बिर्तामोड, जेठ ७ । महिला तथा बालबालिका कार्यालय झापाद्वारा प्रबद्र्धित जिल्लाका महिला सहकारी संस्थाले अन्य सहकारी संस्थाको तुलनामा उल्लेख्य प्रगति हासिल गरेको पाइएको छ ।
कार्यालयद्वारा स्वीकृत बार्षिक कार्यक्रम अनुसार महिला सहकारी संस्थाको मूल प्रवाहीकरण समन्वय समिति र विशेष समितिका सदस्यहरुबाट भएको संयुक्त अनुगमनका क्रममा महिला सहकारीका कार्यक्रम उत्कृष्ट र प्रभावकारी भएको पाइएको हो ।
दुई वटै समितिले जिल्लाका विभिन्न गाविसमा रहेका महिला सहकारीको आज बुधवार अनुगमनका क्रममा त्यस्तो पाइएको जनाएको छ । टोलीले शनिश्चरे–१को लालीगुराँस महिला कृषि सहकारी संस्था, अर्जुनधारा–४को महिला चेतना बहुउद्देश्यीय सहकारी संस्था र चारपानेको विवेकशील महिला सहकारी संस्थाको स्थलगत अवलोकन तथा अनुगमन गरेको समितिकी संयोजक झापाकी प्रमुख महिला विकास अधिकृत तारा अधिकारी थापाले जानकारी दिनुभयो ।
समितिका सदस्यहरु जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सागर मिश्र, सहायक जिल्ला शिक्षा अधिकारी उद्धव विष्ट, डिभिजन सहकारी कार्यालयका प्रमुख नेत्रप्रसाद घिमिरे, कृषि विकास बैक भद्रपुरका प्रबन्धक प्रकाश दाहाल, पशु सेवा कार्यालयका बरिष्ठ चिकित्सक डा. मोहनदेव लेखक, जनस्वास्थ्य अधिकृत महेन्द्र चौधरी, पत्रकार महासंघ झापाका सचिव एकराज गिरी, कृषि विकास कार्यालयकी बागबानी विकास अधिकृत कामना अधिकारी भट्टराई, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका टंकप्रसाद प्रसाईंसहितको टोलीले स्थलगत अनुगमन तथा अवलोकनका क्रममा राम्रा कामको प्रशंसा गर्दै अझ राम्रो गर्नका लागि विभिन्न सुझाव दिनुभएको थियो ।
महिला तथा बालबालिका कार्यालयको अगुवाइमा गाउँ–गाउँका महिलाहरुलाई संगठित गरी सशक्तीकरणसँगै बचत र आय–आर्जनका माध्यमबाट गरिबी निवारणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको अनुगमनका क्रममा समितिका सदस्यहरुले बताए ।
झापामा महिला तथा बालबालिका कार्यालयद्वारा प्रबद्र्धिन २४ वटा सहकारी क्रियाशील रहेको र तीन वटा थपिने क्रममा रहेको बताइएको छ ।