिन्छ । अघिल्लो आर्थिक वर्ष २०७६/०७७मा ११ महिला र १८० जना पुरुष लागूऔषधसहित पक्राउ परेका थिए । चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा ६ महिला र १६६ जना पुरुष पक्राउ परिसकेको प्रहरी कार्यालय झापाका डीएसपी थापाले जानकारी दिए ।

चालू आर्थिक वर्षको ७ महिनामै १७२ जना पक्राउ परिसकेका छन् । अघिल्लो एक वर्षमा १९१ जना पक्राउ परेका थिए । फागुन महिनाको तथ्याङ्क जोड्ने हो भने १८० जना नाघिसकेको प्रहरीले जनाएको छ । प्रहरीले अघिल्लो आर्थिक वर्षमा १ किलो ५९५ ग्राम ५०५ मिलिग्राम ब्राउनसुगर बरामद गरेको थियो भने चालूआर्थिक वर्षको माघसम्ममा १ किलो ५२६ ग्राम ३६३ मिलिग्राम ब्राउनसुगर बरामद गरिसकेको डीएसपी थापाले बताए । बरामद गरिएको ब्राउन सुगरको नेपाली बजार मूल्य ९० लाखभन्दा बढी पर्छ ।

उनका अनुसार लागूऔषध डाइजेपाम, लुपिजेसिक, फेनारगन, नाइट्रोजन, गाँजा, सिरप पनि बरामद भइरहेको छ । तर, अन्य लागूऔषधको तुलनामा ब्राउन सुगर बढी बरामद भएको डीएसपी थापाले बताए । अन्य लागूऔषध प्रयोग गर्दागर्दै बढी मात्रामा नशालु पदार्थ चाहिने भएकाले पनि ब्राउनसुगरतर्फ युवावर्ग बढी लागेको अनुसन्धानले देखाएको उनले बताए । ‘लागूऔषध नियन्त्रण तथा रोकथाममा प्रहरीले सक्रियता बढाएकोले लागूऔषधमा संलग्न व्यक्तिहरू धमाधम पक्राउ पर्न थालेका हुन्, त्यसैले आरोपीको संख्या बढ्दै गएको हो’– उनले भने– ‘ब्राउन सुगर बोक्न पनि सजिलो, भारतबाट ल्याउन पनि समस्या नहुने र फाइदा पनि बढी भएकोले यसको कारोबार बढेको अनुमान गर्न सकिन्छ ।’

यस्तो छ कानूनी सजायको व्यवस्था

लागूऔषध नियन्त्रण ऐन २०३३को परिच्छेद ३ दण्ड सजाय ९१० दफा ४ को खण्ड (ज) मा अफिम, कोका र सोबाट बनेको लागूऔषधको सेवन र खेती गर्ने कार्य बाहेक अन्य निषेधित कार्य गर्ने व्यक्तिलाई कानूनी सजायको व्यवस्था गरिएको छ ।

२५ ग्रामसम्मको कारोबार गर्नेलाई ५ बर्षदेखि १० वर्षसम्म कैद र ५ हजारदेखि २५ हजारसम्म जरिवाना, २५ ग्रामदेखि एक सय ग्रामसम्मको कारोबार गर्नेलाई १० वर्षदेखि १५ वर्षसम्म कैद र ७५ हजारदेखि २ लाखसम्म जरिवाना र एक सय ग्रामदेखि माथि जतिसुकै परिमाणको कारोबार गर्नेलाई १५ वर्षदेखि जन्म कैद र ५ लाख रुपैयाँदेखि २५ लाखसम्म जरिवानाको व्यवस्था छ ।

यो कानूनी व्यवस्था ब्राउन सुगर कारोबार गर्नेमा पनि लागू हुने उल्लेख गरिएको छ । लागूऔषध गाँजा उत्पादन, तयारी, खरिद, बिक्री वितरण, निकासी वा पैठारी, ओसारपसार गर्ने व्यक्तिलाई न्यूनतम् तीन महिनादेखि अधिकतम् १० वर्षसम्म र पाँच हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here