संस्थागत स्मरणशक्ति र इतिहास लेखनको महत्व

0
1227

इतिहास भनेको ज्ञात घटनाहरूलाई व्यवस्थित ढंगबाट बुनेर यस्तो चित्र उपस्थित गर्ने वास्तविकता उजागर गर्ने अभिलेख हो । इतिहास शब्दको अर्थ हो (परम्परादेखि प्राप्त उपाख्यान समूह (जस्तै कि लोककथा), वीरगाथा) हो अथवा ऐतिहासिक साक्ष्यहरुको प्रकटीकरण इतिहास हो । इतिहास अन्तर्गत हामी जुन विषयको अध्ययन गर्छौं, त्यसमा अहिलेसम्म घटित घटनाहरू अथवा त्योसँग सम्बन्ध राख्ने घटनाहरूको कालक्रमानुसार वर्णन हुन्छ । अर्को शब्दमा भन्दा अहिलेसम्मको उल्लेखित विशिष्ट घटना नै इतिहास हो अथवा प्राचीनतादेखि नवीनतातर्फ आउने मानवजातिसँग सम्बन्धित घटनाहरूको वर्णन नै इतिहास हो । इतिहासको मुख्य आधार युगविशेष र घटनास्थलको ती अवशेषहरू नै हुन्, जुन कुनै न कुनै रूपमा प्राप्त हुन्छन् । जीवनको बहुमुखी व्यापकताकै कारण स्वल्प सामग्रीको आधारमा विगत युग अथवा समाजको चित्र निर्माण गर्नु दुःसाध्य कार्य हो र यसैका कारण इतिहास लेखन दुर्बोध्य मात्र हुँदैन, अक्करिलो पनि हुन्छ ।

सर्वग्राह्य बनाउन सामग्री जति नै धेरै भए पनि त्यही अनुपातबाट बितेको युग तथा समाजको रूपरेखा प्रस्तुत गर्नु कठिन हुँदै जान्छ । पर्याप्त साधनहरू हुँदा पनि भन्न सकिन्न कि कल्पनामिश्रित चित्र निश्चित रूपबाट शुद्ध अथवा सत्य नै होला । इतिहासको सम्पूर्णता असाध्य जस्तै छ, तथापि फेरि पनि यदि हाम्रो अनुभव र ज्ञान प्रचुर बनोस्, ऐतिहासिक सामग्रीको जाँच–पडतालले हाम्रो कला तर्क प्रतिष्ठित होस् तथा कल्पना संयत र विकसित होस् भनी चाहने हो भने इतिहास लेखन त हुनैपर्छ । संस्थागत स्मरणशक्ति मजबुत हुन सकेमा मात्र अतीतको हाम्रो चित्र धेरै मानवीय र प्रमाणिक हुन सक्छ । इतिहासको रचनामा पर्याप्त सामग्री, वैज्ञानिक ढंगबाट त्यसको जाँच, त्यसबाट प्राप्त ज्ञानको महत्त्व बुझ्ने विवेक साथै साथ ऐतिहासक कल्पनाको शक्ति तथा सजीव चित्रणको क्षमताको आवश्यकता छ । राजा महाराजाहरुको स्तुतिगान र चारणगान गरेर भाटगिरी गर्दैमा इतिहास लेखिँदैन । जनताले रगत र पसिनाले सिञ्चित गरेर कुनै पनि समाज र मुलुकको अर्थतन्त्र टिकेको हुन्छ, संस्कृति जनताको हुन्छ, तसर्थ इतिहास लेखनमा जनताको स्थान परिभाषित हुन जरुरी छ ।

