कालो वजारी रोक

0
1190

कोरोना पीडितको जीवन रक्षाको चित्कार सुनिन थालेको छ । संघीय राजधानी जस्तो पूर्वाधार सम्पन्न ठाउँमा समेत स्वास्थ्य सामग्रीको हाहाकार हुनुले अन्तको चित्र कस्तो होला सहजै अनुमान गर्न सकिन्छ ।
जीवन रक्षाको प्रत्याभूति गर्नुपर्ने सरकारले जनतालाई आश्वस्त पार्न पनि सकेको छैन । कतै अस्पताल पुग्ने साधन नपाएर त कतै बेड नभएर प्राथमिक स्वास्थ्य सेवाबाट समेत बञ्चित भइरहनु परेको अबस्थामा पहुँचमा पुगेकाहरूले समेत उपचार नपाउने अबस्था आउनु हाम्रो दूर्दिनको सङ्केत हुनसक्छ । एक त कोरोना अहिलेसम्म औषधिबिहीन आतङ्क रहेको छ अर्कातिर केही व्यवसायीले यसलाई मौका बनाउन थालेको समाचार सार्वजनिक भएका छन् ।

संघीय राजधानी काठमाडौंमा जिल्ला प्रशासन, महानगरीय अपराध महाशाखा, औषधि व्यवस्था बिभाग र वाणिज्य बिभागको संयुक्त टोलीले कालोबजारीमा संलग्न केही व्यक्तिलाई पक्राउ गरेको छ। उनीहरूले महामारीलाई पैसा कमाउने मौकाका रूपमा लिएर स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको बताइएको छ । बजारमा अत्यावश्यकीय वस्तु र सेवामा कालोबजारी भइरहेको जनगुनासो बढेपछि गरिएको अनुगमनका क्रममा अक्सिजन नाप्ने अक्सिमिटर मूल्यभन्दा झण्डै सात गुना बढी लिएर बिक्री गरेको पाइएपछि उनीहरू कारबाहीमा परेका छन् ।

उत्पादन लेबल नभएको, गुणस्तरहीन, निर्माण कम्पनीको नाम र बिलबिजक नभएका अक्सिमिटर बेच्ने सात जनालाई कानूनी कारबाही अघि बढाइएको प्रशासनले जनाएको छ । महामारीले जनजीवनलाई आक्रान्त पारेका बेला आपराधिक मनोवृत्ति भएकाहरूले लाभ लिने प्रयत्न गर्ने गरेका छन् । अहिले अत्यावश्यक वस्तुको कृत्रिम अभाव सृजना गर्ने, बढी मूल्य लिएर बिक्री गर्ने, कालोबजारी गर्नेलगायतका जनगुनासो बढेको छ। त्यही गुनासोका आधारमा नियमक निकायले पनि बजारमा अनुगमन गर्न शुरू गरेको हो । यस्तै अक्सिजनको अभावमा बिरामीको मृत्यु हुन थालेको छ भने हवाई लिफ्ट गर्ने हेलिकोप्टरहरूले पनि बढी भाडा असुल्न थालेको गुनासो सुनिन थालेको छ। यो समस्या राजधानीको मात्रै होइन अत्यावश्यकीय सेवाका सबै क्षेत्र र ठाउँबाट यस्ता गुनासा आएका छन्। बिरामीले एम्बुलेन्स नपाएर ज्यान गुमाएको घटना सार्वजनिक भइसकेको छ भने पाउनेहरूले तीन गुणा बढी भाडा तिर्नु परेको उदाहरण पनि छन् ।

अक्सिमिटरमा कालाबजारी गर्ने हुन् वा कृत्रिम अभाव देखाएर मूल्यवृद्धि गर्ने अथवा न्यून गुणस्तरीय स्वास्थ्य सामग्री बिक्री गर्ने हुन् सबैलाई कानूनको दायरामा ल्याउनुपर्छ। आपत–विपतमा हातेमालो गरेर सहयोगी बन्ने मानव धर्मलाई पुनर्जागृत गर्ने चेतना जगाउनुपर्छ । सम्पूर्ण प्राणीलाई ईश्वरको रूप ठान्ने मानवीय स्वभाव र त्यसकै आधारमा घोषित सर्वश्रेष्ठ प्राणीको विशिष्टता कलंकित हुनु हुँदैन । मानवता, मानवीय संवेदना र मानवीय गुणको रक्षा गर्दै यस्तो असीम दुःखको समयमा एक–अर्कालाई सकेको सहयोग गरौं ।

पेशा, कर्म र आ–आफ्नो क्षेत्रबाट महाविपद्को घडीमा नैतिक कर्तव्य सम्झेर सहयात्रा गरौं । यदि कतै मानवीय धर्मविपरीत गतिविधि भए नियामक निकायले कठोरतापूर्वक कारबाही गरोस् । विपद्लाई आर्थिक लाभको अवसर बनाउन खोज्ने, कालोबजारी गर्नेहरू दण्डित होऊन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here