पेरुमा चुनौतिको पहाडमाथि माक्र्सवादी झण्डा

१८ श्रावण २०७८, सोमबार मा प्रकाशित

तीर्थराज खरेल,

दक्षिण अमेरिकी महादेशको विद्रोह र प्रतिविद्रोहको केन्द्रबिन्दु रहेको पेरुमा भर्खरै सम्पन्न निर्वाचनबाट किसान पृष्ठभूमिका प्राथमिक विद्यालयका शिक्षक पेद्रो कास्टियो राष्ट्रपति बनेका छन् । उनी सरल जीवन र गाउँले पृष्ठभूमिबाट पेरुको सर्वोच्च कार्यकारी पद राष्ट्रपतिमा निर्वाचित हुने प्रथम व्यक्ति हुन् । लामो र तनावपूर्ण निर्वाचन प्रक्रियापश्चात् कास्टियोले पेरुको राष्ट्रपतिका रूपमा शपथ लिएका छन् । उनको विजयले राजनीतिकरूपमा गहिरोसँग विभाजित र महामारीले नराम्ररी प्रभावित पेरुका राजनीतिक तथा व्यापारिक उच्च वर्गलाई टाउको दुखाएको छ ।
पेरुको एकदमै गरीब इलाकाको एउटा सानो गाउँमा जन्मिएका पेद्रोले खेतीपातीमा आफ्ना निरक्षर मातापितालाई सघाउँदै हुर्किएका थिए । बाल्यकालमा उनी विद्यालय जानका लागि दुई घण्टाभन्दा बढी हिँड्नुपथ्र्याे । अन्ततः उनी एउटा विद्यालयका शिक्षक बने र पच्चिस वर्ष काम गरे । पछि उनी शिक्षक युनियनको नेता बने । नेतृत्वमा छलाङ्मय विकासका साथ राष्ट्रपति कार्यालयको कुनै अनुभव बिनै उनी राष्ट्रपतिमा चुनिएपछि विपन्न र गाउँले मतदाताको आशाको केन्द्र बनेका छन् ।

वास्तवमा उनको विजय ग्रामीण क्षेत्रका मतदाताको अनुमोदनबाटै सम्भव भएको पनि हो । फ्रि पेरु पार्टीको प्रतिनिधित्व गर्दै उनी माक्र्सवादी झण्डा पेरुको पहाडमा गाड्न सफल भएका छन् । नौ जना सन्तानमध्ये तेस्रो सन्तानका रूपमा कास्टियो सन् १९६९ अक्टोबर १९ मा पुना क्षेत्रमा जन्मिएका थिए । उनले प्राथमिक विद्यालयको शिक्षकका रूपमा सन् १९९५ देखि २०२० सम्म काम गरेका छन् । कास्टियोले सन् २००२ देखि आफ्नो राजनीतिक यात्रा शुरु गरेका हुन् ।

उनले पूर्व राष्ट्रपति अल्बेर्टो फुजिमोरीकी छोरी तथा व्यापारिक समुदायमा लोकप्रिय केइको फुजिमोरीलाई हराएर राष्ट्रपति चयन हुनु चानचुने कुरा होइन । उनी निकटतम प्रतिद्वन्दीभन्दा ४४ हजार बढी मतले मात्र विजयी भएका हुन् । मतगणनाका लागि हप्तौँ लागेको थियो र फुजिमोरी समूहबाट अधिकारीहरूले कैयौँ चुनौतिको सामना गर्नुपरेको थियो । राष्ट्रपति कास्टियोले पेरुको समुदायका सबै क्षेत्र मिलेर एउटा समावेशी, एउटा निष्पक्ष र एउटा स्वतन्त्र पेरु बनाउने बेला आएको बताएका थिए । उनी भ्रष्ट्राचारका कैयौँ विवाद र हल्लाहरूबाट आजित भएका पेरुवासीलाई आफ्नो पक्षमा ल्याउने गरी आह्वान गर्न सफल भएका छन् । कास्टियोका विरोधीहरूले उनलाई कम्युनिस्ट गुरिल्ला समूहसँग मिलेमतो रहेका वामपन्थी अतिवादीका रूपमा देखाउने कोशिस गरेका थिए । कास्टियोले आफ्ना भाषणहरूमा नियन्त्रण त राखे तर उनका आलोचकहरू उनका केही योजनाले ल्याटिन अमेरिकाको सबैभन्दा स्थिर देशमा उथलपुथल हुनसक्ने बारे चिन्तित छन् ।