बितेका समयका वास्तविक कथालाई इतिहास भन्न सकिन्छ । हाम्रो वर्तमान हाम्रै इतिहासको जगमा बनेको हुन्छ भन्ने वास्तविकतालाई आत्मसात गर्न त्यति सजिलो छैन हाम्रा लागि । वर्तमानका हाम्रा कर्मको प्रतिफल भनेकै हाम्रो भविष्य हो । वास्तवमा इतिहास भनेको आफ्नो देशलाई हेर्ने, पर्गेल्ने, विवेचना गर्ने र चिन्ने आँखा हो । आँखा नभए पछि संसार अँध्यारो हुन्छ । तसर्थ, इतिहास भनेको अँध्यारोबाट उज्यालोतर्फ लाग्न अभिप्रेरित गर्न सर्वाधिक महत्त्वपूर्ण उत्प्रेरक हो । इतिहास बितेका सत्यतथ्य घटनाहरूको यथार्थ विवरण हो । कसरी मानिसको विकास भयो, कसरी त्यसले आफ्ना विचारमा संसारलाई परिवर्तन ग¥यो, कसरी मानिसले प्राकृतिक शक्तिमाथि विजय प्राप्त गर्न सक्यो अनि कसरी कला, संस्कृति, दर्शन, साहित्य, विज्ञान तथा धर्मको उत्पत्ति र विकास हुँदै आजको स्थितिमा आइपुग्यो भन्ने वास्तविक तथ्यलाई यथार्थ रूपमा देखाउने ब्याख्या नै इतिहास हो । त्यसैले इतिहास निरन्तर खोज र अनुसन्धानको विषय हो । त्यसैगरी मानवद्वारा निर्मित संस्थाहरूको उद्गम, विकास र अतीतकालीन भेद र त्यसको स्वरूप आदिमा प्रकाश पार्ने र मानवलाई मानवसँग परिचय गराउने विषय पनि इतिहास हो । यसैले इतिहास सभ्यताको कडी हो किनभने आजको युग बितेको युग र भविष्यको युगसित पनि सम्बन्धित हुन्छ । वास्तवमा कुनै पनि देशको इतिहास थाहा नपाई राष्ट्रियता र सार्वभौमिकताको यथार्थ ज्ञान हुन सक्दैन ।

एक सय चार वर्षे राणा शासनपछि मात्र नेपाल आधुनिक युगमा प्रवेश गरेको मानिन्छ, २००७ को पछि नेपालमा इतिहासलेखनले तीब्रता लिन लागेको थियो । तर, २०१७ को कदमले त्यसलाई रोक्यो र स्वतन्त्र रूपमा देशको इतिहास लेख्ने वातावरण बन्न सकेन, बरु शासकहरूकै गुणगानबाट यसलाई अगाडि बढाइयो । राजा महेन्द्रले शाह परम्परा र एक दलीय पञ्चायती व्यवस्थालाई सहयोग पुग्ने खालका पुस्तकहरू लेखाउने कार्यलाई प्रोत्साहन दिए । २०४६ सालपछिको स्वतन्त्र वातावरणमा पनि जुन किसिमले इतिहास लेखनमा तीब्रता आउनुपर्ने हो त्यो आउन सकेन । त्यसको मुख्य कारण भनेको सरकारी स्तरबाट यसमा चासो नदिनु नै हो । दलगत स्वार्थका कारण इतिहास तोडमरोड गर्ने र आफ्ना हितमा दुरुपयोग गर्ने क्रम बढेर गयो । एक त नेपालको इतिहास राजा–महाराजाहरुको जन्म, शासनभार ग्रहण र मृत्युका इति वृत्तान्तहरुले भरिएका छन् । इतिहास लेखनले जनपक्षीयता हासिल गर्न सकेको छैन, तर इतिहासप्रति आलोचनात्मक दृष्टिकोण हुन जरुरी छ, विश्लेषणात्मक रुपमा इतिहासलाई बुझ्न आवश्यक हुन्छ ।

