वातावरणीय संकट

0
1522

कोरोना कहरका बीच सत्तारुढ दल एमालेभित्रको जुंगाको लडाइँले बढाएको राजनीतिक अस्थिरताको त्रास र त्यसले निम्त्याउन सक्ने जोखिम माथि अर्को जोखिम थपिएको छ । वायु प्रदूषणका कारण उत्पन्न जोखिम र मानव अस्तित्वमाथिको अनिश्चयको सन्त्रासका बीच सरकारले बालबालिकालाई लक्षित गरी शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ । यद्यपि वातावरणीय दुष्प्रभाव घरमा आइनपुग्ने होएन तथापि शिक्षण संस्था बन्द गरेर थोरै भए पनि जिम्मेवारीबाट मुक्ति भएको छ । तर, यतिले वातावरणजनीत समस्याले निकास पाउने छैन । बरु विद्यमान कोरोना र एमालेको जीवनमा प्राण सञ्चार गर्नेहरु माथिको कारवाहीले निम्त्याउन सक्ने अस्थिरता, अनिश्चितता र अन्यौलपूर्ण अवस्थामा वायु प्रदूषण झनै ठूलो विपद्का रुपमा उभिने देखिएको छ ।

वातावरण प्रदूषणका कारण मानव स्वास्थ्यमा प्रतिकूल असर गरिरहेको छ । हिजोसम्म स्वस्थ्यकर, प्राकृतिक सौन्दर्यले परिपूर्ण भनिने नेपालमा आज मानवीय गतिविधिकै कारण वातावरणीय संकट बढ्दै गएको छ । खासगरी राजधानी काठमाडौं लगायत देशका शहरी क्षेत्रहरु वायु प्रदूषणको चपेटामा पर्दैछन् । अझ पछिल्लो समय नेपाल विश्वकै सर्वाधिक प्रदूषित देशमा रुपान्तरित हुन पुगेको छ । प्रदूषणको दुष्प्रभावले मानिसलाई साँझ–बिहान घरबाट ननिस्कन वातावरणविद् तथा जनस्वाथ्यविद्हरुले सुझाव दिएका छन् । बढ्दो सवारीसाधन, वनजंगलको विनाश, नदी तथा नदीजन्य सामग्रीको अतिक्रमण तथा दोहन भौतिक विकासको नाममा गरिएका कार्यहरु, कलकारखाना र तिनले उत्सर्जन गर्ने प्रदूषण कुनै क्षेत्रको सीमा वा देशको भूगोलले रोक्न नसक्ने हुँदा यो संकट अझै गहिरिने निश्चित जस्तै छ ।

जनसंख्या वृद्धिसँगै मानव सिर्जित प्रदूषणका कारण वातावरणीय सन्तुलन खलबलिँदै गएको छ । अव्यवस्थित विकास–निर्माण, ढल, फोहर, सवारीले उत्पन्न गर्ने ध्वनि र धुँवाजन्य प्रदूषण, उत्पादनशील क्षेत्रको विनाश जस्ता अव्यवस्थित कारणले असन्तुलित वातावरणले जैविक विविधतामा समेत खलल पुग्न गई उत्पन्न हुनसक्ने दुष्प्रभाव कम गर्न र वातावरणमैत्री क्रियाकलापमा राज्यको गम्भीर चासो र अग्रता देखिनु पर्दछ । विज्ञानको अविष्कारका रुपमा निर्माण गरिएका आणविक भट्टी, शहरीकरण जस्ता वातावरणीय सन्तुलन नष्ट गर्ने विषयलाई व्यवस्थित गरिनु पर्दछ । प्रदूषणले पार्न सक्ने दिर्घकालीन समस्या, मानव स्वास्थ्यमा पर्ने असर र जलवायु परिवर्तनबाट उत्पन्न हुने संकटबाट जोखिन व्यक्ति समेत सचेत हुनुपर्छ । त्यसका लागि स्वास्थ्य एवम् वातावरणविद्हरुका सुझाव र चेतावनीलाई राज्यले गम्भीरतापूर्वक लिनु पर्दछ । धूलो, धुँवा, ध्वनि, जमिन, जल, प्रदूषणले वायु मण्डलमा पार्ने असरप्रति राज्य बढी जिम्मेवार हुनुपर्छ । जुन सरकारका तर्फबाट अझै देखिएको छैन । केवल सत्ता लिप्साको मोहजालमा रहने हो भने मानव सभ्यता र मानव अस्तित्वको रक्षा गर्न सकिने छैन । त्यसैले वातावरण रक्षाका खातिर अघि सर्नैपर्छ सरकारसँगै सबै सू–सुचित र सजग होऔं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here