यसअघि पेरुका राष्ट्रपति मार्टिन भिज्कारालाई महाभियोग लगाइएर पदबाट हटाइएको थियो । त्यसपछि राष्ट्रपति बनेका म्यानुअल मारिनोले राष्ट्रपतिको शपथ लिएको पाँच दिनमा नै पदबाट राजीनामा दिएका थिए । भिज्कारालाई पदबाट हटाइएसँगै पेरुमा आन्दोलन चर्किएको थियो । पेरुको राष्ट्रिय निर्वाचन बोर्डका अनुसार खसेको सबै मतको गणना सकिसक्दा नेता कास्टिल्लोले ८८ लाख चार सय ८६ मत अर्थात् ५०.१९ प्रतिशत प्राप्त गरेका छन् भने पपुलर फोर्स पार्टीकी दक्षिणपन्थी उम्मेदवार केइको फुजीमोरीले ८७ लाख ३० हजार सात सय १२ मत अर्थात् ४९.८० प्रतिशत मत प्राप्त गरेकी थिइन् । अप्रिल ११, २०२१ का दिन भएको पहिलो चरण र जून ६ का दिन दोस्रो चरणको मतदान भएको थियो ।

ल्याटिन अमेरिकामा वामपन्थी र प्रगतिशील सरकार आएको देख्नै नचाहने र जसरी भए पनि नवउदारवादी शासकहरूलाई शासनमा ल्याएर आफ्नो स्वार्थ पूरा गर्न उद्यत अमेरिकी सरकार र त्यसका दक्षिण अमेरिकी पिछलग्गु सरकारहरू भने आफ्ना राजदूतहरूको सक्रियता मार्फत विवाद सिर्जना गराउन भित्रभित्रै लागिरहेका छन् । जापान र पेरु दुबै देशको नागरिकता रहेका अल्बेर्टो फुजीमोरी सन् १९९० मा निर्वाचन जितेरै पेरुको राष्ट्रपति बनेका थिए । आफ्नो शासनकालमा नवउदारवादी आर्थिक नीति कार्यान्वयन र क्रुर जनदमनका लागि फुजीमोरीले कुख्याती कमाएका थिए । तानाशाही चलाएको, घुस लिई तथा भ्रष्टाचार गरी अकुत सम्पत्ति जोडेको र राष्ट्रिय ढुकुटीबाट डेढ करोड अमेरिकी डलर चोरेको अभियोग लागेपछि अबलेर्टो फुजिमोरी सन् २००० मा भागेर जापान गई त्यहीँबाट राजीनामा गरेका थिए ।

२००६ मा चिलीको भ्रमणमा जाँदा इन्टरपोलले फौजदारी र मानवताविरोधी अपराधको अभियोगको आधारमा फुजीमोरीलाई पक्राउ गरी पेरुलाई सुपुर्द गरेको थियो । बाबु फुजीमोरी आफ्नो शासनकालमा गरेको अपराधका लागि जेल सजाय काटिरहेका छन् भने छोरी केइको फुजीमोरी र छोरा केन्जी फुजीमोरी पेरुको राजनीतिमा अझै सक्रिय छन् । बाबु फुजीमोरीले आफूले राष्ट्रपति पद र देश छोड्नुभन्दा अघि नै आफ्नो उत्तराधिकारीको रूपमा संयुक्त राज्य अमेरिकाको स्टोनी बु्रक र कोलम्बिया विश्वविद्यालयमा पढेकी छोरी केइकोलाई आफ्नो गुटको नेतृत्व सुम्पिसकेका थिए ।