नेपालमा इतिहासलाई महत्त्व नदिनेहरूकै बोलवाला रहेका कारण इतिहासका सम्बन्धमा हाम्रो अल्पदृष्टि बनेको हो । इतिहास भनेको हाम्रो पहिचान हो । हामीले इतिहास बिर्सेका कारण इतिहासले हामीलाई बिर्सन्छ । त्यसैले इतिहास भनेको नपढी नहुने विषय हो । इतिहास कसैले चाहँदैमा नामेट हुने विषय पनि होइन । कसैलाई मन परे पनि नपरे पनि राणाकाल वा पञ्चायतकाल थिएन भन्न सकिँदैन । कसैले माने पनि, नमाने पनि पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने काम गरेको साँचो हो । धेरै नेपालीमा इतिहासको ज्ञान छैन । ज्ञानको अभावमा आ–आफ्नो स्वार्थका लागि इतिहासको अपब्याख्या भइरहेको छ । इतिहासलाई हामीले आलोचनात्मक ढङ्गले हेर्न जरुरी छ । इतिहास वर्तमानको गौरव हो, जहाँबाट वर्तमान जन्मिन्छ । वर्तमान फेरि इतिहास हुन्छ भविष्यका निम्ति । यसरी हेर्ने हो भने हाम्रो इतिहासलाई राजा–महाराजाहरुका वंशावली पढाउने बढीमा तिनीहरुले जितेका लडाइँका कथाहरु पढाउने वा तिनका रानी र पटरानीहरु बीचमा भएको झगडा पढाउने कुरामा सीमित गरिदियो । यो दुःखदायी पक्ष हो इतिहास लेखन र पठनका क्षेत्रमा ।

इतिहासको अध्ययन गर्ने भनेको आलोचनात्मक चेतसहित हुनुपर्छ । इतिहास कुनै पनि ज्ञान, विज्ञान, साहित्य, शिल्प र शास्त्रहरूको जग हो । इतिहासको धरातलमा नै उभिएर यी सबै विषय हुर्केर, बढेर, फलेर, फुलेर आज यो विश्वलाई र मानव जातिलाई नै सभ्यताको शिखरमा पु¥याउन सफल भएको छ । जबसम्म यो विश्वमा मानव जाति रहन्छ, तबसम्म इतिहासले मानव जातिलाई अझ बढी सभ्य र सु–संस्कृत हुन प्रेरित गरिरहेको हुन्छ । आजको विश्वमा इतिहासको महत्त्व झन्–झन् बढिरहेको छ । विश्वभर सबै विश्वविद्यालयहरूमा इतिहासको पढाइ हुन्छ । कुनै जमाना थियो, इतिहास भन्ना साथ राजा, महाराजा, सम्राट र शासकहरूको जीवनी र गाथालाई मात्र लिइन्थ्यो । तर, आज इतिहास लेखन र पठनको इतिहासले कोल्टो फेरिसकेको छ । आज इतिहास युद्धको वर्णन र आविष्कारहरूको घटनामा मात्र सीमित छैन ।

सरकारी एवम् महत्त्वपूर्ण गैरसरकारी अभिलेखहरूको सुरक्षा, संरक्षण, अभिलेखीकरण, सूचीकरण, सम्पादन आदि इत्यादि गर्नुका साथै यी अभिलेखहरूको अध्ययन–अनुसन्धान गरी राज्यको प्रशासनलाई के–कसरी सहयोग पु¥याई सबल बनाउन सकिन्छ भन्ने मुलुकमा विकास र निर्माणका लागि महत्त्वपूर्ण कुरा हो । अभिलेखहरूको संरक्षण, वर्गीकरण, सम्पादन गर्ने र अन्य विविध समस्याहरूमा अध्ययन–अनुसन्धान गराई अभिलेखहरूबाट फाइदा लिने चलन व्यापकरूपमा बढ्दै आइरहेको छ । तर, दुःखको कुरा छ हाम्रो देशमा निजी संघ–संस्थाहरूको त कुरै छोडौँ, सरकारी कार्यालयहरूले समेत अभिलेखलाई काम नलाग्ने कागजात ठानी अँध्यारो छिँडी कोठाहरूमा फ्याँकिराखेका हुन्छन् । यसरी हाम्रा पुर्खाहरूले धेरै मेहनत र परिश्रम गरी विभिन्न समस्या सुल्झाउन तयार गरेका अभिलेखहरूको जबसम्म महत्त्व र मूल्य बुझ्दैनन् तबसम्म इतिहास पढ्ने र पढाउनेहरूको पनि महत्त्व र मतलब हुँदैन । इतिहासको ज्ञान बिना अघि बढ्न खोजेमा प्रत्येक पाइलामा ठेस लाग्छ र धोखा हुन्छ ।

