भूपू सैनिक सम्मेलन यसपटक पृथक

0
808

इटहरी,

नेपाली सेनाले चारभन्दाबढी सन्तान सेनामा भर्ती हुन प्रोत्साहन गर्ने १६ मातापितालाई सम्मान गरेको छ ।

पूर्वी पृतनामा आज आयोजित भूतपूर्व सैनिक सम्मेलनमा प्रधानसेनापति पूर्णचन्द्र थापाले उहाँहरुलाई सम्मान गर्नुभएको हो । यसअघिका विभिन्न सम्मेलनमा पनि एकै परिवारका चारभन्दाबढी सैनिक सेवामा रहने २८ परिवारलाई सेनाले सम्मान गरिसकेको छ ।

सेनाको कल्याणकारी कोषबाट सुविधा प्राप्त गर्नुहुने यस भेगका सबैभन्दा ९७ वर्षीया मायादेवी कार्की र ९१ वर्षीय रत्नबहादुर पौडललाई पनि समारोहमा सम्मान गरियो । पूर्वी पृतना इटहरी व्यारेकमा मुख्य शिविर र मातहतका १४ मध्ये ताप्लेजुङ र तेह्रथुमबाहेकका जिल्लामा आज एकैसाथ भूपू सैनिक सम्मेलन आयोजना गरिएको हो ।

ताप्लेजुङमा बसोबास गर्नेलाई पाँचथर र तेह्रथुमका भूपूलाई धनकुटामा सहभागी गराइएको सेनाले जनाएको छ । इटहरीमा भएको मूल समारोहका मुख्य शिविरमा मातहतका जिल्लाबाट भूपूलाई प्रतिनिधिमूलक सहभागी गराइएको थियो । पूर्वी पृतना मातहतका जिल्लामा करीब सात हजारको हाराहारीमा भूपू सैनिकको बसोबास रहेको जानकारी दिइएको छ । पछिल्ला वर्षमा सेनाले प्रत्येक प्रधानसेनापतिको तीनवर्षे कार्यकालमा प्रदेशगतरुपमा एक–एक पटक भूपू सैनिक सम्मेलन गर्दै आएको छ ।

समारोहमा सर्वाेत्कृष्ट र उत्कृष्ट उद्यमीलाई सम्मानका साथै लघुवृत्त सञ्चालन गर्ने बहालवाला तथा भूपू सैनिक परिवारलाई सहुलियत ब्याजमा प्रदान गरिएको कर्जाको चेक हस्तान्तरण गरियो । विगतका सम्मेलन भूपू सैनिक र उनका परिवारले दिएको सुझावका आधारमा सेनाले भूपू सैनिकका परिवारको जीवनस्तर उकास्न शिक्षा, स्वास्थ्य, सीप, स्वरोजगार, सुविधा र सहुलियतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

गत वर्षको फागुनमा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढेसँगै स्थगित सम्मेलन गत माघमा पोखराबाट पुनः शुरु भएको थियो । प्रधानसेनापति थापाले सम्मेलनमा भूपू सैनिकसँग अन्तक्र्रिया गरी कल्याणकारी कार्यक्रमलाई थप प्रभावकारी तुल्याउने सन्दर्भमा राय सुझाव लिनुभयो । सम्मेलनका क्रममा भूपू र उनीहरुका परिवारको स्वास्थ्य उपचारका लागि निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको थियो ।

हाल मुलुकभर भूपू सैनिक र पारिवारिक निवृत्तिभरणमा रहेका एकल महिलासमेतको सङ्ख्या ८५ हजारको हाराहारीमा छन् । प्रधानसेनापति थापाले शारीरिकरुपमा अशक्त (अपाङ्ता भएका) भूपू सैनिक र उनका परिवारलाई ह्वील चियरसमेत प्रदान गर्नुभयो ।

कोभिड–१९ को सङ्क्रमण जोखिम पक्षलाई दृष्टिगत गरी विगतका झैँ यस क्षेत्रका वेशभूषा, रहनसहन झल्कने गीत सङ्गीत र नृत्यसहितका झाँकी मात्र होइन, भूपू सैनिकको जोसिलो परेड नभएका कारण यसपटकको सम्मेलन विगतका तुलनामा पृथक रहन पुग्यो । सैनिक कल्याणकारी बोर्डको समन्वय र सेनाको व्यवस्थापनमा भएको उक्त सम्मेलनलाई सम्बोधन गर्दै प्रधानसेनापति थापाले जीवनको ऊर्जावान् समय राष्ट्र सेवामा व्यतीत गरेका भूपू सैनिकलाई बाँकी जीवन पनि मुलुकको हितका खातिर प्रयोग गर्न सुझाव दिनुभयो ।

सो अवसरमा बलाधिकृतरथी प्रभूराम शर्माले सेनाले भूपू सैनिकको स्वास्थ्य र जीवनस्तरमा सुधार ल्याउने पाटोमा कुनै कसर बाँकी नराख्ने बताउनुभयो । बोर्ड कार्यकारी निर्देशक गौरव तण्डुलले सैनिक कल्याणकारी कार्यक्रमलाई आगामी दिनमा नयाँ सोच र चिन्तनका आधारमा अघि बढाउन हिताधिकारीसँग सुझावको अपेक्षा गर्नुभयो ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घका उपसभापति केशरबहादुर भण्डारी, पूर्वरथी पत्तेबहादुर लिम्बूलगायतले भूपू सैनिक र उनका परिवारका लागि चालिएका हितकारी कार्यक्रमका विविध गतिविधिबारे सम्मेलनमा जानकारी दिनुभयो । शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार आत्म सम्मानको आधार भन्ने मूल नाराका साथ सम्मेलन आयोजना गरिएको थियो ।

प्रधानसेनापतिसँगको अन्तक्रियामा भूपू सैनिकका प्रनितिधिहरुले आफूहरुका सन्तानलाई विद्यालय र सङ्गठन सेवाको भर्नामा सहजता प्रधान गर्न, कल्याणकारी कार्यक्रम विस्तार गर्न, उपचारलाई सजिलो तुल्याउनेलगायतका विषय राख्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here