कमलमा पूर्ण सरसफाई कार्यक्रममा तिव्रता

0
1058

उमानाथ भण्डारी,
कमल।

कमल गाउँपालिकाले पूर्ण सरसफाई कार्यक्रममा तिव्रता दिएको छ । गत वर्ष नै पूर्ण सरसफाई कार्यक्रमलाई सञ्चालनमा ल्याए पनि गाउँपालिकाका केही वडामा कार्यक्रम पुग्न सकेको थिएन । त्यसैलाई निरन्तता दिँदै विराट सामुदायिक अध्ययन केन्द्रको साझेदारीमा पूर्ण सरसफाई कार्यक्रमलाई तिव्रता दिएको हो ।

कार्यक्रममा भान्साघरदेखि शौचालयसम्म पूर्णरुपमा सरसफाई हुनुपर्ने, त्यसका लागि प्रत्येक नागरिकले प्रणालीबाट वितरण गरिएको शुद्ध पानि प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ । अहिलेसम्म ट्युवेलको पानी प्रयोग गरिरहेका नागरिकलाई प्रणालीबाट वितरण गरिएको पानी प्रयोग गर्न प्रोत्साहन गर्नुपर्ने लगायतका विषयमा छलफलमा सहभागीले जोड दिएका छन् ।

गाउँपालिकाले तयार पारेको खानेपानी सरसफाई स्वच्छता योजना (वास)लाई कार्यान्वयनमा ल्याउनका लागि विद्यालय तहमा खानेपानी सरसफाई स्वच्छता सुधारका लागि विद्यालय तहको खानेपानी सरसफाई स्वच्छता योजना कार्यविधि पास गरी कार्यान्वयनका लागि गाउँ कार्यपालिकालाई अनुरोध गर्ने निर्णय गरेको प्रदेश खानेपानी सरसफाई स्वच्छता कस्लटरका संयोजक विनोद शर्माले बताए ।

विद्यालयको भौतिक अवस्था कमजोर भएका कारण विद्यार्थीको चाप अनुसार शौचालय व्यवस्था गर्न नसकेको, शुद्ध पिउने पानीको अवस्था पनि उस्तै रहेको बेलामा यस्ता कार्यक्रमले विद्यालयमा शौचालय र शुद्ध पिउने पानीको व्यवस्था हुन सक्नेमा आफू विश्वस्त रहेको कमला मदन–आश्रित स्मृति माध्यमिक विद्यालयका प्रधानाध्यापक हिमप्रसाद दाहाल बताउँछन् ।

ओडिएफ घोषणा गरेर मात्र हुँदैन अब पूर्ण सरसफाई कार्यक्रमलार्ई निरन्तरता दिन आवश्यक रहेको र यस्ता कार्यक्रम बाँकी रहेका वडामा समेत कार्यक्रम सञ्चालन गरिने कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताइन् ।
मर्यादित महिनावारी व्यवस्थापन, विद्यालयमा खानेपानी सरसफाई तथा स्वच्छता कार्यविधि, खाद्य गुणस्तर कार्यविधि अनुमोदन गरी कार्यान्वयनका लागि गाउँकार्यपालिकालाई अनुरोध गर्ने निर्णय गरेको कमल गाउँपालिकाका पूर्ण सरसफाई कार्यक्रम संयोजक इन्द्र अर्यालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here