झापा गाउँपालिकाका १५२ छात्रालाई निःशुल्क साइकल वितरण

0
651

झापा,

झापा गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत १५२ छात्रालाई निःशुल्क साइकल वितरण गरेको छ। गाउँपालिकाले सोमबार एक कार्यक्रम गरी तीनवटा सामुदायिक विद्यालयका छात्राहरुलाई साइकल वितरण गरेको हो।

भारतीय सीमा नाकासँग जोडिएको गाउँपालिकाभित्र आदिवासी, मुस्लिम, पिछडिएका, विपन्न र अल्पसंख्यक विद्यार्थीहरूको बाहुल्यता रहेको छ। उनीहरू शिक्षाको पहुँचबाट टाढा रहेकाले शिक्षा सुधार कार्यक्रमअनुसार गाउँपालिकाले कक्षा ९ मा अध्ययनरत छात्रालाई साइकल वितरण गरेको हो।

गाउँपालिकाले डिल्लीराज माध्यमिक विद्यालयका ९८, कुवाडीदेवी माध्यमिक विद्यालयका ४२ र महेन्द्र माध्यमिक विद्यालयका १२ जना छात्रालाई साइकल वितरण गरेको गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख जीवन ढकालले जानकारी दिए। गाउँपालिकाभित्र पाँचवटा माविस्तरका विद्यालय रहे पनि पहिलो चरणमा तीनवटा विद्यालयका छात्रालाई साइकल दिएको उनले बताए।

गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले घरबाट विद्यालय टाढा भएका र आर्थिक अवस्था कमज़ोर भएका विद्यार्थीलाई साइकल वितरण गरिएको बताए। यसले विद्यार्थीलाई सहज हुनुका साथै पठनपाठनले पनि निरन्तरता पाउने विश्वास लिएको उनको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here