बुद्धशान्ति गाउँपालिकामा भलिवल प्रतियोगिता शुरु

0
1115

शान्तिनगर ।

झापाको बुद्धशान्ति गाउँपालिकामा प्रथम उपाध्यक्ष कप वडास्तरीय नकआउट भलिवल प्रतियोगिता शुरु भएको छ ।

चार नम्वर स्थित बर्ने चिया वगानको वर्कसवमा मंगलवार एक कार्यक्रमको आयोजना गरि प्रतियोगिता शुरु भएको हो । बुद्धशान्ति गाउँपालिकाले पहिलो पटक आयोजना गरेको प्रतियोगिता निकै महत्वका साथ हेरिएको छ ।

बुद्धशान्ति खेलकुद बिकास समितिका संयोजक शम्भूप्रसाद पौड्यालको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा गा.पा.उपाध्यक्ष मीरा भूर्तेलले रेफ्रिलाई भलिवल हस्तान्तरण गरी उद्घाटन गरिन् । ४ नम्वर वडाका खेलकुद संयोजक राजकुमार राईले स्वागत गरेको कार्यक्रममा २, ३, ४, ५, ६, ७ नम्वरका वडाध्यक्षहरु, इलाका प्रहरी कार्यालय बुधवारेका प्रमुख निराजन कटुवाल, ट्राफिक इन्चार्ज राजकुमार चौधरी लगायत खेलकुद–प्रेमी, सामाजिक ब्यक्तित्व, बुद्धिजिवि, संचारकर्मी लगायतको उपस्थिति थियो ।

मंगलवारको खेलमा वडा नम्वर ४(ए), ४(बी), २ र ३ नम्वर वडाले आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा वडा न.४ (बी) ले वडा न.६ लाई २५–२१, २५–१० को सेटमा जित्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । त्यस्तै, वडा न.४(ए) ले वडा न. १ लाई २५–२३,२५–२० को सेटमा हराएको हो । वडा न.२ ले वडा न.५ लाई २५–१०, २५–१६ र वडा न.३ ले ७ न.वडालाई २५–१५,२५–९ को सेटमा हराउँदैं सेमिफाइनलको यात्रा तय गरेको हो । स्थानीय स्तरका खेलाडीलाई प्रोत्साहन गरी पालिका स्तरीय टिमका लागि खेलाडी छनौट गरी एक बजबुत टोली बनाउने सो प्रतियोगिता आयोजना गरिएको हो । सेमिफाइनलका खेल आगामी चैत ५ गते विहिवार दिउँसो २ बजेबाट हुने आयोजकले जनाएको छ ।

स्थानीय स्तरमा रहेका खेलाडीलाई प्रोत्साहन गर्न र पालिका स्तरीय टिमका लागि खेलाडी छनौट गरी अन्तर पालिका÷नगरपालिकामा आयोजना हुने भलिबल प्रयोगितामा सहभागी गराउने उद्धेश्यले सो प्रतियोगिता आयोजना गर्न लागिएको हो । भलिवल खेलको विजेताले नगद ३० हजार रुपैयाँ र उप–विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि, प्रमाण–पत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको बेष्ट डिफेन्टर, स्पाइकर र अनुशासित टिमले आकर्षक पुरस्कार पाउनेछन् ।

त्यस्तै, प्रथम अध्यक्ष कप नकआउट फुटवल प्रतियोगिता २०७७ भने आगामी चैत्र १२ गते त्रिभुवन माविको खेल मैदानमा हुनेछ । भलिवल र फुटवल खेलका लागि आयोजकले करिव ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । बुद्धशान्ति गाउँपालिकाले यस बर्ष खेलकुदका लागि १५ लाख रुपैयाँ छुट्टाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here