पार्थ मण्डल,
झापा ।

झापा जिल्ला स्तरीय कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)ले जिल्लाका सबै शैक्षिक संस्था वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।
साथै बैठकले जिल्लाका १५ वटै स्थानीय तहहरूले कम्तीमा १०० बेड क्षमताको क्वारेन्टाइन र ५० बेड क्षमता भएको अक्सिजनसहितको आइसोलेसन वार्ड निर्माण गर्ने निर्णय समेत गरेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए । दोस्रो लहरको कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिसकेको भन्दै जिल्लामा त्यसको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय झापामा सोमबार बसेको डिसीसीएमसीको बैठकले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताए ।
बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै यसअघि सरकारले जिल्लाका शहरी क्षेत्र (बिर्तामोड, मेचीनगर र दमक) का सबै शैक्षिक संस्था बन्द गराएका थिए । अन्य पालिकाहरूमा खुला भएको शैक्षिक संस्था भोलिदेखि बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताए ।
डिसीसीएमसीको बैठकले जिल्लाका सबै विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र २०७८ वैशाख मसान्तसम्म भौतिक रुपमा उपस्थित नभई भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइ विधिहरू अपनाई शैक्षिक गतिविधि सञ्चालन गर्ने र सोको अनुगमन सम्बन्धित स्थानीय तहका शिक्षा, खेलकुद तथा युवा शाखा र शिक्षा विकास तथा समन्वय इकाईले गर्ने, कोभिड–१९को संक्रमण फैलन नदिन र त्यसको न्यूनीकरणको लागि तोकिएको मापदण्डहरू पालना गरे÷नगरेको अनुगमन गर्न र भविष्यमा चाल्नुपर्ने सम्भावित कदमहरूको बारेमा सुझावसहितको प्रतिवेदन पेश गर्न सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर साहीको संयोजकत्वमा सात सदस्यीय अनुगमन समिति गठन गरेको छ ।
त्यस्तै संक्रमण फैलन नदिन र त्यसको नियन्त्रणको लागि तोकिएको मापदण्डहरू पालना गरे नगरेको सम्बन्धमा अनुगमन गर्न पालिकास्तरमा प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा चार सदस्य अनुगमन समिति गठन गरेको छ । सार्वजनिक यातायातमा तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरे/नगरेको अनुगमन गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ ।
त्यसैगरी काँकरभिट्टा नाकाबाट प्रवेश गर्ने यात्रुहरूको लागि मेचीनगरमा एक हजार क्षमता भएको होल्डिङ्ग सेन्टरको स्तरोन्नति र भद्रपुरस्थित कलवलगुरी प्रदेश प्रशिक्षण केन्द्रमा पाँच सय क्षमताको होल्डिङ्ग सेन्टर निर्माण गर्न आवश्यक स्रोतसाधनको व्यवस्थापनको लागि प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय समक्ष अनुरोध गर्ने, त्यसमा खटिने सुरक्षाकर्मीहरूको स्वास्थ्य सुरक्षाको सामग्रीहरू सम्बन्धित पालिकाले व्यवस्थापन गर्ने, स्थानीय तहको अगुवाइ तथा सुरक्षा निकायको सहयोगमा कोभिड–१९ सम्बन्धी चेतनामूलक कार्यक्रम (प्रचारप्रसार, पम्पेल्ट, माइकिङ) सञ्चालन गर्ने र यस कार्यका लागि सञ्चारमाध्यम लगायत अन्य संघ–संस्थाहरुले समेत आवश्यक सहयोग गर्ने, सीमा नाकामा थप कडाइ गर्ने र सशस्त्र प्रहरी र नेपाल प्रहरीको जनशक्ति थप गर्न गृहमन्त्रालय र प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालय समक्ष अपिल गर्ने, अत्यावश्यक काम नपरी नेपाल भारत आवातजावत नगर्न आम सर्वसाधारणलाई अपिल गर्ने बैठकले निर्णय गरेको छ ।
त्यसैगरी कोनोराबाट ज्यान गुमाएका व्यक्तिहरुको शव व्यवस्थापन नेपाली सेनाले गर्ने र त्यसको लागि आवश्यक स्वास्थ्य सुरक्षाका उपाय र शव वाहन तथा एम्बुलेन्सको व्यवस्था सम्बन्धित स्थानीय तहले गर्ने, कोरोना संक्रमण भएका बिरामीहरूलाई जिल्लाको अस्पताल तथा जिल्ला बाहिरका अस्पताल पठाउनु पर्ने अवस्थामा जिल्लामा सञ्चालित एम्बुलेन्सहरूलाई स्थानीय तहहरूसँग समेत समन्वय गरी आवश्यक व्यवस्था मिलाउने साथै प्रहरी कार्यालय झापामा एउटा, इलाका प्रहरी कार्यालय बिर्तामोडमा एउटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने व्यवस्था स्वास्थ्य कार्यालय झापाले मिलाउने, सबै क्रियाशील राजनीतिक दलहरूलाई आमसभा लगायतका भीडभाडयुक्त कार्यक्रमहरू नगर्न अनुरोध गर्ने समेत बैठकले निर्णय गरेको छ ।
त्यस्तै सार्वजनिक सेवा प्रवाहमा भीडभाड हुने कार्यालयहरूमा आलोपालो मिलाएर स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सेवा प्रदान गर्ने, सीमा नाकाहरूमा आवातजावत नियन्त्रण गर्नका लागि सशस्त्र प्रहरीको पोस्ट स्थापनाका लागि आवश्यक सामग्रीहरूको सहयोगका लागि स्थानीय तहहरूसँग अनुरोध गर्ने र कोरोनाका गम्भीर बिरामीहरूको हकमा अन्य जिल्ला कोभिड अस्पतालहरूमा थप उपचारका लागि पठाउँदा स्वास्थ्य कार्यालय झापामार्फत आवश्यक समन्वय गरी पठाउने निर्णय गरिएको प्रजिअ तिमिल्सिनाले जानकारी दिए ।































