विनोद पाण्डे,
झापा ।

नेपाल देश पूर्वीय दर्शनको लागि एक अनुसन्धान केन्द्र नै हो । सनातन हिन्दू धर्म र धर्मसँग जोडिएका मौलिक संस्कृति, भाषा, रहनसहन, जीवनशैली अरु देशभन्दा फरक अनि रोचक छ । जातीय रूपबाट हेर्दा नेपालको जनसंख्यालाई चार समूहमा बाँड्न सकिन्छ.।
राष्ट्रिय जनगणना २०६८ मा जम्मा एक सय २५ वटा जातजातिहरु रहेको देखिन्छ । २०५८ को जनगणनामा एक सय तीन जातजातिहरुको पहिचान गरिएकोमा पछिल्लो समयमा यो संख्या बढेको देखिन्छ । नेपालमा नयाँ जातजातिहरु थपिएको नभई पुराना जातजातिहरुले आफूलाई नयाँ जातीय समूहमा राख्न चाहेकोले जातजातिको संख्या बढेको समाजशास्त्रीहरु बताउँछन् । पछिल्लो जनगणनामा क्षेत्रीको जनसंख्या १६.६ प्रतिशत पुगेको थियो । पहाडी क्षेत्रमा ब्राह्मणको जनसंख्या १२.७ प्रतिशत रहेकोमा हाल १२.२ प्रतिशतमा झरेको छ । तेस्रोदेखि दशौं स्थानमा क्रमशः मगर, थारु, तामाङ, नेवार, कामी, यादव, मुसलमान र राई पर्दछन् । विगत ३० वर्षयता यिनै १० जातजातिहरु नै बढी जनसंख्या हुने दश जातजातिको स्थानमा पर्दै आएका छन् । यिनै १० जातजातिहरुले नेपालको कूल जनसंख्याको करिब ६८.७ प्रतिशत हिस्सा ओगटेको छ ।
जनगणनामा उल्लेख भएका जातमा रहेका समुदायहरु मध्ये धेरैले सनातन हिन्दू, पूर्वीय दर्शनप्रति आस्था राख्छन् । शदियौंदेखि चल्दै आएको हिन्दू सभ्यताभित्र अनेकौं कार्र्यहरु रहेका छन् । ती मध्ये वैदिक विधिमा आधारित संस्कृत शिक्षाको माध्यमबाट गरिने कार्य, अनुष्ठान पनि एक हो । त्यही संस्कृत भाषा र शिक्षा, संस्कारलाई संरक्षण गर्दै आएको झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर–१ मा रहेको साधुटार वेदाङ्ग संस्कृत पाठशाला पनि एक हो ।
विक्रम सम्वत् २०३३ साल माघ १ गते स्थानीय केदारनाथ खतिवडाको अगुवाईमा स्थापना भएको साधुटार यतिबेला पूर्वमा एक प्रशिद्ध धार्मिक पर्यटकीय स्थलको रुपमा उदाएको छ । वेदवर्णित शास्त्रीय सिद्धान्तलाई आत्मसात गर्दै पुर्खाहरुले अनुशरण गरेको कर्मथलो बर्षेनि फैलिँदै र बढ्दै गएको छ । पाँच विगाह क्षेत्रफलमा विस्तारित भू–भाग र सो क्षेत्रमा बनेका भौतिक संरचना, वृक्ष लगायत मानव निर्मित र प्रकृतिले दिएको अलौकिक मनोरम पूर्वाधार र दृष्य हेर्दा सबकोहीको मन आनन्दित पार्दछ ।
त्यहाँ पुग्दा धेरैले भन्ने गर्छन्– अहा ! कति सुन्दर अनि पूर्वीयदर्शन जान्न र बुझ्नको लागि उपयुक्त थलो । तर, साधुटारको अवस्था बाहिरबाट हेरेकोभन्दा फरक र कठिन छ । धार्मिक सहयोगीहरुले दिएको मुष्ठिदान र बार्षिक रुपमा आयोजना गरिँदै आएको अनुष्ठानबाट संकलित रकम मुख्य श्रोत रहेको छ । विगतका बर्षहरुमा यसैगरी जेनतेन थेगिँदै आएको श्री शङ्कराचार्य पीठ आजको समयमा आइपुग्दा चल्नै नसक्ने अवस्थामा पुग्न लागेको छ । आवश्यक थप भौतिक विकास, प्रविधि उपकरण जडान, दैनिक पूजापाठ नित्यकर्मादि कार्य, निःशुल्क अध्ययनका लागि विभिन्न जिल्लाबाट आएका सयभन्दा धेरै बटुक विद्यार्थीको भरणपोषण गर्न÷गराउन पीठका लागि चुनौति बनेको छ ।
