जंगली हात्तीको बथानद्वारा क्षति

0
732

उमानाथ भण्डारी,
कमल।

जंगली हात्तीको बथानले स्थानीयको घर भत्काएर घरमा भएको अन्नपात खानुका साथै बालीनालीमा समेत क्षति पु¥याएको छ ।

हात्तीले कमल गाउँपालिका, शिवसतासी तथा दमक नगरपालिकाका बिभिन्न स्थानमा हात्तीको बथानले घर भत्काउनुका साथै बालीनालीमा क्षति गर्दै आएको छ । बिहीबार राती १२ तिर कमल गाउँपालिका–४ स्थित अमलडाँगीमा तीन वटा जंगली हात्तीले रघुनाथ पौडेलको घरमा मुनी रहेको धान मिलको पर्खाल भत्काएको छ । पर्खाल भत्काएर मिलमा कुट्न ल्याइएको १५ मन धान खाएको पौडेलले जानकारी दिए ।

त्यस्तै हात्तीको समूहले आसपासमा रहेको राम पौडेलको १० कठ्ठा जग्गामा रोपिएको धान खाएर नष्ट गरिदिएको छ भने लक्ष्मीप्रसाद पौडेलको घरको बरण्डामा लगाएको ग्रिलमा क्षति पु¥याएको छ । हात्ती गाउँमा पसेको थाहा पाएपछि स्थानीय बासिन्दाले टायर बाल्ने, सिटी फुक्ने र बिभिन्न आवाज बजाएर धपाउने प्रयास गरेका थिए । यसरी हात्ती नभागेपछि सोही गाउँपालिकाको केर्खास्थित प्रहरी चौकीबाट गएको प्रहरी टोलीले साइरन बजाएर धपाउन प्रयास गरेको थियो ।

प्रहरीको यो प्रयासले पनि हात्तीले नटेरेको चौकीका इञ्चार्ज असई राजेश श्रेष्ठले बताए । हात्ती आएको थाहा पाएपछि सयौँको सख्यामा आएका स्थानीयले हात्ती धपाउन टायर बाल्नुका साथै, भाडाकुडा तथा आवाज आउने वस्तु बजाउँदा समेत हात्ती नभागेको स्थानीय लक्ष्मी पौडेल बताउँछन् ।

धनको क्षति भए पनि जनको क्षति हुन दिइएन । यसरी गाउँमा पसेका हात्तीको बथानले क्षति गर्ने होकी भन्ने स्थानीय बासिन्दामा त्रास फैलिएको छ । हात्तीको माउसहित दुईवटा छावा रहेकाले बढी क्षति गरेको छ । स्थानीयले हात्तीलाई मानिसले लामो समयदेखि धपाउन एउटै वस्तुको प्रयोग गरेका कारण टेर्न छोडेको हुनसक्ने अनुमान छ ।

त्यसैगरी हात्तीले साउन ८ गते शुत्रबार राति कमल गाउँपालिका वडा नम्वर ३ सानोकेर्खास्थित टीकाराम भण्डारीको घरमा राखेको छ मन धान हात्तीले खाएको भण्डारीले बताए । त्यस्तै बुधबार शिवसतासी नगरपालिका–११ स्थित फोकल्याण्ड टापु क्षेत्र आसपासमा समेत हात्तीले ११ घरमा क्षति पु¥याएको स्थानीयले बताएका छन् ।

दैनिक रुपमा जंगली हात्तीको बथान यसरी गाउँ पसेर स्थानीयलाई पटक–पटक दुःख दिँदै आएको छ । तर, यस विषयमा स्थानीय तहबाट हात्ती नियन्त्रण गर्नका लागि कुनै भरपर्दो सहयोग नपाएको स्थानीयको गुनासो छ ।

कमल गाउँपालिकाको वडा नम्वर ३, ४ र ५ मा बर्षेनि जंगली हात्तीका कारण धनजनको क्षति हुँदै आए पनि अहिलेसम्म स्थानीय तहबाट समस्या समाधानका निमित्त कुनै भरपर्दो पहल नभएको स्थानीय टिकाराम भण्डारी बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here