बिर्तामोड।

झापा बिर्तामोड–४ को कर्णाली बचत तथा ऋण सहकारी संस्थाले कोरोना महामारीका कारण स्वास्थ्य तथा शिक्षामा विशेष ध्यान दिने भएको छ ।
कोरोना महामारी बढ्दै गइरहेकोले संस्थाले सदस्यहरुका लागि स्वास्थ्य र शिक्षामा विशेष ध्यान दिने भएको हो । कोभिड–१९लाई मध्यनजर गर्दै संस्थाको आगामी रणनीति तय गरिने संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठले जानकारी दिए ।
संस्थाले आइतवार बिर्तामोडमा त्रैमासिक समीक्षासहितको पत्रकार सम्मेलन गरेर संस्थाको गतिविधिका वारेमा जानकारी दिएको थियो । संस्थाले समय भन्दा अगावै तोकिएको लक्ष्य पूरा गरेको अध्यक्ष श्रेष्ठले बताए । झापाका १५ बटै स्थानीय तह तथा मोरङ र इलाम जिल्ला गरेर २७ वटा सेवा केन्द्र सञ्चालन गरेको उनले बताए ।
२ सय ३ जना कर्मचारी रहेको संस्थाले नयाँ सेवा केन्द्रमा ३८ जना कर्मचारी थप गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए । ३८ हजार ७ सय ८१ जना शेयर सदस्य रहेको संस्थाको शेयरपुँजी ३४ करोड ७५ लाख ३० हजार ८ सय पुगेको छ ।
संस्थाले चैत मसान्तसम्मा १ अर्व ३६ करोड ४७ लाख ३४ हजार ५ सय ३८ रुपैयाँ बचत गरेको छ भने २ अर्व ७५ करोड ९३ लाख ६२ हजार ५२ रुपैयाँ लगानी गरेको छ । संस्थाले चैत्र मसान्तसम्ममा ८ करोड २३ लाख २३ हजार २ सय ४१ रुपैयाँ नाफा गर्न सफल भएको अध्यक्ष श्रेष्ठले बताए । कोरोना महामारी भएपनि सदस्यलाई संस्थाको सेवाबाट बञ्चित नगराइने अध्यक्ष श्रेष्ठको भनाइ छ ।
संस्थाले स्थापना गरेको उपचार कोषमा आवद्धलाई १० लाख रुपैयाँसम्म उपलब्ध गराउने लक्ष्य राखेको संस्थाका सचिव भूपाल बस्नेतले बताए । उपचारकोषको सदस्य बन्न पहिलो बर्ष ५ हजार र प्रत्येक बर्ष एकहजार रुपैयाँ कोषमा जम्मा गर्नुपर्ने सचिव बस्नेतले जानकारी दिए ।
संस्थाले सदस्यको सुविधाको लागि कर्णाली एप्स् निर्माण गरी मोवाइल वैकिङ सेवा सञ्चालन गरिसकेको संस्थाका कार्यकारी प्रमुख चिदानन्द सुवेदीले जानकारी दिए । कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष ईश्वरीप्रसाद खरेलले गरेका थिए ।































