व्यवस्थापनमा ध्यान देऊ

0
783

नेपाली अम्रिसोको उत्पादन, बजार र मूल्य राजनीति जत्तिकै अस्थिर छ । नगदेबाली भनिने अम्रिसो मूलतः पहाडी जिल्लाको मुख्य उत्पादन हो । यसको खेती पाखो भित्तामै हुने भएकाले अन्न खेती गर्न नसकिने ठाउँले पनि किसानलाई मनग्ये आम्दानी दिन्छ । मुख्यगरी घर बढार्नका लागि प्रयोग हुने अम्रिसो गाईवस्तुको पोषिलो खाना पनि हो । अम्रिसोको फूल जम्मा गरेर कुचो बनाइन्छ । जो साना–ठूला सबै परिवारको अत्यावश्यक वस्तुभित्र पर्दछ । अम्रिसोको फूल बेचेर छोराछोरीलाई शिक्षादीक्षा, चाडपर्व लगायत दैनिक उपभोग्य वस्तुहरुमा खर्च गर्न सहज भएपछि किसानहरु यसको व्यावसायिकतातर्फ आकर्षित हुन थालेका छन् । खेती गर्न सहज, गोडमेल गरिरहनु नपर्ने, मलखाद नचाहिने, पानी र विशेष स्याहार गर्नु नपर्ने कारणले अम्रिसो खेती व्यापक रुपमा गरिनु किसानको लागि लाभकारी हुन्छ ।

नेपालको उत्पादनको निर्यात हुने दर आयातको तुलनामा नगन्य छ । कृषि प्रधान देश भएर पनि खाद्यान्न आयात गर्नुपर्ने आजको अवस्थाले कृषि प्रधानता कागजमै सीमित बन्न पुगेको छ । यहाँको मुख्य उत्पादन धान, मकै, कोदो, फापर जस्ता अन्न मात्र होइन तरकारी, मसला, तेल लगायतका वस्तु पनि भारत, भुटान, बंगलादेश जस्ता देशबाट आयात भइरहेको छ । यसले नेपाली मुद्रा विदेशिने क्रम बढाएको छ भने रेमिट्यान्सलाई अलग गर्दा देशको आर्थिक जीवन झनै कमजोर बन्दै जान थालेको छ । यस्तो अवस्थामा अम्रिसो लगायतका नगदेबाली लगाउन किसानलाई उत्प्रेरणा, आर्थिक एवम् प्राविधिक सहयोग, भण्डार गृह र वैज्ञानिक बजार व्यवस्थापनमा सहयोग गर्न राज्यले अग्रसरता देखाउनु पर्दछ । नेपाली किसानहरुले अम्रिसो जस्तै अलैंची, अदुवा लगायतका मसलाजन्य कृषि वस्तुको व्यावसायिक खेती गर्दैछन् । तर, त्यसको मूल्य तथा बजारीकरणमा सरकारले उचित सहयोग गरेको छैन ।

नेपाली उत्पादनको मुख्य बजार भारत नै हो । यस बाहेक बंगलादेश र केही पश्चिमी मुलुकहरुमा चिया, कफी लगायतका उत्पादनहरु बिक्री गर्न थालिएको छ । तर, वास्तविक किसान लक्षित कार्ययोजना नबनाइँदा बजार जहिल्यै अस्थिर रहने गरेको छ । किसानको हातबाट उम्किसकेपछि विचौलियालाई मात्र लाभ हुने गरी मूल्य निर्धारण गर्दा उत्पादक वर्ग जहिल्यै निराश हुने गरेको छ । अम्रिसोको पनि त्यही अवस्थामा खेती र व्यापार भइरहेको छ । पूर्णरुपले भारत आश्रित व्यापार भएका कारण कुनै एक वर्ष मूल्य बढेको आधारमा उत्साहित किसानले अर्को वर्ष क्षति व्यहोर्न बाध्य हुनु परेको छ । यस्तोमा राज्यले किसानलाई संरक्षण, प्रोत्साहन, उत्पादित वस्तुको प्रवद्र्धन र बजारीकरणमा सहयोग गर्नुपर्छ । अनि मात्र किसानले कामको उचित मूल्य पाउन सक्छन्, सुरक्षित महशुस गर्दै कार्य कुशलता बढाउन र आर्थिक जीवन उकास्न सक्छन् । यसतर्फ सरकारको ध्यान जानु पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here