पुर्खाको गौरवपूर्ण इतिहासको महत्त्व दर्शाउने र सो मार्फत राष्ट्रिय एकताको भावना जागृत गर्ने काम आजको महत्त्वपूर्ण काम हो । संस्थागत सम्झनाशक्तिका लागि व्यवस्थित अभिलेखीकरण र भण्डारण जरुरी छ । आजको युगमा यो काम धेरै सहज छ, विभिन्न वैज्ञानिक विधि र पद्धतिहरु पनि विकास भइसकेका छन् । महत्त्वपूर्ण कुरा भनेको यो गर्ने कसले हो र राज्यको, कार्यालय प्रमुखको, संस्था प्रमुखको दृष्टिकोणको कुरा हो । विगतका महत्त्वपूर्ण व्यक्तित्वहरुले बोलेका कुराहरु, हस्तलिखित दस्तावेज तथा वजनदार अभिव्यक्ति सङ्कलन, स्तरीकरण र भण्डारण गर्ने जाँगर र इच्छाशक्ति राज्यसँग हुन आवश्यक छ । बलेको आगो मात्र ताप्ने र अगाडिको कुरालाई मात्र सम्पूर्ण मान्ने दृष्टिदोषका कारण नेपालका इतिहासका महत्त्वपूर्ण तथ्य उजागर हुन सकेका छैनन्, इतिहासका लुकेका रहस्य र अँध्यारा पानाहरुले उज्यालो घाम देख्न पाएका छैनन् । नेपालको इतिहास अपुरो छ ।

नेपालमा माध्यमिकस्तरदेखि विश्वविद्यालयस्तरसम्म नै इतिहास विषयलाई अनिवार्य विषयका रूपमा राखी यसको आवश्यकता र अपरिहार्यताको बोध गराउनुपर्ने देखिन्छ । अर्कातर्पm इतिहास लेखन तथा अनुसन्धानमा लागेका अनुसन्धानकर्ताहरूलाई उत्साहित गरी अभिमुखीकरण तालिम दिई प्रेरित गर्नुपर्ने देखिन्छ, जसले गर्दा नेपालको प्राचीन सभ्यता, गौरव र वीरताको जानकारी हुन्छ । यसले हरेक नेपालीमा नेपालको वैभव र राष्ट्रियताप्रति गर्व गर्ने परिस्थितिको सृजना हुन्छ र देशको इतिहासप्रति आकर्षण बढ्छ । परिणाममा इतिहास लेखनले प्राथमिकता पाउने वातावरण बन्न सक्छ । हाम्रा नयाँ पुस्तालाई पूर्वजहरुका बहादुरी, कौशल, अनुभव र आविष्कारबाट लाभान्वित हुन जरुरी छ । अतीतका गल्तीहरुले ल्याएका दुष्परिणामबारे नयाँ पुस्ता जानकार छैन ।

हाम्रो राजनीति, कूटनीति, सार्वजनिक प्रशासन, शिक्षा जस्ता क्षेत्रलाई अझ राम्रो, चुस्त र दुरुस्त बनाउन संस्थागत स्मरणक्षमता वृद्धि गर्न आवश्यक छ । ऐतिहासिक महत्त्वका दस्तावेजहरु विस्मृतिको गर्तमा हराउने दुर्भाग्यबाट मुक्त हुन सकेमा मात्र मुलुक र मुलुकवासीका हितकर हुनसक्छ । हरेक सरकारी तथा गैरसरकारी संस्थाहरुमा योजना निर्माण, कार्यान्वयन र मूल्याङ्कन सम्बन्धी निर्णय र अन्य दस्तावेजहरु सुरक्षित गर्न सकेमा मात्र संस्थागत स्मरण क्षमता अभिवृद्धि गर्न सकिन्छ । नेपालका लागि यो अति नै महत्त्वपूर्ण कार्यभार हो । इतिहासका गौरवगाथालाई गर्वका साथ हृदयंगम गर्न सके मात्र रुपान्तरणको महाअभियानमा भित्री हृदयदेखि लाग्न जनसमुदायलाई उत्प्रेरित गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here