धर्मप्रति सबैको आस्था रहेको हुन्छ, तर धर्मकर्मलाई संरक्षण गर्ने साधुटार जस्ता पीठहरुको विकास र निरन्तरताका लागि कमैको मात्र ध्यान पुगेको पाइन्छ । एक दशक अगाडिसम्म भक्तजनहरु धार्मिक स्थलमै पुगेर यथाशक्य सहयोग गर्ने संस्कार थियो । आजको दिनसम्म आइपुग्दा सबै धार्मिक स्थलका व्यवस्थापक संरक्षकहरु दाता खोज्दै र सहयोगको अपेक्षा राखेर गाउँ–शहरतिर दौडधुप गर्नुपर्ने भएको छ । समय, आवश्यकता र सकारात्मक सोच अनि चेतनाका कारण मानिस कर्मशील बन्न थालेका छन् ।
धार्मिक, सामाजिक, सुयोग्य व्यक्ति कुनै न कुनै काम, पेशा, इलममा लाग्नुपर्ने बाध्यता अनिवार्य जस्तै भइसकेको छ । जीवनयापनको सिलसिलामा मानिसहरु व्यस्त बनेका छन् । मन्दिर, पीठ आदि स्थलमा कुनै विशेष सन्दर्भ बाहेक मानिस पुग्न छोडिसकेको अवस्था सबैले महशुस गरेकै हुनुपर्छ । यो अवस्थामा धर्मप्रति आस्था नभएर भने होइन, आधुनिक समयले मेसिन झैं बन्नुपर्ने बनाएर हो । तथापि धार्मिक सम्पदा र धरोहरलाई बचाइ राख्नुपर्ने अर्को जिम्मेवारी सबै जातजाति, धर्ममा रहने समुदायहरुकै हो ।
यही परिपे्रक्षमा साधुटारलाई बचाउने, बढाउने कर्तव्यबोध गर्दै होस्टेमा हंैसै गर्ने दायित्व सचेत नागरिक कै हो । एकै व्यक्तिले पटक–पटक एकै ठाउँमा सहयोग गरिरहन पनि सक्दैन । बढ्दो महँगी, दिन प्रतिदिन प्रयोग गर्नुपर्ने बाध्यकारी अवस्थामा मन खोलेर आर्थिक, भौतिक सहयोग गर्न नसकेको धेरैले भन्ने गरेका छन् । तर, पनि हाम्रा सामाजिक अस्तित्वलाई संरक्षण र बचाई राख्नतर्फ सबैले ध्यान दिन जरुरी छ । पहिल्यै गर्नु पथ्र्याे, ढिलै भए पनि साधुटारले शुरु गरेको एउटा अभियानले धेरैलाई धर्म–संस्कृति संरक्षणमा अभिलेख रहने गरी आफ्नो योगदान सुरक्षित गर्ने अवसर जुराइदिएको छ । एकपटकको सहयोग जीवनभरको लागि योगदान रहने गरी पूर्वमा पौराणिक किम्वदन्तीमा आधारित साधुटारले दैनिक एक रुपैयाँ दान सहयोग गर्न आम नागरिकमा आह्वान गरेको छ ।
श्री शंकराचार्यपीठको संरक्षण तथा सम्वद्र्धन गर्न अक्षयकोष स्थापना गरिएको छ । अक्षयकोषलाई न्यूनतम् ११ करोड बनाएर त्यही कोषबाट प्राप्त ब्याजले पीठ सञ्चालन गर्ने योजनाका साथ शुरु भएको अक्षयकोषमा दाताहरुबाट आर्थिक सहयोग गर्ने काम शुरु भएको छ । २०७७ साल फागुन १ गतेबाट शुरु भएको अभियानमा हालसम्म नगद आठ लाख र प्रतिबद्धता भएकोे रकम १५ लाख रहेको शंंकराचार्य पीठका अध्यक्ष लक्ष्मीप्रसाद खतिवडाले जानकारी दिए ।
अक्षयकोषमा कसरी सहभागी बन्न सकिन्छ ?
– अद्यावधिक जीवन सदस्यता : जन्मदेखि दान गर्नेसम्मको दिनलाई दैनिक एक रुपैयाँ जोड्दा हुने रकम सहयोग गर्नुपर्ने हुन्छ ।
– कम्तिमा आज उता ५ बर्षको अग्रिम एकमुष्ट १ हजार ८ सय २५ रुपैयाँ दिएर ।
– न्यूनतम् १ बर्षको ३ सय ६५ रुपैयाँ उपलब्ध गराएर कोषको सदस्य बन्न सकिने बताइएको छ ।
बृहत् महत्व र अर्थपूर्ण रहेको अभियानको बारेमा थप जानकारी लिन चाहनेहरुले ९८५२६७७७२२ नम्बरमा सम्पर्क गर्न धाम पीठ समितिले अनुरोध पनि गरेको छ ।