केइकोले २००१ देखि नै फुजीमोरीवादी पार्टीको नेतृत्व गरिरहेकी छिन् । तिनले आफ्नो बाबुमाथि लागेका आरोप, भइरहेको अनुसन्धान र कानूनी सजाय राजनीतिक आरोप मात्र भएको दाबी गर्दै बाबुको समर्थनमा बरोबर ¥यालीहरू समेत आयोजना गरिरहेकी छिन् । पेरुमा पनि वापमन्थी र नवउदारवाद विरोधी आन्दोलन उठेपछि त्यहाँका अतिदक्षिणपन्थी तथा दक्षिणपन्थी राजनीतिक दलहरू भ्रष्ट फुजीमोरीका उत्तराधिकारीलाई नै भए पनि सत्तामा पु¥याउन एकजुट भएका थिए, तर यस पटकलाई त्यो चाहना पुरा हुन सकेन ।

लामो समयसम्म पेरुको ग्रामीण पहाडी भेगमा प्राथमिक र माध्यमिक विद्यालयको शिक्षक रहेका, वामपन्थी अराजकतावादको विरोध गर्दै किसानहरूको प्रतिरोध मोर्चाहरूको नेतृत्व गरेका, प्रगतिशील आन्दोलनसित निरन्तर जोडिएका शिक्षक नेता हुँदै वामपन्थी फ्री पेरु पार्टीका संस्थापक नेता बन्न पुगेका समाजसेवी जोस पेड्रो कास्टिल्लोबाट जनताका अपेक्षा धेरै छन् । पेड्रो कास्टिल्लो सन् २०१७ मा भएको देशव्यापी तथा शिक्षामा बजेट कटौतीविरुद्धको लामो शिक्षक आन्दोलनबाट राष्ट्रिय राजनीतिमा चर्चित व्यक्तित्व बनेका थिए । तर, उनी १९९० को दशकमै दुर्गम काजामार्का प्रान्तको ताकाबाम्बामा माओवादी साइनिङ पाथ वामपन्थी अराजकतावादीहरूविरुद्ध स्वेच्छिक किसान मार्चको नेतृत्व गरेदेखि नै चर्चित थिए ।

पेरुको सेजार भाल्लेजो विश्वविद्यालयबाट शिक्षाशास्त्रमा स्नातक र शिक्षा मनोविज्ञानमा स्नातकोत्तर गरेका कास्टिल्लोलाई वामपन्थी विचारधाराका नेताका रूपमा लिइन्छ । त्यस्तै किसान र मजदुर जस्ता कामदार वर्गका जनताको हितमा राष्ट्रिय नीतिहरू संशोधन हुने, न्यूनतम् ज्यालामा उल्लेख्य वृद्धि हुने, बढ्दो आर्थिक असमानता कम गर्ने, सामाजिक सुरक्षाको क्षेत्रमा बजेट वृद्धि हुने अपेक्षा पनि गरिएको बताइन्छ । राष्ट्रपति काष्टियोलाई जनअपेक्षा अनुरुपको काम गर्न सहज छैन । नवउदारवादी र दक्षिणपन्थीको बहुमत भएको संसदबाट आवश्यक कानून पारित गर्न र निर्वाचन ¥यालीमा वाचा गरिए झैं संविधान संशोधन गर्न सजिलो हुने छैन ।

नेपालका कम्युनिष्टहरुले उनको सरलता, किसानसँगको सहकार्य र आफूले शिक्षक हुँदा पाएको तलबभन्दा बढी सेवासुविधा नलिने प्रतिबद्धताबाट धेरै सिक्न सक्छन् । वास्तवमा नेपालमा कम्युनिष्टहरु आफ्नो कर्तव्यबाट च्युत हुनका पछाडि उनीहरु श्रमबाट अलग भएर हो, माटोबाट अलग भएर हो, जनताका दैनिक समस्याबाट टाढा भएर हो । जनतासँग घुलमिल हुने, जनतालाई दुःख नदिने र जनताकै बीचमा बसेर उनीहरुको नेतृत्व गर्ने हो भने मात्र कम्युनिष्टहरु फेरि पनि मुलुकको नेतृत्व गर्ने स्थानमा पुग्न सक्छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here